+
+

रेशमको राजनीतिमा सर्वोच्चको अन्तिम झट्का

मुद्दा फिर्ता लिन लगाएर जेलबाट छुट्ने र सक्रिय राजनीतिमा आउने रेशम चौधरीको उत्कट चाहना थियो, तर सर्वोच्च अदालतको फैसलाले त्यसलाई ब्रेक लगाएको छ । अब कैद सजाय माफीका लागि निवेदन दिन समेत उनले २ वर्षभन्दा बढी कुर्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते २१:१९

२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीको जन्मकैद सदर गरेको छ । उच्च अदालत, दिपालयको फैसलाविरुद्ध रेशमले दिएको पुनरावेदनको निवेदनमा सर्वोच्चले यस्तो बेला फैसला सुनाएको छ, जतिबेला सरकारले रेशमको पनि मुद्दा फिर्ता हुनसक्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ ।

२६ वैशाखमा संसद सचिवालयमा दर्ता भएको विधेयकमा राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकाको दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन त्यस्ता राजनीतिक दल वा समूहका नेता कार्यकर्ताको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनसक्ने व्यवस्था छ ।

१८ जेठ २०७८ मा सरकारले थारु कल्याणकारी सभासँग गरेको सहमतिमा पनि रेशम चौधरी लगायतको मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने उल्लेख थियो । कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार यही सहमतिलाई भेटेर रेशम चौधरी लगायतको पनि मुद्दा फिर्ता लिने गरी विधेयक ल्याइएको थियो ।

मुद्दा फिर्ता गराएर जेलबाट छुट्ने र सक्रिय राजनीति गर्ने उनको उत्कट चाहना थियो । तर, सर्वोच्च अदालतको मंगलबारको फैसलाले रेशमको मुद्दा फिर्ताको बाटो बन्द गरिदिएको छ ।

सफाइको माग गर्दै रेशमले १२ फागुन २०७५ मा दिएको पुनरावेदनको निवेदन लामो समयदेखि सर्वोच्चमा विचाराधीन थियो । कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा परेको यो मुद्दा यही २५ वैशाखमा न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेपछि भने गति लियो । त्यसदिन र १ जेठमा हेर्दा हेर्दैमा परेको मुद्दामा बुधबार भने फैसला आयो ।

सर्वोच्चले जन्मकैदको सजाय भोगिरहेका विद्रोह भन्ने सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको छ । दुबैलाई जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद र ज्यानमार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो भने उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, सर्वोच्चको संयुक्त इजलासले यो फैसला नमिलेको ठहर गर्दै दुवैलाई सफाइ दिएको छ ।

लक्ष्मण थारु चौधरीको पनि जन्मकैद उल्टिएको छ । जिल्ला अदालतले ३ वर्ष कैद सजाय सुनाएका उनलाई उच्च अदालतले जन्मकैदकै सजाय तोकेको थियो । त्यसयता फरार रहेका उनले वारेसमार्फत ४ मंसिरको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका थिए । तर जन्मकैदको सजाय पाएका उनी उम्मेदवार हुन योग्य नभएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

सर्वोच्चले उनको हकमा उच्च अदालतको फैसला नमिलेको ठहर गरेको छ र, ३ वर्ष कैद सजाय गर्ने कैलाली जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्लाले तोकेको सजाय काटिसकेका कारण अब उनी यो मुद्दामा जेल बस्नुपर्ने छैन ।

सर्वोच्चले रेशमसहित हरिनारायण चौधरी, श्रवण चौधरी र राजकुमार कठरियाको हकमा भने जैन्मकैदको सजायलाई नै सदर गरेको छ । ‘अन्य प्रतिवादीहरुको हकमा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन’, मंगलबार भएको फैसलाको संक्षिप्त आदेशमा भनिएको छ ।

रेशमको पक्षमा बहस गरेका कानुन व्यवसायी दीपेन्द्र झा यस्तो फैसला अपेक्षा नगरिएको बताउँछन् । ‘हाम्रो दाबी त सफाइ पाउनुपर्छ भन्ने नै हो’ उनले भने, ‘सजाय नै हुँदा पनि ४/५ वर्ष होला । ५ वर्ष जेल बसिसक्नुभएकाले उहाँ छुट्नुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो । दुर्भाग्य ! त्यस्तो फैसला आएन ।’

कैद सजाय माफी पाउन सक्छन्

रेशमसहितका कैदीबन्दीको मुद्दा फिर्ता लगायतको मुद्दा लिएर बनेको नागरिक उन्मुक्ति पार्टीले गत मंसिरको प्रतिनिधिसभा चुनावमा चार सिट जितेको छ भने रेशमकी पत्नी समेत रहेकी कैलाली १ की सांसद रञ्जिता श्रेष्ठ चौधरी प्रचण्ड सरकारमा भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

नागरिक उन्मुक्तिकै जोडबलमा सरकारले मुद्दा फिर्तासम्बन्धी विधेयक पनि दर्ता गराएको थियो । तर, सर्वोच्चको बुधबारको फैसलाले यो बाटो बन्द गरेको छ । जन्मकैद सदर भएसँगै पूर्व सांसदसमेत रहेका रेशम २० वर्ष जेल बस्नुपर्ने भयो ।

त्यो भन्दा अगाडि छुट्न कैद सजाय माफीको बाटो हुनसक्ने कानुन व्यवसायीहरु बताउँछन् ।

फाइल तस्वीर : जनता समाजवादी पार्टी (जसपा) विवादका बेला सनाखत गर्न ११ साउन २०७८ मा निर्वाचन आयोगको कार्यालय पुगेका रेशम चौधरी

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा सजाय माफी दिन सक्ने व्यवस्था छ । यो दफाअनुसार कसुरदारले सजाय माफीका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवदेन दिन सक्छन् । कसुरको प्रकृति, सकुरदारको उमेर तथा शारीरिक अवस्था, थुनामा रहे, नरहेको अवस्था हेरेर राष्ट्रपतिले सजाय माफी गर्ने, मुल्तबी राख्ने, परिवर्तन गर्ने वा कम गर्न सक्छन् ।

भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण शरीर बन्धन वा व्यक्ति बेपत्ता, मानव बेचविखन, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागू औषध ओसार पसार तथा कारोबार बाहेक अरु मुद्दामा भने कैद सजाय माफी हुन सक्दैन । रेशमको मुद्दा कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यानमार्ने उद्योग भएकाले उनले माफीका लागि निवेदन दिन सक्छन् ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता लोकराज पराजुलीका अनुसार, २०७७ सालमा नयाँ फौजदारी कानुनहरु कार्यान्वयन भएसँगै जन्मकैद पाएकाहरुलाई कैद सजायमा कैद छुट र मिनाहा नहुने व्यवस्था लागू भएको छ । त्यो व्यवस्था अनुसार, ऐन जारी हुनुभन्दा अघि जन्मकैद पाएकाहरुलाई समेत कैद छुटको सुविधा दिन छाडिएको थियो ।

तर, सर्वोच्च अदालतले कानुन जारी हुनुभन्दा अघिको हकमा यो व्यवस्था कार्यान्वयन नहुने भनी नजीर प्रतिपादन भएको भन्दै उनले भने, ‘नयाँ ऐन जारी हुनुभन्दा अघिको घटनाका जन्मकैदको सजाय पाएकाहरुले पनि त्यसपछि कैद छुटको सुविधा पाइरहेका छन् ।’

तर यसका लागि कम्तीमा ४० प्रतिशत अर्थात ८ वर्ष कैद सजाय भुक्तान गरेको हुनुपर्छ । १४ फागुन २०७४ मा जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरेका उनले कैद सजाय माफीका लागि आवेदन दिन २०८२ फागुनसम्म जेल बस्नुपर्छ ।

साथै राष्ट्रपतिबाट कैद सजाय माफी पाइहाले पनि रेशमले सक्रिय राजनीति गर्न कठिन हुने देखिन्छ ।

किनकि राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा १४ मा दलको सदस्यतासम्बन्धी व्यवस्था छ, जसमा भ्रष्टाचार, जबर्जस्ती करणी लगायत नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैद सजाय नपाएको हुनुपर्ने उल्लेख छ । सांसदको उम्मेदवार योग्यतासम्बन्धी व्यवस्थामा पनि यही उल्लेख छ ।

यद्यपि जन्मकैदलाई नैतिक पतन मान्ने कि नमान्ने प्रष्ट छैन । निर्वाचन आयोगमा बसेर काम गरिसकेका सहन्यायाधिवक्ता खेमराज ज्ञवालीका अनुसार सजाय भोगिसकेको कुनै व्यक्ति नैतिक पतनको कसुरदार हो कि होइन भनी निर्क्योल गर्न निकै कठिन हुनछ ।

‘सामान्यतया भ्रष्टाचार, बाल यौन दुराचार जस्ता अपराधलाई नैतिक कसुर मान्ने चलन छ’ उनी भन्छन्, ‘अरुको हकमा विवाद परेमा अदालतबाटै यो विषय निर्क्योल गर्नुपर्ने स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?