+
+
विचार :

सहकारी अभियान कसरी प्रभावकारी बनाउने ?

अहिले त राम्रा-नराम्रा, सदस्यको सेवामा समर्पित सदस्यलाई कुनै जानकारी नै नदिई उसको पैसामा रजाइँ गर्ने, असल-खराब सबै एकै हुन् भन्ने भ्रम जनतामा पर्न थालेको छ । त्यसैले सहकारी बीच धु्रवीकरणको आवश्यकता छ र झापामा यसको सुरुवात भएको छ ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० जेठ ७ गते १७:१५

आर्थिक मन्दी र आर्थिक अराजकताको परिणामस्वरूप लगानीयोग्य रकमको अभाव पहिलो प्रभाव भएको छ । यसको लपेटामा बैंकहरू समेत परेकाले बैंकका ग्राहक एवम् सर्वसाधारणले सजिलै कर्जा पाउने अवस्था छैन ।

लघुवित्त सञ्चालकहरूले अधिक लाभका लागि आक्रामक नीति लिंदा एउटै व्यक्तिमा पाँच–दश वटा लघुवित्तले लगानी गर्दा ऋणी सदस्य जोखिममा परे । व्यक्तिको पहिचान, क्षमता नहेरी लगानी गर्दाको परिणाम थियो यो । यसले अन्ततोगत्वा असर संस्था र ऋणी दुवैलाई ग¥यो । लघुवित्तले गरेका सबै राम्रा काम ओझेलमा पार्ने गरी लघुवित्तको दुष्प्रचार भएको छ ।

सहकारी क्षेत्र यो बेला चर्चाको शिखरमा छ । बैंकबाट ऋण नपाएर पीडित भए, लघुवित्तबाट ऋण लिएर पीडित भए भन्ने भाष्य आम प्रचारमा छ भने सहकारीमा बचत गर्ने पीडित बनेका छन् । अहिले सहकारीको कार्यालय, सहकारीको बोर्ड, सहकारीमा सञ्चालक देखेर मुर्मुरिने कति होलान् ? यसलाई अहिलेसम्म त बेवास्ता गर्दा नै चलेको छ ।

त्यसैगरी सहकारीका कर्मचारी, सहकारीको ऋण लिएर लामो समय नतिर्ने ऋणीले धेरै असजिलो महसुस गर्नु परेको छैन । अहिले सञ्चालकहरू केही दबाबमा छन् । तर धेरै सहकारीमा समस्या भएकाले सञ्चालकहरू पनि मेरो वा हाम्रोमा मात्रै हो र ? गर्दैछौं, हतार नगर्नु भनेर पन्छिन अलि सजिलो नै भएको होला । केही समय यसरी पनि चल्छ । तर सधैं यसरी चल्छ भन्ने छैन ।

अहिले सहकारीमा पैसा बचत गर्ने धेरै मानिस समस्यामा छन् । समस्यामा परेकाहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । यसको अर्थ सबै सहकारी समस्यामा छन् भन्ने हँुदै होइन । चलायमान भएका सहकारीमध्ये करिब पाँचदेखि दश प्रतिशत सहकारीमा समस्या भएको अनुमान छ । यसमा पनि शहरकेन्द्रित सहकारी, सुशासनमा नचलेका सहकारी, गलत सोच भएका मानिस हाबी भएका सहकारी धेरै समस्यामा छन् ।

समुदायमा भएका, सदस्यकेन्द्रित, सुशासनमा चलेका, अझ ग्रामीण क्षेत्रमा चलेका सहकारीमा कुनै समस्या देखिंदैन । शहरकेन्द्रित भएर पनि सदस्यलाई नै वास्तविक मालिक बनाउने, सदस्यको सेवामा समर्पित, पारदर्शी र सुशासनमा भएका सहकारी पनि समस्यामा छैनन् मात्रै होइन आफ्ना सदस्यको आशा र भरोसाको केन्द्र बन्दै गएका छन् । सहकारीले यो अप्ठ्यारो अवस्थामा अझै सदस्यको मन जितेर संस्था भावनात्मक र आर्थिक रूपमा नै सबल बनेको अवस्था छ ।

सहकारीमा समस्या कसरी हुर्कियो भन्दा यसका धेरै कारण होलान् । अझ फरक-फरक सहकारीका आ-आफ्नै कथा होलान् । मुख्य रूपमा भन्दा संस्थाका सञ्चालकको स्वार्थ, नियामक निकायको बेवास्ता र स्वार्थ, संस्थाकै कर्मचारीको धुत्र्याइँ वा लापरवाही, सहकारी नेताहरूको ढाकछोप मुख्य कारण हुन् ।

अहिले कोही पनि आफ्नो कमजोरी स्वीकार्न र सुधार्न तयार देखिंदैनन् बरु आर्थिक मन्दीको बहानामा आफ्नो कमजोरी छोपेर उम्कने बहाना गर्छन् । सहकारी क्षेत्रमा अहिले सतहमा आएका र आउन बाँकी समस्याको प्रभावको बारेमा सधैं नजरअन्दाज गरेर बस्नु मूर्खता हुनेछ भन्ने बुझाइ हो ।

सहकारीलाई बैंक ठान्ने सञ्चालक र बचतकर्ता दुवै आजको समस्याका कारक हुन् । यो समस्या दोहोरिन नदिन सञ्चालक र यस्ता बचतकर्तामा भएको भ्रमको अन्त्य हुनुपर्छ । सबै सहकारी उस्तै हुन् । सहकारी र बैंक उस्तै उस्तै हुन् भन्ने भ्रमको अन्त्य नहुने हो भने भविष्यमा पनि यस्ता समस्या निरन्तर आइरहने गर्छन् । त्यसैले सहकारीलाई सहकारी जस्तो बुझ्ने र बुझाउने अभियान जरूरी छ ।

सहकारीलाई बैंक ठान्ने सञ्चालकले सहकारीमा जम्मा भएको पैसा मनमौजी परिचालन गरे । सहकारीलाई पनि बैंक ठान्ने बचतकर्ताले ब्याजको प्रतिशत मात्रै हेरे र लोभमा परे । सहकारीमा बैंकको जस्तो नियामक निकायले कसिलो गरी हेरेको हँुदैन, हेर्ने क्षमता राख्दैन । त्यो अनुरुपको जनशक्ति सहकारीका नियामक निकायमा छैनन्, भएकाले पनि हेर्दैनन् । हेरिहालेछन् भने पनि देखेर पनि देख्दैनन् ।

सहकारीमा सरकारको कसिलो नजर हुनुपर्छ । यसका सबै बेथितिमा सरकारले डण्डा चलाउनुपर्छ । हामी बिग्रिसक्यौं । सरकारले किन नहेरेको भनेर चिच्याउनु सहकारी नबुझ्नु हो । सहकारी समुदायले नियन्त्रण गर्ने हो, सदस्यले नियन्त्रण गर्ने हो । सञ्चालन र नियन्त्रण विधि सहकारीमा अन्तर्निहित हुन्छ । यस्तो विधिको उचित प्रयोग गर्र्नुपर्छ ।

देशमा अहिले सहकारी अभियानको जुन अवस्था छ यो जस्ताको त्यस्तै लामो समय रहनुहँुदैन । सबै सहकारी राम्रा छन्, सहकारीले गल्ती गर्दैन, सहकारीले जे पनि गर्न पाउनुपर्छ, सहकारीको विरोध गर्नुहँुदैन, सहकारीले राम्रो मात्रै गरेका छन् आदि भनेर सहकारीको अतिरञ्जित बचाउ गर्ने र सहकारीलाई समुदाय र सदस्यको माझमा पारदर्शी नबनाउने छुट दिनु भनेको सहकारीको लागि राम्रोभन्दा नराम्रो गरेको अवस्था हो ।

यो काममा सहकारीका नेता नै धेरै लागेका छन् । यसको कारण पनि छ । किनकि कतिपय नेताका सहकारीमा नै यो समस्या छ । नेताले आफ्ना सहकारीको बचाउका लागि पनि यस्तो हर्कत गरेको पाइन्छ । यी र यस्ता सामान्य लाग्ने कुराले पनि सहकारीलाई सुशासनमा हिंड्न बाधा पारेको अवस्था छ ।

राम्रो काम गरिरहेका, सदस्यको आवश्यकता, समुदायको आवश्यकता, सुशासन, सन्तुलन सबैमा अब्बल रूपमा काम गरिरहेका सहकारी गाउँ–गाउँमा धेरै छन् । यस्ता सुशासनमा चलेको सहकारी शहरमा पनि कम छैनन् । सदस्यको मन र मत जितेका सहकारीमा कुनै समस्या छैन । चुपचाप आफ्नो काम गरिरहेका छन् ।

आर्थिक मन्दीको प्रभावले गर्दा सदस्यले नियमित रूपमा कर्जा बुझाउन समस्या भएका र कर्जा असुलीमा केही शिथिलता आएको, बचत संकलन घटेको जस्ता कारणले केही अलि अप्ठ्यारो महसुस गरिरहेका सहकारीहरू पनि छन् । यस्ता सहकारीहरूले अलिकति आफूलाई समय अनुसार चल्न होशियारी अपनाए पुग्छ ।

झापामा सहकारीको यस्तो ध्रुवीकरणको सुरुवात भएको छ । आवश्यक ठानेमा देशले नै यस्तो ध्रुवीकरणको अभ्यास गरेर सहकारीको असल अभ्यासलाई अगाडि बढाउन सकिन्छ । सुरुवात जिल्ला-जिल्ला र पालिका-पालिकाबाट गर्नुपर्छ ।

कार्यालय सधैं खुला गर्ने, सदस्यलाई सकेसम्म घरैमा भेटेर अवस्था बुझ्ने, नियमित सम्पर्क गर्ने, बचत गर्न प्रेरित गर्ने, कर्जाको किस्ता जति सम्भव छ तिर्न अनुरोध गर्ने । यति गर्दा नै समस्या साँघुरो पार्दै जान सकिन्छ । तर, कार्यालय बन्द गरेर, फोन स्विचअफ गरेर र भागेर समस्या समाधान हँुदैन । मानिस बस्ने समाजमा नै हो । आजको मान्छे कोही पनि सधैं भाग्न र लुक्न सम्भव छैन ।

हिजो नजानेर, नबुझेर, बहकाउमा वा उक्साहटमा लागेर गल्ती नै गरियो भने पनि त्यसलाई सच्याउन सकिन्छ । तर एकपछि अर्को झुट बोलेर, फेरि ढाँटेर–ठगेर विश्वास जित्न सकिंदैन । सहकारीमा यस प्रकारका ठालु समस्या पनि छन् ।

मेरो बुझाइमा अहिले देशमा चार प्रकारका सहकारी छन् ।

(१) सानो समुदायमा आधारित भएर सानै क्षेत्रमा सदस्यकेन्द्रित भएका सहकारी जुन आफ्नो क्षेत्रमा आएको सजिलो अप्ठ्यारो झेल्दै सहज तरिकाले चलिरहेका छन्, यस्ता सहकारीमा कुनै समस्या छैन । अलिअलि व्यवस्थापकीय समस्या हुन सक्छन्, ती सुधार गर्न सकिन्छ ।

(२) अलि ठूलो क्षेत्रमा काम गरेका, अलि धेरै सदस्यका माझ पुगेका, कारोबारको सीमा बढाउँदै लगेका, प्रविधि र जनशक्तिमा अब्बल बन्दै गएका, सुशासन कायम गर्न सफल, सदस्यको मन जित्न सकेका, पारदर्शी र सुशासनमा चलेका सहकारी संस्था । यस्ता सहकारीमा पनि समस्या छैन । तर जोखिमको सम्भावना सधैं रहने हुनाले चनाखो हुन जरूरी छ ।

(३) सहकारीलाई आफ्नो बैंक ठान्ने र अरूलाई बैंक भएको भ्रम दिने गरेका, एकभन्दा बढी सहकारीमा सञ्चालक नै भएर बसेका, मन मिल्ने, उद्देश्य मिल्ने तर सहकारीका लागि सहकारी होइन पैसा कमाउने उद्देश्यले सहकारी खोल्ने गरेकाहरूले सहकारीमा जम्मा भएको पैसा आफ्नो व्यवसायमा लगानी गरेका, आफ्नो संलग्नता भएका अरू सहकारीमा बचतको रूपमा राख्ने गरेकाहरू समस्यामा छन् ।

त्यसैगरी मनलाग्दी घरजग्गामा लगानी गरेका, नेता र नियामक निकायलाई खुसी पार्दै ‘धन्दा’को रूपमा सहकारी चलाएका, न सुशासन न पारदर्शिता यस्ता संस्थाको चरित्र छ । हो, यस्ता सहकारी धेरै नै शहरमा केन्द्रित छन् । पैसाको बलमा होला सायद यस्ता संस्थाले फट्के कार्यक्षेत्र (सिमाना नजोडिएको टाढाको शहर–बजारको) पाएको देखिन्छ । यस्ता सहकारी नै मूलतः अहिले ठूलो समस्यामा छन् ।

(४) सानादेखि ठूलासम्म सबै आकारप्रकारका सहकारी तर सीमित मानिसको हालीमुहाली चलेको । यस्ता सहकारी परबाट हेर्दा सबै दुरुस्त देखिन्छ तर सानो टिमले मात्रै यस्ता संस्था चलाएका छन् । हुनलाई यस्ता संस्थामा समिति, उपसमिति, कर्मचारी, विभाग, फाँट सबै हुन्छ । तर सीमित व्यक्ति जसको संस्थामा नियन्त्रण छ, उनीहरूको इच्छा बेगर सहकारीमा कुनै काम हँुदैन । यस्ता संस्थामा तत्काललाई खासै समस्या नभए पनि भविष्यमा जोखिम बढ्न सक्ने भएकाले निर्णय प्रक्रियामा धेरैको जानकारी र सहभागिता गराउनु जोखिम कम गर्नु र सहकारीलाई सहकारी जस्तो बनाउनु हो । त्यसैले तत्कालै कुनै समस्या नहुँदैमा पनि सुधारको खाँचो देखिन्छ ।

सहकारीको विकासका लागि देशमा ध्रुवीकरणको आवश्यकता महसुस हुन थालेको छ । अहिले देशमा धेरै मानिसको नजरमा सहकारीलाई एकै नजरले हेर्ने बानी परेको छ । जो सहकारीबाट पीडित बने उनीहरूको नजरमा सहकारी तत्काल खारेज गर्नुपर्छ । सहकारीका सञ्चालकलाई पक्रेर जेल हाल्नुपर्छ भन्ने आक्रोश छ । जसले सहकारीबाट नियमित कारोबार गरिरहेका छन् । आर्थिक सामाजिक रूपमा आफैं संलग्न भएर फाइदा लिएका छन् र कुनै समस्या व्यहोरेका छैनन्, उनीहरूका लागि सहकारी जीवनको अपरिहार्य आवश्यकता हो भन्ने परेको छ ।

त्यसैले, देशमा सहकारीको धु्रवीकरणको आवश्यकता छ । अहिले त राम्रा र नराम्रा, सुशासनमा चलेका र नचलेका, सदस्यको सेवामा समर्पित र सदस्यलाई कुनै जानकारी नै नदिई सदस्यको पैसामा रजाइँ गर्ने, ठीक र बेठीक, असल र खराब सबै एकै हुन् भन्ने भ्रम आम मानिसमा पर्न थालेको छ ।

झापामा सहकारीको यस्तो ध्रुवीकरणको सुरुवात भएको छ । आवश्यक ठानेमा देशले नै यस्तो ध्रुवीकरणको अभ्यास गरेर सहकारीको असल अभ्यासलाई अगाडि बढाउन सकिन्छ । सुरुवात जिल्ला-जिल्ला र पालिका-पालिकाबाट गर्नुपर्छ ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?