+
+
कोशी नामकरण विवाद :

आन्दोलनकारीको मागमा सरकारले देखाएन चासो

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ ११ गते २१:१२

११ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेपछि प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेकाहरुले विराटनगर केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका छन् । आफ्नो माग प्रदेशसभाबाटै सम्बोधन गर्न सम्भव भएकाले प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेन बताउँछन् ।

‘प्रदेशसभाबाटै निर्णय हुने विषय हो नाम’, उनी भन्छन्, ‘त्यसलाई (नामाङ्कनको निर्णय) सच्याउन पहल नगरी र अर्काे प्रदेशसभा बोलाएका कारण विरोध जनाउन शान्तिपूर्ण प्रदर्शन गर्छाैं ।’ आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रयोजनका लागि १४ जेठमा प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही मौका पारेर आन्दोलनरत पक्षले पनि प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका छन् ।

गत १७ फागुनमा प्रदेशको नामकरण कोशी राखिएपछि पहिचान पक्षधर दल र जातीय संस्थाहरुले पुनः नामाकरणको मागसहित आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा गत ५ चैतमा घाइते भएका पदम लिम्बु लाजेहाङको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।

लिम्बूको मृत्युपछि पहिचान पक्षधरले प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीलाई जिल्ला जान अवरोध गरिरहेको छ । आन्दोलनकै क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता राम राना लगायत नेतामाथि आक्रमणको प्रयास भएको थियो । आक्रमणकै कारण नेताहरु जिल्ला जान छोडेका छन् ।

आन्दोलन चर्किएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ । ‘…कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथाशक्य सम्बोधन गर्न हुन ध्यानाकर्षण गराउँदछौं’, कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाम राख्नैपर्ने भएकाले साझा सहमतिमा कोशी नामकरण गरिए पनि अब प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ । तर अहिलेसम्म प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ताको पहल गरेका छैनन् ।

आन्दोलनरत घटकमध्येका एक किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन वार्ताका लागि आफूहरु तयार रहेको बताउँछन् । ‘हामी त निकास निकाल्नु प¥यो भन्ने पक्षमा छौं’, येक्तेन भन्छन्, ‘वार्ता गरेर हुन्छ कि सम्वाद गरेर हुन्छ कि अथवा सम्वाद नै नगरी सिधै प्रक्रियाबाट नाम संशोधनका लागि लैजानुभयो भने पनि भइहाल्छ ।’ तर सरकारले नै कुनै चासो नदेखाएको उनी बताउँछन् ।

मुख्यमन्त्री भन्छन् : केन्द्रसँग सम्वादमा छौं

तीन महिनादेखि निरन्तर चलेको आन्दोलनका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की पछिल्लो समय राजधानी विराटनगरमा केन्द्रित छन् । पहाडी जिल्लामा तय भइसकेको कार्यक्रममा समेत उनी गएका छैनन् ।

राजधानी केन्द्रित भएका मुख्यमन्त्री कार्की पनि वार्ताबारे सल्लाह भइरहेको बताउँछन् । ‘त्यस्तो (वार्ता गर्ने) ठाउँमा पुगेको छैन । केन्द्रसँग सल्लाह हुँदैछ, चाँडै पुग्छ’, मुख्यमन्त्री कार्की भन्छन्, ‘केन्द्र र प्रदेश सल्लाह गरेर निष्कर्षमा पुग्छौं ।’

केन्द्र र प्रदेश कसले गर्ने विषयमा छलफल भइरहेको उनी बताउँछन् । ‘कतिपय कुराहरु केन्द्रसँग जोडिएका छन्, संवैधानिक कानुनी विषयमा हामीले बोल्न मिलेन’ मुख्यमन्त्री कार्की भन्छन्, ‘यसका विषयमा परामर्श भइरहेको छ । वार्ताको विषय केन्द्रसँग सल्लाह गरेर टुङ्ग्याउँछौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?