+
+

होमवर्क र परीक्षाको कर्मकाण्डले बालबालिकालाई पढाइबाट भगायौं

अञ्जु भट्टराई अञ्जु भट्टराई
२०८० जेठ १७ गते १४:०१

बालबालिकाको मूल स्वभाव के हो ? नयाँ कुरा देख्नासाथ उत्सुक हुने । जब हामी उनीहरुलाई विद्यालयको पुस्तक दिन्छौं, तब उनीहरुले त्यहाँ के छ भनेर अधैर्यसाथ हेर्नुपर्ने हो । तर विद्यालयको पुस्तक हेर्न उनीहरु किन त्यति रुचि गर्दैनन् ?

शिक्षकले कुनै कुरा भनिरहँदा उनीहरुले चाख मानेर सुन्नुपर्ने हो । तर कक्षाकोठामा शिक्षकले पढाइरहँदा किन पट्यार मान्छन् ? नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ दौतरी देख्दा उनीहरु उत्साहित हुनुपर्ने हो । तर किन विद्यालय प्राङ्गणमा टेक्नासाथ बच्चाहरु खिन्न हुन्छन् ?

समस्या बालबालिकामा छैन, हाम्रो पठन विधिमा छ । बच्चाहरु त्यसै पनि नयाँ कुरा जान्न, हेर्न, बुझ्न उत्साहित हुनुपर्ने हो । यद्यपि पुस्तक, पढाइ र विद्यालयप्रति उनीहरुमा त्यस्तो आकर्षण छैन । बरु पढाइबाट उनीहरु भाग्दैछन् । यो मेरो भनाइ होइन, हाम्रो विद्यालयको भर्नाको पिरामिडले देखाउने तथ्य हो ।

कहाँ गायब हुँदैछन् विद्यार्थी ?

हामीकहाँ २७-२८ हजार विद्यालय छन् । बर्सेनि कक्षा एकमा भर्ना हुँदा विद्यार्थीको संख्या १२- १३ लाख हुन्छ । एसईईसम्म आइपुग्दा त्यो संख्या घटेर ५-६ लाख हुन्छ । इन्टरमिडिएट लेभलमा आइपुग्दा २-३ लाखमा झर्छ । त्यसपछि स्नातक, स्नातकोत्तरमा क्रमशः विद्यार्थी संख्या पातलिंदै जान्छ ।

त्यतिका विद्यार्थी भर्ना भएका थिए कहाँ गायब भए ? यो संवेदनशील प्रश्न हो । यो पिरामिडले स्पष्ट देखाउँछ, हाम्रा बालबच्चा पढाइबाट निरन्तर भागिरहेका छन् । आखिर बालबच्चामा पढाइ भन्नासाथ यति धेरै वितृष्णा पैदा भयो त ? किनभने हामीले पढाउने तरिका मिलेन । हामीले पढाइलाई केवल घोक्नु भन्ने मनोविज्ञान निर्माण गरिदियौं । कुनै कुरा घोक्नु कुनै यातना भन्दा कम हुँदैन ।

उत्तर घोक्ने होइन, प्रश्न गर्ने शिक्षा

बालबालिकाले त घोक्ने होइन, स्वच्छन्द सिक्ने हो । यसरी सिक्नका लागि उनीहरुसँग डर होइन, प्रश्न हुनुपर्छ । उत्सुकता हुनुपर्छ । अनि बालबच्चामा उत्सुकता जगाउने काम हाम्रो हो । हामी शिक्षक, अभिभावकले बालबच्चामा उत्सुकता जगाउने हो ।

जब उनीहरु उत्सुक हुन्छन्, तब उनीहरुसँग प्रश्न हुन्छ । जब प्रश्न हुन्छ, तब उनीहरुसँग जान्ने तत्परता हुन्छ । यस किसिमको तत्परताले नै सिक्ने, जान्ने कुरामा आकर्षण बढाउँछ । हामीले गर्नुपर्ने यत्ति मात्र हो ।

तर हामीले बालबालिकालाई कक्षाकोठामा प्रवेश गरिरहँदा प्रश्न होइन, उत्तर घोकाउन लगाउँछौं । उनीहरु विद्यालयमा आउँदा त्यही तयारी उत्तर र डर बोकेर आउँछन् । जब उनीहरु यस्तो मनोदशा बोकेर विद्यालय आउँछन्, तब नयाँ कुरा के सिक्न सक्छन् ? नयाँ कुरा जान्ने, सिक्ने होइन बरु पढ्न नै दिक्क लाग्ने हुन्छ । उनीहरुका लागि किताब, कक्षाकोठा, शिक्षक सबै हाउगुजी हुन थाल्छ ।

होमवर्क र परीक्षाको आतंक

बालबालिकामा पढाइप्रति विकर्षण बढ्नुमा अर्को कारण हो, होमवर्क र परीक्षा पनि । विद्यार्थीले पढेका, जानेका, सिकेका कुरालाई आत्मपरीक्षण गर्नु राम्रो हो । तर यसको एउटै उपाय होमवर्क मात्र होइन ।

होमवर्क त अहिलेका विद्यालयहरुको कर्मकाण्ड नै भएको छ । टन्न होमवर्क दिएपछि विद्यार्थीहरु पढेको पढेकै गर्छन् भन्ने कंक्रिट मानसिकता व्याप्त छ । होमवर्क के हो, त्यसको जरुरत कति छ, किन छ, कसलाई छ ? भनेर हामीले कहिल्यै विमर्श गरेका छैनौं । अन्धाधुन्ध होमवर्क दिने परिपाटीलाई निरन्तरता दिएका छौं ।

होमवर्क दिने कर्मकाण्ड जस्तै भएको छ परीक्षा प्रणाली पनि । विद्यार्थीलाई सिकाएको, बुझाएको कुरा कति जाने, कति जानेनन् भनेर जाँच्नुपर्छ । तर यसरी जाँच्ने विधि वैज्ञानिक हुनुपर्छ । विद्यार्थीले के कस्तो प्रगति गरिरहेको छ भने जुन ढर्रामा हामी परीक्षा लिने गर्छौं, त्यसले समग्रमा उनीहरुको क्षमता तौलिन सकिंदैन । किनभने विद्यार्थीको क्षमता उनीहरुको लेखाइबाट मात्र जाँच्ने होइन । घोकेको कुरा लेख्दैमा कोही अब्बल वा कोही कमजोर पनि हुँदैनन् । खासमा त उनीहरुको सिकाइको स्तर कस्तो छ ? कसरी बुझिरहेका छन्, बुझेको कुरालाई कसरी व्यावहारिक जीवनमा उपयोग गरिरहेका छन् भनेर चौतर्फी मूल्यांकन गरिनुपर्छ ।

तर बच्चाको सर्वाङ्गीण विकासलाई ध्यान नदिई केवल उनीहरुले कुन कुन पाठ घोकेका छन् भनेर मात्र परीक्षा लिइरहँदा त्यसले बच्चामा पढाइप्रति नै विकर्षण बढायो । परीक्षा र होमवर्कको कारण उनीहरु तर्सिने, आत्तिने भए । डिप्रेसन, एन्जाइटी समस्या ल्याइदियो ।

परीक्षामा पास हुनैपर्ने दबाबले, होमवर्क गर्नैपर्ने बाध्यताले बच्चालाई भोलिपल्ट विद्यालय जाउँ जाउँ हुँदैन । विद्यालय, कक्षाकोठा, शिक्षक, पुस्तक सम्झनासाथ उनीहरुलाई डर लाग्न थाल्छ । फिनल्याण्डको शिक्षा प्रणाली विश्वमै अनुकरणीय छ । त्यहाँ न होमवर्कको हाउगुजी छ, न परीक्षाको परिबन्ध नै ।

शिक्षाको सार, विवेक र दक्षता 

पढ्नु भनेको के हो ? किन विद्यालय जाने ? किन पाठ्यपुस्तक पढ्ने ? किन परीक्षा दिने ? हामी धेरैसँग एउटै भ्रम छ, पास हुन । पास किन हुने ? जागिर खान ।

पढाइको सार होइन जागिर । पढ्नु भनेको आफूसँग भएको जन्मजात गुण र प्रतिभालाई मलजल गर्नु हो । जीवन र जगतलाई बुझ्नु हो । आफूमा सद्गुण विकास गर्नु हो । विवेक, ज्ञान, शिल्प र सीपले आफूलाई पूर्ण बनाउनु हो ।

पढेर पाइलट, डाक्टर बन्नुपर्छ भन्ने छैन । बरु, विवेकशील बन्न जरुरी छ । सामाजिक र मानवीय गुणले युक्त हुन जरुरी छ । जब हामीमा यी गुणहरु हुन्छन्, तब जीवनलाई सुन्दर र अर्थपूर्ण बनाउन सक्षम हुन्छौं ।

पढाइ मात्र होइन, विश्राम पनि

हामीकहाँ शनिबार बिदा दिइन्छ । कतिले त शनिबार पनि अतिरिक्त कक्षा सञ्चालन गर्छन् । अनि बालबच्चाहरु पढाइ, पढाइ, पढाइ भन्दा बाहिर उम्किन पाउँदैनन् ।

तर एकोहोरो पढाइ रहँदा बालबच्चा जान्ने, बुझ्ने, ज्ञानी हुन्छ भन्ने होइन । वास्तवमा विद्यालय र पढाइ मान्छेको सबैथोक होइन । त्यो त एउटा पाटो मात्र हो । त्यसबाहेक उनीहरुसँग परिवार हुन्छ, पारिवारिक मूल्य र संस्कार हुन्छ, समाज हुन्छ, साथीभाइ एवं आफन्त हुन्छ ।

हरबखत कक्षाकोठामा मात्र थुनिंदा उनीहरुले यी सबै कुरा गुमाउन पुग्छन् । आफन्त, नातागोता नै नचिन्ने हुन्छन् । सामाजिक जीवन ध्वस्त हुन्छ । पारिवारिक संस्कारबाट विमुख हुन्छन् ।

त्यसैले पढाइलाई एक ठाउँमा राखेर उनीहरुले आफ्नो लागि पनि समय दिनुपर्छ । उनीहरुलाई घरमा घुलमिल गर्ने, आमाबुवासँग बातचित गर्ने, साथीभाइसँग खेल्ने, सामाजिक भोजभतेरमा सामेल हुने, मनोरञ्जन गर्ने समय एकदमै जरुरी हुन्छ । किनभने जीवनको ठूलो पाठ भनेकै परिवार र समाज हुन् । त्यसलाई अलग गरेर कुनै पनि बच्चाको सर्वाङ्गीण विकास हुँदैन ।

बच्चाका लागि आफ्नै व्यक्तिगत समय पनि जरुरी हुन्छ । उनीहरु त्यो समयमा मनोरञ्जन गर्न, चित्र कोर्न, नाच्न, खाना बनाउन जे पनि गर्न सक्छन् । आफ्नो रहर र रुचिलाई हुर्काउनका लागि उनीहरुले समय पाउनुपर्छ ।

हामीले हप्तामा दुई दिन बिदा पनि यही कारण दिएका छौं कि उनीहरुको पारिवारिक र सामाजिक जीवन नछुटोस् । बच्चालाई पढ, पढ मात्र भन्ने होइन । उनीहरुलाई साथीहरुसँग गफ गर्न, खेल्न पनि छुट दिनुपर्छ । एक्लै चित्र बनाएर बस्न, नाच्न पनि दिनुपर्छ । यसले गर्दा सही रुपमा उनीहरुको भावनात्मक, बौद्धिक विकास हुन पाउँछ ।

जरुरी छ अभिभावक शिक्षा

कति अभिभावक भनिरहेका हुन्छन्, ‘बच्चालाई धेरै पढाउँदा जान्ने हुन्छन् । जसरी हुन्छ धेरै पढाउनु, धेरै होमवर्क दिनु । घरमा पढ्दैन, कुटेर पढाउनु ।’

अब शिक्षा प्रणाली, सिकाइ विधिमा मात्र सुधारको जरुरी छैन, अभिभावकमा पनि छ । विद्यालय जानासाथ बच्चा ज्ञानी हुन्छन् । जति धेरै पढाइयो उत्ति नै जान्ने बुझ्ने हुन्छन् । उनीहरुलाई जसरी पनि पास गराउनुपर्छ भन्ने मानसिकता त्याग्न जरुरी छ ।

अहिलेका बच्चाहरु स्मार्ट छन् । उनीहरुसँग कुनै पनि जानकारी लिने अनेक माध्यम र तरिका छन् । हामीभन्दा धेरै कुरा उनीहरुलाई थाहा भइरहेको हुन्छ । यस्तो स्थितिमा हामीले गर्नुपर्ने भनेको सही मार्गदर्शन हो । सत्य, सही बाटोमा कसरी डोहोर्‍याउने भन्ने कुरा अहिलेको आवश्यकता हो ।

फलानोको छोराले जस्तो पढ्नुपर्छ, फलानोले जस्तो पास गर्नुपर्छ भन्ने धारणा त्यागेर अभिभावकले बच्चाको गुण, क्षमता पहिचान गर्नुपर्छ । उनीहरु के चाहन्छन् ? उनीहरुको रुचि र खुबी के छ ? त्यही अनुसार अभिभावकले उपयुक्त वातावरण दिनुपर्छ ।

अक्सर अभिभावक आफ्नो रुचि बच्चामा लाद्ने गर्छन् । आफ्नो अपेक्षा बच्चाबाट पूरा गराउन चाहन्छन् । यसले बच्चालाई भरिया बनाउँछ, पथप्रदर्शक होइन ।

(भट्टराई शिक्षाविद् हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?