
काठमाडौं । काठमाडौं र ट्राफिक जाम एकअर्काका पर्याय नै हुन् भन्दा पनि हुन्छ । काठमाडौंका मुख्य चोक यस्ता छैनन् जहाँ जाम नहोस् । ट्राफिक व्यवस्थापनका लागि सडकमा अहोरात्र खटिरहेका हुन्छन् ट्राफिक प्रहरी ।
ट्राफिक प्रहरीलाई मात्रै सवारी व्यवस्थापन गर्न सकस भएपछि चोकहरुमा ट्राफिक बत्ती पनि राखिएको छ । अहिले केहीबाहेक अधिकांश मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएका छन् ।
तर ट्राफिक बत्ती भने सबैभन्दा बढी सवारी चाप हुने समय अर्थात् पिक आवरमा भने बल्दैनन् किन ?
एक बिहान साढे ९ बजेतिर नयाँबानेश्वरबाट लगनखेल जाने टेम्पोमा चढिन् नरिवान एडी । उनलाई अफिस समयमै पुग्नुथियो । तर टेम्पो गुडेन । उनले टेम्पोबाट यसो चिहाएर हेरिन्, बानेश्वरबाट माइतीघरतर्फ जाने सवारीसाधन चलिरहेका थिए । निकै लामो समय त्यतातर्फका गाडी ट्राफिकले छोडिरहेको थियो, ट्राफिक लाइट चाहिं बन्द गरेको थियो । जबकि बिहान ११ बजेपछि भने ती लाइट निर्वाध बल्न थाल्छन् ।
उनले मन नमानेर चालकलाई सोधिन्, ‘ट्राफिकले समातेको हो दाइ ?’ चालकले होइन कहिलेकाहीं यस्तै हुन्छ भनेर भने ।
०००
बानेश्वरबाट भक्तपुर जाँदै गरेकी मनिषा सुवालको पनि यस्तै अनुभव छ । अफिसबाट चाँडै काम सकाएर बेलुका ६ बजेतिर निस्किएकी उनी गाडी चढेको ४५ मिनेटसम्म बानेश्वरमै रोकिइन् । कारण थियो, ट्राफिकले एकापट्टिको मात्रै सवारीलाई पास गरिरहनु । शंखमूल जाने, माइतीघर जाने गाडीहरुलाई पालैपालो पठाइरहँदा कोटेश्वरतर्फका गाडी भने लामै समय रोकिन पुगेका थिए । उनको अनुभवमा ट्राफिक बत्ती बालिएको भए, सबैले पालो पाउँथे ।
सवारीचालक र सर्वसाधारणले ट्राफिक प्रहरी बसेपछि झन् जाम हुन्छ भन्दैथिए । अरुबेला लाइट बाल्दा यस्तो जाम नै नहुने उनीहरुको भनाइ थियो । बिना कारण जाममा किन गरेको हो यात्रुहरु आक्रोशित पनि भइरहेका थिए ।
***
काठमाडौंबासी हुनुहुन्छ भने यस्तो समस्या तपाईंले भोग्नुभएकै होला । ट्राफिक व्यवस्थापनका लागि बत्ती राख्ने तर बढी जाम हुने बेलामै किन निभाउने ? यो प्रश्न धेरैको मनमा उठिरहेको हुन्छ ।
तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टको तर्क भने अर्कै छ ।
‘पिक आवरमा सवारीसाधनको चाप सडक अनुसार घटबढ हुने भएकाले ट्राफिक बस्ने गरिएको हो । सवारीको चाप कता बढी छ त्यता हेरेर पठाउनुपर्ने भएकाले लाइट बन्द गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘अहिले हामीकहाँ जडान गरिएका ट्राफिक लाइट फिक्स टाइमका हुन् । कुनैमा १३० देखि १८० सेकेण्डको समय राखिएको छ ।’
उनी थप्छन्, ‘उदाहरणका लागि बेलुकाको समय कोटेश्वरबाट सातदोबाटो वा उपत्यकाबाहिर जाने गाडीको चाप बढी हुन्छ । हामीले बाहिर जाने गाडीलाई दुईचोटि पठाउने र भ्यालीभित्र छिर्नेलाई एकचोटि दिने र बिहानको समय भ्यालीभित्र छिर्ने बढी हुने र बाहिर जाने खालीखाली वा कम चाप हुने भएका कारण त्यही अनुसार मिलाउने गर्छौं । ट्राफिक लाइट फिक्स टाइमको हुने भएकाले व्यवस्थापन गर्न पिक आवरमा गाह्रो हुन्छ ।’
यद्यपि अहिले तत्कालका लागि पिक आवरमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति नै प्रभावकारी देखिए पनि अन्य बेला भने ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन राम्रो भइरहेको प्रवक्ता भट्ट बताउँछन् । चाँडै नै सेन्सरयुक्त ट्राफिक बत्ती आए सवारी व्यवस्थापनमा धेरै सहज हुन सक्छ । ‘सेन्सरवाला लाइटले जता बढी सवारी चाप छ, त्यता बढी र कम भएकोतिर कम समय देखाउँछ । त्यस अवस्थामा अहिलेजस्तो ट्राफिक प्रहरी खटिन आवश्यक हुँदैन,’ उनी भन्छन् ।
काठमाडौंमा नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, सिंहदरबार, दरबारमार्ग, पुतलीसडक, कमलपोखरी, नारायणगोपाल चोक, गौशाला लगायत चोकमा ट्राफिक बत्ती राखिएका छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4