+
+

फिर्केखोलाको बर्सेनि चर्चा, उस्तै छ दुर्दशा

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ १० गते २०:००

१० जेठ, पोखरा । पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर, फिर्केखोलाको दुर्दशा भने उस्तै छ ।

फिर्के खोला संरक्षण भन्दै तत्कालीन मेयर मानबहादुर जिसीले ०७५ असार १ गते डोजर लिएर पुगेका थिए । तर, मेयर जिसीले चालेको उक्त कदम फिर्के संरक्षण होइन, बदनामी खेप्नुपर्‍यो ।

फिर्केखोला मिचेर बनेका संरचना हटाउएर ‘फुटट्रयाक’ बनाउने भन्दै निवर्तमान मेयर जिसीले आफैं डोजर चलाएका थिए । पैदलमार्ग शिलान्यासका क्रममा तत्कालीन मेयर जिसी आफैं डोजर अपरेटर बस्ने ठाउँमा बसे । डोजर अपरेटरलाई निर्देशन दिनुको साटो उनले आफैं डोजरको लिभर चलाउन पुग्दा दुर्घटना हुन पुग्यो ।

अचानक डोजर चल्दा खोलाको वाल रेलिङमा बसेका पत्रकारसहित ५ जना घाइते भएका थिए । घाइतेहरुलाई अस्पतालमै राखेर उपचार गर्नु परेको थियो । उक्त घटनालाई पोखरेलीले सकारात्मक भन्दा पनि ‘मेयरको डोजर काण्ड’ को रुपमा स्मरण गरिरहन्छन् ।

अतिक्रमण रोक्न भन्दै निवर्तमान मेयर जिसी नेतृत्वको महानगरले पैदलमार्ग बनाउने योजना ल्याएको थियो । तर, ‘डोजर काण्ड’पछि व्यापक आलोचना भएसँगै उक्त योजनासमेत अलपत्र छ ।

फिर्केमाथि कतिसम्म राजनीति कतिसम्म हुन्छ भने ०७६ को उपनिर्वाचनमा भएको सौदाबाजीलाई हेरेपुग्छ । कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त पदमा भएको उपनिर्वाचनको नेकपा एमालेले नियमविपरीत ५ मिटरको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सम्झौता नै गरेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिल कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्के खोलाको मापदण्ड घटाउने सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । तत्कालीन समयमा महानगरका मेयर जिसीको प्रतिनिधिका रुपमा वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका थिए । तर, लिखित रुपमै गोप्य राखिएको उक्त सम्झौता शर्माले साँझको बेला हस्ताक्षर गरेकाले आफूले गल्ती गरेको भन्दै माफी नै मागेका थिए ।

पटकपटक राजनीतिकरण हुँदै आएको फिर्के खोलाको मापदण्ड तोक्न ०७४ मै अभियान थालिएको थियो । अभियानको सुरुआत गर्दै तत्कालीन मेयर जिसीले मापदण्ड मिचेका संरचना पत्ता लगाएर मिचेकालाई बिदाइ र नमिचेकालाई बधाई दिने उद्घोष गरेका थिए । तर, अहिलेसम्म उक्त अभियानले सार्थकता पाउन सकेको छैन ।

पोखरा महानगरपालिका-१८ को अँधेरी कुनादेखि, वडा नम्बर ४, ५ हुँदै फेवातालमा गएर मिसिने फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा बर्सेनि साँघुरिँदै गइरहेको छ । फिर्के बचाउने भन्दै पैदलमार्ग बनाउन महानगरले इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा ‘५ मिटर राइट अफ वे’मानेर रेखांकन गरेको थियो ।

उक्त प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । फिर्केको १० मिटर मापदण्ड भए पनि तत्कालीन समयमा ५ मिटरलाई नै आधार बनाइएको थियो । जसमा फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो ।

राजनीतिक दलका घोषणापत्र र पोखराको बर्षेनी नीति तथा कार्यक्रममै फिर्केखोला संरक्षण उल्लेख हुँदै आएको छ । तर, तत्कालीन पोखरा उपमहानगरपालिका हुँदैबाट ल्याइको फिर्के संरक्षण योजनाले पनि सार्थकता पाउन सकेको छैन ।

प्रतिवेदनअनुसार संरचनामाथि डोजर चलाउँदा पहुँचवाला निकाय र व्यक्तिको पनि संरचना भत्किने भएकाले महानगरले भत्काउन नसकेको आरोप लाग्दै आएको छ ।

फिर्केको झाँडी फाँड्न अभियान

बर्सेनि अतिक्रमणको चपेटामा पर्दै साँघुरिँदै गइरहेको फिर्केखोला संरक्षण गर्न पोखरा महानगरले मंगलबारदेखि फेरि अभियान थालेको छ । महानगरले ‘फिर्केखोला संरक्षण अभियान-२०८०’ नाम दिएर खोला किनारका झाडी फाँड्न सुरु गरेको हो ।

मेयर धनराज आचार्यले फिर्केको स्वरुप कस्तो छ भनेर पहिचान गर्न वरपरको अनावश्यक वस्तु हटाउन सुरु गरिएको जानकारी दिए । ‘फिर्केखोलाको अनावश्यक चिजहरु यहाँबाट हटाएर वास्तविक फिर्के कस्तो छ भनेर सुबैभन्दा पहिले पहिचान गर्ने काममा हामी छौं,’ उनले भने, ‘१५ गतेसम्म यो अभियान चल्नेछ ।’

८ किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त खोलाको संरक्षणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक सय जनालाई फिर्केको दायाँबायाँ झाडी फाँड्ने काममा लगाइएको मेयर आचार्यले जानकारी दिए ।

फिर्केखोलाको तटीय क्षेत्रको पहिचान भइसकेपछि मापदण्ड तोकिने महानगरको भनाइ छ । आगामी कार्यपालिका बैठकले मापदण्ड तोक्ने मेयर आचार्यले जानकारी दिए । ‘आगामी कायएपालिका बैठकले यसको मापदण्डको सन्दर्भमा निर्णय गदैछौं । अहिले अध्ययन भइरहेको छ,’ उनले भने ।

यो पनि पढ्नुस् :

पोखराकै बदनामी : मेयरको डोजर काण्ड, दुर्गन्धित फिर्के योजना

पोखराको फिर्के खोला मिचेर २ सय संरचना

पोखरेलीले सम्झिरहने मेयरको त्यो ‘डोजर काण्ड’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?