+
+

‘समाजमा चेतना फैलाउन सुदूरपश्चिमका स्कुलमा भूकम्प पढाउन थाल्नुपर्छ’ 

सुदूरपश्चिममा भौतिक संरचनाको अवस्था बारे अहिलेसम्म कसैले अध्ययन नै गरेको छैन । त्यसैले जोखिमका सम्बन्धमा भन्न सक्ने स्थिति छैन । अब गाउँघरमा ढुंगामाटोले बनेका घरमा कसरी सुरक्षित रहने भनेर यहाँका स्कुलमा पढाउन थाल्नुपर्छ ।

झंक थापा, इन्जिनियर शहरी विकास तथा भवन निर्माण विभाग झंक थापा, इन्जिनियर शहरी विकास तथा भवन निर्माण विभाग
२०८० जेठ १२ गते ९:५५

भूकम्पको पूर्व अनुमान गर्न सकिंदैन भन्ने सबैले जानेकै कुरा हो । यो अहिले आउन सक्छ, भोलि पनि आउन सक्छ र सयौं वर्षसम्म नआउन पनि सक्छ । तर, हाम्रो सन्दर्भमा पश्चिम नेपालमा लामो समयसम्म ठूलो भूकम्प नआएको हुनाले जुनसुकै बेला आउन सक्छ भनेर भूकम्पविद्हरूले भनिरहनुभएको छ । पत्रपत्रिका र अनलाइनहरूमा यो कुरा पढिरहेका छौं ।

तीन–चार सय वर्षमा एउटा ठूलो भूकम्प जाने तथ्यांक भएको हुनाले पश्चिम नेपालमा जाने हो कि भन्ने अनुमान एवं विश्लेषण गरिएको छ । यो भूकम्पको कुरो भयो । अब कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा भूकम्पले मान्छेको ज्यान लिने होइन । हामीले बनाएका संरचनाहरू कमजोर हुँदा भत्किएर जनधनको क्षति हुने हो ।

त्यसैले ती संरचनाहरू कसरी बनेका छन् । नेपाल विकासोन्मुख मुलुक हो । अझ सुदूरपश्चिम विभिन्न कोणबाट पछाडि परेको ठाउँ भयो । पहाडी क्षेत्रमा पुरानो प्रविधिको प्रयोगले संरचना बनाउने चलन रहेको छ । शहरतिर केही सुधार भएको पनि देखिन्छ ।

म सरकारी निकायमा काम गर्ने भएकाले पनि हामी मार्फत निर्माण भएका संरचनाहरू भूकम्पीय जोखिमका हिसाबले प्रतिरोधी बनाएका हुन्छौं । राष्ट्रिय भवन संहिता अनुसार निर्माणको काम गर्छौं । हामीले निर्माण गरेका सरकारी भवन, स्वास्थ्य संस्थाका भवन भूकम्प प्रतिरोधी बनाएका छौं ।

सुदूरपश्चिमको सबैभन्दा ठूलो धनगढी उपमहानगरपालिका हो । २०७२ सालको भूकम्प गएपछि धनगढी उपमहानगरपालिकाले भवन संहिता अनिवार्य रूपमा पालन गरेको पाएका छौं । नगर क्षेत्रमा बन्ने निजी घरहरू समेत मापदण्डका आधारमा मात्र निर्माण भइरहेका छन् ।

जस्तो कि नक्सा पास एकथरी तर निर्माण अर्कै किसिमले गर्नेहरूको हकमा पनि उपमहानगरपालिकाले अनुगमन निरीक्षण गर्ने काम गरिरहेको रहेछ । पास भएका नक्सा अनुसार संरचना निर्माण नभएको पाइएमा रोक्ने गरिएको रहेछ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

तर, यहाँको ग्रामीण क्षेत्रका भौतिक संरचना हेर्दा माटोको गारो र ढुंगाले बनाइएका छन् । त्यहाँ पनि पुरानो प्रविधिअनुसार बनाइएका कतिपय संरचना भूकम्प प्रतिरोधी पनि छन् । जस्तो कि कुनै संरचनामा काठको दलिनहरू राखेर बनाइएको छ । ती भवनहरू पनि भूकम्प प्रतिरोधी त हुनसक्छन् तर धेरै पुरानो भइसकेकाले सुरक्षित छन्/छैनन् भन्ने अध्ययन नभएकाले यसै भन्न सक्ने अवस्था छैन ।

तर, भवन विभागले विभिन्न विल्डिङ कोडहरू प्रकाशन गरेको छ । माटोको गारोले बन्ने, सस्तो भवन कसरी बनाउने, शहरमा बनाउने ठूला भवनहरू कसरी बनाउने ? भनेर कोडहरू प्रकाशन गरेका छौं । त्यो अनुसार निर्माण गरेमा भूकम्प प्रतिरोधी संरचना बनाउन सक्छौं र भविष्यमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सक्छौं ।

सत्य कुरा सुदूरपश्चिमका भौतिक संरचनाको अवस्था बारे कसैले अध्ययन नै गरेको छैन । त्यसैले जोखिमका सम्बन्धमा भन्न सक्ने स्थिति छैन । बरु गाउँघरमा ढुंगामाटोले बनेका घरमा कसरी सुरक्षित रहने भनेर स्कुलबाटै विद्यार्थीलाई पढाउनु चाहिं आवश्यक छ ।

मेरो विचारमा पछिल्लो एक दशक यता बनेका भवनहरू केही मात्रामा सुरक्षित छन् भन्ने लाग्छ । नगरपालिकाबाट नक्सा पास भएर संरचना बन्ने भए । हामी मार्फत बनाउने भवन पनि मापदण्ड अनुसार बन्ने भए । तर, हाम्रो गाउँघरमा ढुंगामाटोले बनेका भवनका कारण क्षति हुन नदिन कसरी सुरक्षित रहने त ? अब भूकम्प सम्बन्धी स्कुल तहमा नै पाठ्यक्रम तयार गरेर पढाउनुपर्छ ।

एउटा छुट्टै विषय राखेर भूकम्पबाट कसरी सुरक्षित बस्ने, भूकम्प गएका बेला के गर्न सकिन्छ ? भनेर ज्ञान दिन जरूरी भइसकेको छ । सामान्य रूपमा हामीकहाँ अहिले माघ २ गते राष्ट्रिय भूकम्प दिवस विभिन्न कार्यक्रम गरेर मनाउने चलन छ । तर, भूकम्प माघ २ गते मात्र आउने होइन नि ! भूकम्प जहिले पनि आउन सक्छ ।

त्यसैले हामीले स्कुल तहमा बालबालिकालाई शिक्षा दिने, भवन बनाउँदा कसरी बनाउने, बनाइसकेको भवनलाई पनि भूकम्पबाट कसरी सुरक्षित गर्ने ? हामी प्राविधिक भाषामा ‘रेट्रो फिटिङ’ भन्छौं, त्यसरी कसरी सबलीकरण गर्ने भनेर सिकाउन सकिन्छ ।

समाजमा ‘रेट्रो फिटिङ’ भन्ने बित्तिकै निकै महँगो हो भन्ने धारणा रहेको छ त्यो होइन । यसमा पनि विभिन्न प्रकारले काम गर्न सकिन्छ । यो सस्तो पनि हुन सक्छ । भवन धेरै पुरानो छ भने त्यो कतिको जोखिमपूर्ण छ भनेर अध्ययन गर्न सक्छौं । कुन ठाउँमा ‘रेट्रो फिट’ गर्दा बलियो हुन्छ भनेर छुट्याएर गर्न सकिन्छ ।

यदि भूकम्प गएको बेला त्यस्तो जोखिमपूर्ण भवनमा बसिरहेका छौं भने सुरक्षित ठाउँमा बस्ने, खुला ठाउँमा जाने तर नदौडने । जहाँ छ त्यहीं नजिकै वरिपरि सुरक्षित ठाउँमा ओत लाग्ने । कतै माथिबाट अन्य वस्तु खस्ने ठाउँमा नजाने र सकेसम्म खुल्ला आकाशमुनि बस्नुपर्छ ।

अर्कोतिर भवन बनाउँदा हलुका सामग्रीहरूको प्रयोग गरेर बनाउन सकिन्छ । पहाडमा पनि काठ र खरले घरहरू भूकम्पीय दृष्टिले सुरक्षित बनाउन सकिन्छ । किनकि यसमा तौल कम हुने भएकाले सुरक्षित हुन्छ भने लगानी पनि कम लाग्न सक्छ ।

हामी अहिले संघीयतामा गइसकेको हुनाले गाउँ–गाउँमा सरकारहरू छन् । स्थानीय तहले सबैभन्दा पहिला हामीसँग नभएको प्रारम्भिक र विस्तृत तथ्यांक संकलन गर्नुपर्छ । कुन बस्ती र ठाउँका भवनहरू जोखिमयुक्त छन्, तिनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर अब काम गर्नुपर्ने हुन्छ ।

२०७२ सालमा भूकम्प गयो । डोटीमा पनि गएको कात्तिकमा भूकम्प गएका कारण यहाँ ठूलो भूकम्प जाने कुरा निश्चित छ तर कहिले हो ? भन्ने कुरा भन्न सकिंदैन ।

अर्कोतिर शहरी क्षेत्र वा ग्रामीण क्षेत्रमा पनि मापदण्ड अनुसार निर्माण भएका संरचनाहरूको कुरा गर्दा बाहिर थेग्न सक्ने, नसक्ने भन्ने कुरा जुन छ त्यो हुँदैन । भूकम्प कति ‘रेक्टर स्केल’ को गयो भन्ने कुराले क्षतिमा अर्थ राख्दैन ।

यसमा दुई वटा पक्ष हुन्छन् । एउटा ‘रेक्टर स्केल’ र अर्को ‘इन्टेन्सिटी’ अर्थात् तीव्रता । रेक्टर स्केल भनेको जहाँ भूकम्प गयो त्यहाँ कति शक्तिशाली गयो भन्ने कुरा हो । जस्तै ७ रेक्टर स्केल गयो भन्छौं त्यो तहको गयो भन्ने कुरा हो, जुन सबै ठाउँमा ७ नै मानिन्छ ।

तर, इन्टेन्सिटी भन्नाले कुनै ठाउँमा भूकम्प गयो त्यसले कहाँ कुन तहसम्मको क्षति गर्यो । त्यो भूकम्पले धनगढीमा बलियो घर पनि भत्काउन सक्छ भने अत्तरियामा कमजोर घर पनि नभत्किन सक्छ । भन्नुको अर्थ केन्द्रबिन्दुको दूरी, त्यसको गहिराइ र जमिनको सतहमा भर पर्छ ।

मैले बनाएको घर ७ रेक्टर स्केलको धान्छ भन्ने खालको गलत बुझाइ छ, त्यो होइन । भूूकम्पको इन्टेन्सिटी स्केल मापन गरिन्छ । जुन १ देखि १२ सम्म हुन्छ । जस्तै अघिल्लो पटक गोरखामा भूकम्प जाँदा सिन्धुपाल्चोक, गोरखामा बढी क्षति भयो, काठमाडौंमा कम; पश्चिमतिर भएन यी सबै कुराहरू जमिनको सतह, भूकम्पको गहिराइ जस्ता कुराले फरक पार्छ ।

(शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर थापासँग अनलाइनखबरका लागि जनक विष्टले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?