+

स्वप्नदोष हुनु कुनै समस्या हो ?

२०८० जेठ  २१ गते १३:५८ २०८० जेठ २१ गते १३:५८
स्वप्नदोष हुनु कुनै समस्या हो ?

किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । तर उनीहरुले यसलाई स्वभाविक मानिरहेका हुँदैनन् । उनीहरु भित्रभित्रै डराइरहेका हुन्छन्, कतै यो जटिल यौनरोग त होइन ?

किनभने यौनका कतिपय समस्या खुलेर बताउने परिपाटी हामीकहाँ छैन । त्यसैले आफ्नो समस्या आफैंभित्र गुम्साउने गरिन्छ । नतिजा, यसले उनीहरुमा थप डर, ग्लानि, आशंका पैदा हुन्छ । स्वप्नदोषलाई लिएर अधिकांश किशोर एवं युवा यस्तै मनोदशाबाट गुज्रिने गर्छन् ।

के हो स्वप्नदोष ?

सुतेको अर्थात् निदाएको बखत वीर्यस्खलन हुनु नै स्वप्नदोष हो । खासगरी किशोरावस्थामा स्वप्नदोष बढी हुन्छ । यतिबेला यौनप्रति चाहना र आकर्षण बढ्छ । यस्तोमा निद्राको समयमा यौन क्रियाकलापमा स्वयं सहभागी भएको वा यौनको परिकल्पना गर्दा वीर्य स्खलन हुन सक्छ ।

हार्मोनको परिवर्तन र त्यससँगै यौनबारे उत्सुकता, परिकल्पना निद्रामा भएसँगै वीर्य स्खलन हुने हुँदा यसलाई स्वप्नदोष भनिएको हो ।

के यो समस्या हो ?

स्वप्नदोष भनिए पनि यो कुनै प्रकारको दोष होइन । यसलाई सामान्य र स्वभाविक यौन व्यवहार मानिन्छ । मान्छेको मनमा रहेको यौनजन्य प्रतिक्रिया हो यो । त्यसैले स्वप्नदोष हुँदैमा डराउनुपर्दैन ।

किन हुन्छ ?

उमेरअनुसार यौनांगको विकास र त्यसलाई लिएर हुने मनोभाव विकास, विपरीत लिंगीप्रतिको आकर्षण, हार्मोनल परिवर्तन, यौनेच्छा दबाउने कारण स्वप्न दोष हुन्छ । त्यस्तै यौनजन्य भिडियो हेर्ने बानीले पनि स्वप्न दोष हुने सम्भावना हुन्छ ।

स्वप्नदोषले केही असर गर्छ ?

शारीरिक रुपमा वा प्रजनन् स्वास्थ्यका हिसाबले यसको कुनै असर छैन । अर्थात् यसले कुनै हानि गर्दैन । तर मनोवैज्ञानिक रुपमा असर गर्न सक्छ । किनभने स्वप्नदोष भए पनि कतिपयलाई यो के हो र किन भइरहेको छ भन्ने थाहा हुँदैन । स्वप्नदोष भएमा त्यसबारे प्रश्न सोध्ने वा खुला छलफल गर्ने प्रवृत्ति छैन । त्यसैले उनीहरुले यस्तो समस्या आफैंसँग लुकाउँछन् ।

कुनै यौनरोग लागेको हो कि ? सधैंभरि यस्तै भइरहन्छ कि ? यसैको कारण निःसन्तान भइने हो कि ? भन्ने जस्ता अनेक आशंकाले उनीहरुलाई दुःखी र बेचैन बनाइदिन्छ । त्यही कारण उनीहरुको मनोदशा बिग्रिन्छ, दैनिक काममा पनि यसको असर पर्छ ।

जरुरी छ जानकारी

किशोरावस्थामा हुने सामान्य शारीरिक परिवर्तनबारे जानकारी गराउनु जरुरी छ । त्यस चरणमा के कस्ता शारीरिक वा भावनात्मक उथलपुथल हुन सक्छ भन्ने कुरालाई खुलस्त बताउनुपर्छ । यसले गर्दा उनीहरुलाई आफ्नो शरीरमा भइरहेको कुनै पनि परिवर्तनलाई सहज रुपमा लिन सक्ने स्थिति बन्छ ।

यो कुरा अभिभावक, शिक्षकहरुले पनि बताउनुपर्छ । किनभने यो सामान्य समस्या लागे पनि यसले उनीहरुको मनोविज्ञानमा नराम्रो असर गरिरहेको हुन्छ । विद्यालय शिक्षामा पनि यस  किसिमको विषयलाई समावेश गर्नु जरुरी छ ।

अधिक यौन चाहना राम्रो होइन

स्वप्नदोष हुनुको सम्बन्ध मान्छेको यौन चाहनासँग जोडिन्छ । यौनप्रति चाहना र आकर्षण हुनु एक प्राकृतिक प्रक्रिया हो । तर हरेक कुराको सीमा भए झैं यसका पनि निश्चित सीमा छन् । हरक्षण यौनकै बारेमा सोच्नु, यौनजन्य गतिविधिको कल्पना गर्नु, यौनजन्य सामग्री हेर्नु राम्रो होइन । यसले उनीहरुमा यौनकुण्ठा बढाउने मात्र होइन, नियमित दिनचर्यामा नै असर गर्छ ।

आफ्नो काम, कर्तव्य, जिम्मेवारीबाट उनीहरु क्रमशः अलग हुन्छन् । यौनजन्य कुरामा लिप्त भएर आफ्नो महत्वपूर्ण समयलाई नष्ट गर्न पुग्छन् ।

स्वप्नदोषको उपचार हुन्छ ?

स्वप्नदोषको कुनै उपचार हुँदैन । यसबाट विमुख हुन स्वस्थ मनोरञ्जनमा ध्यान दिनुपर्छ । दैनिक व्यायाम, सही खानपान र सार्थक दिनचर्याले पनि यसमा सकारात्मक परिवर्तन ल्याउँछ । यौनजन्य कुरा र गतिविधिबाट अलग हुनुपर्छ ।

(डा. कार्की पाटन अस्पतालका मनोचिकित्सक हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित) 

स्वप्नदोष स्वास्थ्य
लेखक
डा. बासुदेव कार्की, मनोचिकित्सक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय