+
+

काभा वुमन्स च्यालेन्ज कप : नेपाल फाइनल पुग्न असफल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २०:२३

१२ जेठ, काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ ।

सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो ।

पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालको पुनरागमन लोभलाग्दो रह्यो । क्रमश: २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन थियो । चौथो सेटमा नेपालको लय बिग्रियो ।

सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।

सेन्ट्रल एसियन भलिबल संघले यस संस्करणमा क्याटागोरी ए र बी टिमलाई एकसाथ गाभेर पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको हो । नेपालले क्याटागोरी बी का टिमहरु सम्मिलित प्रतियोगिताको उपाधि यसअघि दुईपल्ट जितेको थियो ।

काजाकस्तान र भारत काभामा क्याटागोरी ए का टिमहरु हुन् । एसियाली वरीयतामा काजाकस्तान पाँचौं र भारत आठौं स्थानमा छन् । यी दुईले यो प्रतियोगिताको फाइनल खेल्ने भएका छन् ।

शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?