+
+
अन्नपूर्ण दिवस :

जुन हिमालबाट आरोहण सुरु, त्यही हिमालको उपेक्षा !

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ २० गते १३:५७
अन्नपूर्ण दिवशको अवसरमा आयोजित कार्यक्रम ।

२० जेठ, पोखरा । फ्रान्सेली नागरिक मौरिस हर्जोगले ७३ वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । ८ हजार मिटर उचाइभन्दा माथि मानव पाइला पुगेको दिन हर्जोगसँग लुई लिचेनेल पनि सँगै थिए ।

अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछिमात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्षको जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुआत भएको थियो ।

हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहण झनै चर्चामा आयो । तर, जुन हिमालबाट नेपालको पर्वतीय पर्यटनको सुरुवात भयो, अहिले त्यही हिमाल उपेक्षामा परेको पर्यटन व्यवसायीको गुनासो छ । सन् २०२१ को तथ्यांकअनुसार जम्मा ३०९ जनाले मात्र अन्नपूर्ण आरोहण गरेका छन् ।

७३ वर्षअघि ‘अन्नपूर्ण प्रथम’ हिमालमा पहिलो मानव पाइला नपुगेको भए नेपालको पर्वतीय पर्यटन विस्तारमा अझै ढिलाइ हुने बताउँछन्, नेपाल पर्वतारोहण संघ अध्यक्ष निमा नोरु शेर्पा । उनका अनुसार नेपालको पर्वतारोहण अहिले विश्वमाझ लोकप्रिय हुनुको पछाडि त्यही ७ दशकअगाडिको अन्नपूर्णको सफल आरोहण नै प्रमुख प्रस्थानविन्दु हो ।

‘आज विश्वका जुनसुकै कुनामा जाँदा पनि नेपालीको हाइहाई हुन्छ । हिमालको देशको नागरिक भनेर चिनिन्छौं’, शेर्पा भन्छन्, ‘तर, यो सबै एक्कासी भएको भने होइन । सजिलो गरी यहाँसम्म आइपुगेका होइनौं, यसको सुरुवात नै अन्नपूर्ण प्रथम हो ।’

पर्यटन व्यवसायी तथा पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्मा पनि अन्नपूर्णमा मानव पाइला पुग्नु नै नेपालको पर्यटन व्यवसाय विस्तारका लागि कोशेढुंगा सावित भएको बताउँछन् । ‘त्यसैले अन्नपूर्णलाई जेठो हिमाल पनि भन्छौं । त्यहाँ मानव पाइला पुग्नु नै पर्यटनका लागि कोशेढुंगा सावित भयो’, भन्छन्, ‘गण्डकी प्रदेशको पर्यटनको आधार पनि अन्नपूर्ण नै हो ।’

गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला हिमालमात्रै ३ वटा छन् । त्यसमध्ये सबैभन्दा बढी गोरखामा रहेको मनास्लु हिमालमा धेरै आरोहीको आकर्षण छ । जुन हिमाबाट देशमै पर्वतारोहण सुरुआत भयो त्यही हिमाल उपेक्षामा पर्दा भने पर्यटन व्यवसायी निराश छन् ।

शनिबार नेपाल पर्वतारोहण संघ गण्डकीले पनि अन्तक्र्रिया कार्यक्रम गर्दै पोखरामा ७३ औं अन्नपूर्ण दिवस मनाएको थियो । सोही कार्यक्रमका वक्ताले गण्डकीको पर्यटन विकासका लागि पनि अन्नपूर्ण आरोहणलगायत उक्त क्षेत्रका हिमाल आरोहण सहज बनाउनुपर्ने माग राखे ।

‘अन्नपूर्ण सफल आरोहण भएको ३ वर्षपछिमात्रै चढिएको सगरमाथामा अहिले दिनमै २ सय ५० जना बढी चढेर जाम हुन्छ । तर, अन्नपूर्ण चढिएको ७३ वर्ष पुग्दा पनि हालसम्म ५ सय जना पनि कटेका छैनन्’, पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शर्माले भने, ‘अन्नपूर्णलाई किन किलर माउन्टेन भनियो बुझ्न सकेका छैनौं ।’

हिमाल आरोहणमा आरोहीको रुचि बढाउन स्थानीयको जनजीवन पनि हिमालसँग प्रत्यक्ष जोड्नुपर्ने धारण शर्माको छ । ‘मनास्लु हिमाल आरोहणमा आरोहीको रुचि बढ्नुको पछाडि त्यहाँ हिमालको फेदमा स्थानीयको चासो छ । उनीहरुको जनजीवन हिमालसँगै जोड्न सकिएको छ’, उनले भने, ‘तर, यता (अन्नपूर्ण क्षेत्र) मा स्थानीयलाई हिमाली पर्यटनसँग जोड्न नसकेको पो हो कि ?’

पर्यटन व्यवसायी लक्की कार्की पनि गण्डकीको पर्यटन व्यवसायको मुख्य आधार नै अन्नपूर्ण हिमाल भएको बताउँछिन् । ‘अन्नपूर्णबाटै गण्डकीको पर्यटन उदय भएकाले अन्नपूर्ण केवल हिमाल होइन, यो यहाँको अन्नदाता पनि हो’, उनले भनिन् ।

०७८ वैशाख २ गते पहिलो पटक नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको थियो । गएको वैशाख २ गते कतार राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले कीर्तिमानी आरोही निर्मल पूर्जाहरुसँगै अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा पर्वतीय पर्यटनलाई सरकारले चिन्न सके नेपालले कसैसँग हात फैलाउनु नपर्ने बताउँछन् । ‘कुनैबेला पर्यतीय पर्यटनले महत्व पाएकै थिएन । तर, अहिले नेपालको परिचय नै यही बनेको छ’, उनी भन्छन्, ‘यसमा कसैको भर पर्नुपर्दैन, अरु प्रतिस्पर्धी छैनन् । सरकारले चिन्यो भने पर्वतीय पर्यटन नै नेपालीको आफ्नै पेशा हुन्थ्यो ।’

गण्डकी प्रदेश सामाजिक विकासमन्त्री सुशीला सिम्खडा अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा हाम्रो चासो छ’, उनले भनिन् ।

सबैको चिन्ता पग्लिरहेको हिमाल

गण्डकीमा पहिलो पटक महिला पथप्रदर्शक उत्पादन गरेर हिमाली चिनाउँदै हिँडेकी लक्की कार्कीमा अब पहिलेजस्तो ऊर्जा छैन । उनले देखेका हिमाल र पदमार्ग अब विस्तारै हराउँदै जान थालेको छ । सेताम्मे हिमालहरु कालापत्थरमा परिणत हुँदैछन् ।

‘कुनैबेला यसमा राम्रो भविष्य देखेरै महिला ट्रेकिङ गाइड सुरु गरेका थियौं । तर, अहिले क्लाइमेट चेन्जले हामी पर्यटन व्यवसायी विस्तारै धरापमा पर्दै गइरहेका छौं’, कार्कीले भनिन्, ‘अहिले हिमाल पग्लिने, हिमपहिरो जाने डर बढेर गएको छ ।’ अब उनले सबै मिलेर जलवायु परिवर्तन रोक्न काम गर्नुपर्ने बताइन् ।

५० वर्षदेखि हिमालसँग नजिक रहेर काम गरिरहेका निमा नुरु शेर्पा हिमाल आरोहण गतिविधिमा पछिल्लो समय परिवर्तन हुँदै गइरहेको अनुभव सुनाउँछन् । विगतमा हिमाल चढ्नेमात्रै मुख्य विषय हुने तर, अहिले हिमाल आरोहणसँगै जलवायु परिवर्तनको पनि विषय आउने गरेको उनी बताउँछन् ।

‘हिमाल आरोहणको अहिले हामी चौंथो पुस्तामा छौं । हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो, कुनै समस्या थिएन’, शेर्पा भन्छन्, ‘तर, अहिले आरोहणसँगै हिमालमा फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?