+

के पाइन्छ कफीमा ?

२०८० जेठ  २५ गते १३:०६ २०८० जेठ २५ गते १३:०६
के पाइन्छ कफीमा ?

काठमाडौं । कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् ।

अधिकांश कफी पारखीको भनाइ हुन्छ, ‘कफीमा जादू नै त्यस्तो हुन्छ, पिउने बानी परेपछि एकछिन नपिएमा तलतल लाग्ने । दिनको एक कप नपिए शरीरको फूर्ति नै हराएको जस्तो हुन्छ ।’

उनीहरुलाई यस्तो लाग्नु स्वभाविक नै भएको जनरल फिजिसियन डा. उदय सिंह बताउँछन् । ‘कफी दिनमा तीन-चार पटक खाने बानी छ भने बिस्तारै लतमा परिणत हुँदै जान्छ । त्यसैले एक दिन नखाँदा पनि तलतल गराउँछ र खाने वातवारण नहुँदा शरीर शिथिल भएको अनुभव गराउँछ,’ उनी भन्छन् ।

यस्तोमा प्रश्न आउँछ, खासमा कफीमा त्यस्तो के पाइन्छ, जसको कमी हुँदा व्यक्तिलाई तलतल नै लाग्छ ?

डा. सिंह भन्छन्, ‘कफीमा क्याफिनको मात्रा अत्यधिक हुन्छ । क्याफिन शरीरले नियमित रुपमा ग्रहण गरिरहेको छ भने यसको लत लाग्ने गर्छ । दिमागलाई पनि यसको स्वादको बानी पर्छ । एकदिन पनि नखाँदा शरीरलाई के नपुगेको जस्तो अनुभव हुन्छ ।’

यो लत अहिले संसारभर नै छ । एक अध्ययनअनुसार विश्वभरका मानिसले हरेक दिन लगभग दुई लाख २५ हजार बिलियन कप कफी पिउँछन् । ‘कुनै पनि लत बस्नु कुलत नै हो भन्दा फरक नपर्ला । कफीको लत पनि त्यस्तै हो । कफीको लत बस्यो भने त्यो बिना बस्न नसक्ने अवस्था हुन्छ, डा. सिंह भन्छन्, ‘शरीरले अत्यधिक मात्रा कफी वा क्याफिन नै खोज्छ । यो स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन ।’ त्यसैले लत लागेमा विस्तारै त्यसको मात्रा घटाउँदै लैजानुपर्ने उनी सुझाउँछन् । किनकि सही मात्रामा पिउन सके यसका धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

कफीले के फाइदा गर्छ ?

मस्तिष्कलाई एकाग्रता, शरीरमा स्फूर्ति 

डा. सिंहका अनुसार कफी पिउने बानीले मस्तिष्कलाई एकाग्र बनाउन सहयोग गर्छ । त्यसैले दिमाग धेरै खेलाएर काम गर्ने कवि, लेखक, कार्यालयमा काम गर्ने कर्मचारीले कफीलाई साथीजस्तै बनाएका हुन्छन । उनीहरु कफी नखाई दिमागमा आइडिया नफुर्ने तर्क राख्छन् ।  ‘यसमा हुने उच्च एन्टिअक्सिडेन्ट, क्याफिनले मस्तिष्कलाई फाइदा पुर्‍याउँछ,’ उनले भने । दिनहुँ तीन कप जति कफी खाँदा शरीरलाई जागरुक र फूर्तिलो बनाउने उनी बताउँछन् ।

जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको एक अध्ययनले कफीमा क्याफिनको मात्रा उच्च हुने र केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित बनाउने उल्लेख गरेको छ ।  नतिजामा यसले थकानसँग लड्न र ऊर्जाको स्तर बढाउन सहयोग गर्ने देखिएको छ । त्यसैले कफी पिउनासाथ कतिपयले शरीरमा बेग्लै फूर्ति बढेको महसुस गर्छन् । यद्यपि धेरै क्याफिन शरीरका लागि हानिकारक छ ।

मधुमेहका लागि उपयोगी

कफी पिउनेलाई टाइप-२ मधुमेहको जोखिम कम हुन सक्छ । तर कफी पिउँदा चिकित्सकको सल्लाहमा खानु राम्रो हुने उनको सुझाव छ । सन् २०१४ मा भएको एक अध्ययनलाई आधार मानेर निकालेको निष्कर्ष अनुसार चार वर्षभन्दा बढी प्रतिदिन कम्तीमा एक कप कफी पिउने मानिसलाई टाइप-२ मधुमेहको ११ प्रतिशत कम जोखिम हुन सक्छ ।

टाउको दुखाइ कम

कफी खाने व्यक्तिलाई टाउको दुखेको छ भने राहत महसुस गराउन सक्छ । त्यसैले कुनै पनि शल्यक्रियापछि बिरामीलाई टाउको दुख्ने समस्या देखिएमा चिकित्सकले कफी खान सुझाउने गरेको डा. सिंह सुनाउँछन् ।

कलेजोलाई फाइदा

कलेजोलाई स्वस्थ राख्न कफी खानु उपयोगी हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल बताउँछन् । ‘कफीमा पाइने क्याफिन, एन्टिअक्सिडेन्ट र अन्य यौगिकले कलेजो सुन्निएको समेत कम गर्नमा ठूलो भूमिका खेल्छ,’ उनी भन्छन्, ‘कलेजोको समस्या भएमा दिनको दुई-तीन पटक खान सिफारिस गर्छौंं ।’ कलेजोमा बोसोको समस्या हुनेका लागि पनि तीन कप कफी स्वास्थ्य सुधारमा सहयोगी हुने अध्ययनले पनि देखाएको उनको तर्क छ । त्यसबाहेक दिनको दुई कप कफी खाने बानीले अल्जाइमरका बिरामीलाई राहत दिने गर्छ ।

सीमितभन्दा बढी पिए हानि

कफीलाई पिउन जाने अमृत र नजाने विष बन्न सक्ने डा. सिंह बताउँछन् । तर दैनिक तीन कपभन्दा बढी कफी पिउँदा शरीरमा क्याफिनको मात्रा बढ्छ, जुन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । अत्यधिक कफी खाँदा अनिद्राको समस्या, छटपटी हुने, बेचैनी हुने, पेटसम्बन्धी समस्या नित्याउने डा. सिंह बताउँछन् ।

ग्यास्ट्रिकको समस्या बढाउँछ

ग्यास्ट्रिकका समस्या भएकाले कफी पिउन नहुने डा. पौडेल बताउँछन् ।  क्याफिनले पेटमा हुने पातलो झिल्लीलाई दखल दिन्छ, जसले अम्ल अत्यधिक बढाउँछ । जसकारण डकार आउने, पेट ढुस्स हुने, पेट फुल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट पोल्नेजस्ता समस्या हुने डा. पौडेल बताउँछन् । ‘त्यति मात्र होइन दूध हालेको कफी त ग्यास्ट्रिकको समस्या भएकाहरुको शत्रु नै हो । दूधमा पहिला नै ग्यास्ट्रिक गराउने तत्व हुन्छ, त्यसमा क्याफिन पनि मिसिएको पेयले पेटसम्बन्धी समस्यालाई बढावा दिन्छ,’ उनी भन्छन् ।

कफी पेय पदार्थ स्वास्थ्य
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?