+
+

बैंक खाता एउटा हुनु राम्रो कि धेरैवटा ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ १२ गते १७:५६

काठमाडौं । अहिलेको समयमा बैंक खाता नहुने व्यक्ति सायदै होलान् । अझ बालबालिकाको समेत खाता खोलिदिने चलन बढ्दो छ । बैंक खाता एउटा मात्रै होइन धेरैवटा हुने व्यक्ति पनि निकै छन् ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेटबाट कारोबार बढ्दै जाँदा झन् बैंक खाताको महत्व बढेको छ । यस्तोमा एउटा मात्रै बैंक खाता हुनु राम्रो कि धेरैवटा बैंकमा खाता हुनु ? भन्ने प्रश्न पनि धेरैको मनमा आउन सक्छ ।

हुन त यो व्यक्तिको इच्छा र आवश्यकतामा पनि भर पर्ने कुरा हो । कोही धेरैवटा खाताको व्यवस्थापन गर्न झन्झट लागेर एउटा मात्रै खाता सजिलो मान्छन् भने कसैलाई अहिलेको डिजिटल कारोबारका लागि धेरैवटा खाताले सहज गराएको हुन सक्छ ।

नेपाल इन्भेन्टमेन्ट मेघा बैंकका उपप्रबन्धक मनोज श्रेष्ठ अहिले एउटै बैंक खाताबाट सबै कारोबार हुने गरे पनि आवश्यकता अनुसार धेरैवटा बैंकमा ग्राहकले खाता खोल्ने गरेको बताउँछन् । ‘एक व्यक्तिले एउटा बैंकमा मात्र खाता खोले पुग्छ,’ उनी भन्छन्, ‘खाता खोलेपछि मोबाइल बैंकिङ, चेक, डेबिट कार्ड लिनुपर्ने हुन्छ । धेरैवटा बैंकमा खाता खोल्दा यी कुराको थप पैसा तिर्नुपर्छ ।’

तर पनि कहिलेकाहीं आवश्यकताले धेरै खाता खोल्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । बचत गर्ने, तलब आउने, लगानी गर्ने छुट्टाछुट्टै खाता हुँदा हिसाबकिताबका लागि सजिलो पनि हुन सक्ने उनी बताउँछन् । ‘त्यसमाथि डिजिटल सेवा बैंकअनुसार फरक पर्ने हुँदा त्यसको पनि लाभ उठाउन सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैगरी ब्याजदर र बीमाको सुविधा पनि फरक-फरक लिन सकिन्छ ।

तर धेरैवटा बैंक खातालाई व्यवस्थापन गरेर राखिरहन भने झन्झट हुन सक्ने उनी बताउँछन् । ‘यदि कुनै बैंकमा ५०० रुपैयाँ न्यूनतम बचत हुनुपर्ने सिस्टम छ र अर्को बैंकमा पनि त्यस्तै छ । चारवटा बैंक खाता छ भने दुई हजार रुपैयाँ त त्यत्तिकै रहने भयो,’ उपप्रवन्धक श्रेष्ठ भन्छन्, ‘नियमित चलाउने त एक वा दुईवटा मात्रै खाता हुन्छ । त्यसैले हरेक खाताको व्यवस्थापन गरिराख्ने झन्झट चाहिं हुन्छ ।’

अर्को कुरा धेरै रकम दुई वा दुईभन्दा बढी बैंकमा राख्दा जोखिम कम हुने सम्भावना चाहिं हुने उनी बताउँछन् । कुनै बैंक डुब्यो भने त्यस्तो बेला बीमा रकम निश्चित हुन्छ । ‘जस्तै, कसैले १५ लाख रुपैयाँ बैंकमा राख्न चाहन्छ । एउटै बैंकमा सबै पैसा राख्यो र त्यो बैंक डुब्यो र यदि पाँच लाखको बीमा सिस्टम छ भने त्यति मात्रै सहजै पाउने भयो । तर त्यही रकम पाँच-पाँच लाख गरेर तीनवटा बैंकमा राख्दा त्यस्तो जोखिम कम हुन सक्छ,’ उनी भन्छन् ।

यद्यपि बैंक डुबिहालेमा सर्वसाधारणको रकमको जिम्मा राष्ट्र बैंकले लिने भएकाले आत्तिनु चाहिं नपर्ने उनी बताउँछन् ।

एउटा मात्रै खाता छ भने दिनहुँको कारोबार विवरण हेर्न, आम्दानी र खर्च केलाउन सहज हुन्छ भने फरक सुविधाको प्रयोग गर्न बहुखाता पनि उपयोगी नै हुने श्रेष्ठ बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?