+
+
मिस नेपाल वर्ल्ड सृच्छा प्रधानसँग संवाद :

‘सौन्दर्य प्रतियोगिता शरीरको आकार र तौलको मापन मात्र होइन’

‘हजुरबुवाको सल्लाहमा मिस नेपालमा भाग लिएँ’

मिस नेपालबाहेक उनको जीवनको लक्ष्य चाहिं वातावरणसम्बन्धी संस्था खोल्ने हो । ‘अबको १० वर्षमा यो गर्न सक्छु कि भन्ने लागेको छ, जसले बालबालिका र महिलालाई उद्यमशील बन्ने प्रेरणा देओस्,’ उनी भन्छिन्, ‘अहिलेलाई त म आफू कसरी स्थापित हुने भन्नेतर्फ छु ।’

विष्णु शर्मा विष्णु शर्मा
२०८० जेठ १७ गते १४:२९

काठमाडौं । मिस नेपालको ताज पहिरिएको भोलिपल्ट बिहान सृच्छा प्रधानले इन्स्टाग्राममा लेखिन्, ‘म सगरमाथा भन्दा अग्लो हुन गइरहेको छैन, म सबै मान्छेजस्तै समान हुँ ।’ उनको यो पोस्टमा सयौंले उनको दयालु मनप्रति माया दर्शाएका छन् । मिस नेपाल वर्ल्डको उपाधि जितेपछिको पहिलो अन्तर्वार्तामा पनि उनले अनलाइनखबरसँग प्रकृति, करुणा र स्नेहको कुरा बाँडिन् ।

यति मात्र होइन, ग्राण्ड फिनालेको स्टेजमै उनको पहिलो भनाइ थियो, ‘बाहिर जानुस् र लामो श्वास फेर्नुस्, अनि करुणा फैलाउनुस् ।’ झट्ट सुन्दा गहिरो अर्थ लाग्ने यी अभिव्यक्ति यस वर्षकी मिस नेपाल सृच्छा प्रधानको हो । २३ वर्षीया यी सुन्दरी जलवायु अभियन्ता र विद्यार्थी हुन् । मिस नेपाल हुनु सात महिनाअघि अमेरिकाको न्युयोर्कबाट नेपाल आएकी उनलाई सुन्दा लाग्छ, उनको विचारजस्तै आभा पनि सुन्दर र चम्किलो छ ।

हुन सक्छ यही कारण उनी आफूलाई तीन शब्दले परिभाषित गर्छिन्, ‘साथीहरुलाई हँसाउने, मान्छे र जीवजन्तुलाई बुझ्ने र समर्पित ।’ ताज पहिरिएको भोलिपल्टको ब्रेकफास्टमा पनि उनले जीवनलाई सम्झिइन् र महसुस गरिन् । ‘फस्ट ब्रेकफास्ट नै बिस्कुट थियो । मैले अहिलेसम्म लाइफलाई सम्झिए, महसुस गरें । सपना हो कि भनेर उठ्न खोजें । निकै उत्साहित भएँ,’ उनी सुनाउँछिन् ।

ताजलाई लिएर उनको आफ्नो बुझाइ छ । यसले आफूलाई नयाँ अर्थ दिएको रुपमा उनी व्याख्या गर्छिन् । ‘क्राउन पहिरिए पनि मैले यसलाई नजिकबाट नियालेकी थिइनँ । पछि हेर्दा यसमा धेरै सिम्बोल देखें । मैले नेपालका धेरै संस्कृतिलाई बोकेको महसुस भयो । मलाई रानी बनेको महसुस भएन । मेरा लागि यो प्लेटफर्म मात्र हो,’ सृच्छा भन्छिन् ।

उनले यो उपलब्धि हासिल गर्दाको संघर्ष कम्ता रोचक छैन । हुन पनि हरेक मिस नेपालका फाइनलिस्टलाई उपाधि नजिक पुग्दा दबाब हुनु स्वभाविक हो । टप फाइभमा पुग्दा उनी नर्भस थिइन् । ‘मैले केही पाउन प्रार्थना गरिरहेकी थिएँ । कतै जित्दिन कि भन्ने लागेको थियो तर म डिभर्ज छु भन्ने लाग्यो,’ उनी सुनाउँछिन् ।

सृच्छालाई लाग्छ, सौन्दर्य प्रतियोगिता भनेको शरीरको आकार र तौलको मात्र मापन होइन । बरु यो ज्ञान, अध्यात्म र करुणाको संगम पनि हो । ‘हामीले कति समयसम्म ब्युटी पेजेन्ट मात्र भनेर भन्यौ, तर यो पर्याप्त छैन । अब ब्युटी पेजेन्ट समुदायसँग पनि अझै जोडिनुपर्‍यो । समुदायले पनि बुझ्नुपर्‍यो ब्युटी हेर्न मात्र होइन, राम्रो काम गर्नका लागि पनि हो ।’

मिस नेपालको प्लेटफर्ममार्फत अहिलेको पुस्तामाझ जलवायुबारेको सचेतना जगाउने उनको उद्देश्य हो । यही कारण हजुरबुवाको आग्रहमा उनी मिस नेपालसँग जोडिइन् । ‘म नेपाल आएको ६-७ महिना भयो । मेरो हजुरबुवाले पत्रिकाको विज्ञापन देखाउनुभयो । मैले पनि काम गरेर देखाउनुपर्ने धेरै थियो । हजुरबुवाको सल्लाहमा अप्लाइ गरें । क्राउन पहिरिएर घर जाँदा देशकी छोरी आयो भन्नुभयो । मलाई त्यो क्षणमा कनेक्सन कति महत्वपूर्ण हुन्छ भन्ने बुझें,’ उनी भन्छिन् ।

साना कुरामा पनि सृच्छाको ‘एड्भोकेसी’ देखिन्छ । अनलाइनखबरसँग कुरा गर्दा पनि उनले लगाएको पहिरन विशुद्ध रेशादार र वातावरणमैत्री थियो । उनले जीवनशैलीमा पनि वातावरणमैत्री भावलाई अँगालेको देखिन्छ । प्लास्टिकको प्रयोग कसरी कम गर्नेदेखि लिएर लुगाहरुको पुनःप्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे उनी सचेत सुनिइन् । ‘मैले मेरो दिदीलाई मागेर थ्रिफ्ट गरेर, नेचुरल फाइबर लुगा लगाएकी छु,’ उनी खुलाउँछिन्, ‘संस्था, राजनीति हुँदै सरकारी तहसम्म पनि हामीले परिवर्तन ल्याउन सक्छौं ।’

उनी पूर्वमिस नेपाल श्रृंखला खतिवडालाई आफ्नो आदर्श मान्छिन् । उनकै अघिल्ला सामाजिक प्रोजेक्टबाट आफू प्रभावित भएको उनको भनाइ छ । उनले केही वर्षदेखि नै दिगो प्रणाली नामक परियोजना चलाइरहेकी छन् । वातावरण संरक्षण, बाल शिक्षा, उद्यमशीलताजस्ता पक्षलाई जोडेर उनले यो अभियान चलाएकी छन् । ‘आर्थिक पुनर्संरचनासँगै वातावरणीय संरक्षण गर्ने भनेर योजना बनाइएको प्रोजेक्ट हो त्यो । पहिलेका मिस नेपाल र विज्ञसँग छलफल गरेर गोल निर्धारण गर्दैछु यस वर्षभित्र । कम्युनिटीले सेलिब्रेट गर्ने प्रोजेक्टमा काम गर्ने इच्छा छ,’ उनी भन्छिन् ।

‘दिगो प्रणाली’लाई उनी आगामी विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको प्रोजेक्ट बनाउन चाहिन्छन् । ‘यसमार्फत महिला उद्यमशीलताको विकास, वातावरणीय शिक्षा, अल्पसंख्यक, बालबालिका शिक्षा, सबैको सामूहिक प्रभावबारे काम गर्न खोजेको छु । मेरो ज्ञान काठमाडौं सहर केन्द्रित हुनेछ । सहरी क्षेत्रमा मलाई निकै रुचि छ । तर यसका लागि मान्छेको सोच नै चुनौती छ । समयभित्र काम गर्नछु,’ सृच्छाले योजना सुनाइन् ।

मिस नेपालबाहेक उनको जीवनको लक्ष्य चाहिं वातावरणसम्बन्धी संस्था खोल्ने हो । ‘अबको १० वर्षमा यो गर्न सक्छु कि भन्ने लागेको छ, जसले बालबालिका र महिलालाई उद्यमशील बन्ने प्रेरणा देओस्,’ उनी भन्छिन्, ‘अहिलेलाई त म आफू कसरी स्थापित हुने भन्नेतर्फ छु ।’ यसबाहेक उनको रुचि गीत लेख्नु र गाउनु पनि हो । मिस नेपालको ट्यालेन्ट राउण्डमा पनि गीत गाएर उनले सबैको मन जितेकी थिइन् । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले गीत गाएर प्रतिभा प्रस्तुत गरिन् ।

‘आउँदो वर्षसम्म गीत रेकर्ड गरेर सार्वजनिक गर्ने प्लानमा छु,’ सृच्छाले योजना सुनाइन् । कुराकानी टुंग्याउँदै शुभचिन्तकलाई सृच्छाले सुझाइन्, ‘मेरो मेरो यात्रा बल्ल सुरु भएको छ । पहिलो पाइला चालेकी छु । बाहिर जानुस् र लामो सास फेर्नुस् भन्न चाहन्छु । नजिकको चराचुरुंगी र जनावरलाई सुनिदिनुस् । सेकेण्ड स्टेपबारे पछि सोच्नुपर्ला ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?