+
+

खेतमै सुके मकै, राख्न सकिएन धानको ब्याड

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ २८ गते २१:१३

२८ जेठ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–९ की सुभद्रा बिकको ६ कठ्ठा खेत र बारीमा मकैको बोट खडेरीका कारण सुकेको छ । भरिलो मकै भाँचेर घर भित्र्याउने बेला भर्खरै घोगा लागेका बोट सुकेपछि यो वर्ष के खाने भन्ने चिन्ता छ उनलाई

‘न मकै भित्र्याउन पाइयो न मकैको बोट र पात घाँस खुवाउन पाइयो’, उनी भन्छिन् ‘धानको बीऊ राख्न पाइएन, मकै खेतमै सुकेको छ । यसपालि खान त पाइन्छ ?’

उनीजस्ता धेरै किसानको मकै खडेरीका कारण सुकेको छ, असारमा रोपाईं गर्नका लागि धानको ब्याड राख्न पाएका छैनन् । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ बिरुवाका किसान देवीराम पोखरेल मकैं रोपेपछि परेको खडेरीका कारण आधा उम्रिएको र आधा किराले खाएको बताउँछन् । अहिले फेरि लामो खडेरी पर्दा धानको ब्याड राख्न नसकेको उनी बताउँछन् ।

‘बारीको मकै खत्तमै भयो, खेतको धान पनि बीऊ राख्नै पाइएन’, पोखरेल भन्छन् ‘प्रकृतिसंग केही लागेन, पानीको स्रोत नै सुकेको कारण आधुनिक प्रविधिले पनि काम गरेन ।’

म्याग्दीको मालिका गाउँपापालिका–२ का किसान भक्तबहादुर पुनका अनुसार बारीको मकै ओइलाएको छ, खेतमा धानको ब्याड राख्न पानी छैन । ‘एक हप्ता अझै यस्तै रहे भएका सबै खेती तहसनहस हुन्छ’ पुनले भने ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का वडाध्यक्ष ध्रुवबिक्रम राईले मकै हुर्किनै नसकेको र घोगामा दाना नलागेको बताए । ‘धेरै भयो पानी नपरेको भर्खरै पानी पर्ला जस्तो देखिएको छ’, राईले भने, ‘यो पानीले राहत नदिए कृषि र मानवीय जीवनयापनमै समस्या ल्याउने देखिन्छ ।’

यसअघि मकै रोप्ने बेलामा पनि खडेरी झेलेका किसान यसवर्ष खेती राम्रो नहुने देखेर चिन्तित छन् । मकै जुँगा चमरा हुँदैमा खडेरीको मारमा पर्दा घोगै नलागी सुकेको छ भने अर्को महिना हुने रोपाईंका लागि ब्याड राख्न सकेका छैनन् ।

खडेरीले कृषि उपजको उत्पादन चक्र बिथोलिंदा किसानहरु सुकेको कृषि बालीमा आकाश हेरेर पानीको याचना गरिरहेका छन ।

कहाँ कहाँ खडेरी ?

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काअनुसार पहाडको बेशी क्षेत्रमा राखिसकिएको धानको ब्याड सुकेको छ । चुरे र महाभारत शृखंलाका धेरै ठाउँमा किसानले ब्याड नै राख्न सकेका छैनन् । पानी नपरेका कारण राखिएका ब्याड समेत सुकेका छन् । यसवर्ष मकैको उत्पादनमा ह्रास आउने नार्कका कृषि मौसमविद् रामेश्वर रिमालले बताए ।

खडेरीका कारण मकै थोतो हुने, दाना सानो हुने र बारीमा हुर्कदैं गरेको मकै पहँेलो हुने उनले बताए । ‘चैते धान भित्र्याउन सहज भए पनि बर्खे धानमा ब्याड राख्न ढिलाइ भएको छ’ रिमालले भने ।

गत साता पूर्वको धनकुटास्थित पाख्रीबास केन्द्रमा ५८.५ मिलिमिटर वर्षाको रेकर्ड भएको बाहेक अन्यत्र पानी परेको छैन । पानी नपर्दा तराई मधेशका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ नवलपरासी पूर्वको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

मनसुनमै कम पानी पर्ने

नार्कले यो वर्ष कम पानी पर्ने सम्भावना रहेको भन्दै त्यसै अनुसारको खेती प्रणाली अपनाउन किसानलाई आग्रह गरेको छ । नार्क र मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसमी कृषि विवरणअनुसार यस वर्षको मनसुन सिजनमा सरदर भन्दा ३५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुन सक्छ ।

‘मनसुनको सुरुमा राम्रै पानी पर्ला तर त्यसैलाई नियमित जस्तै मानेर रोपाइ गरियो भने धान खेती सुक्नसक्छ’, कृषि मौसमविद रिमाल भन्छन् ‘पानी निकै कम पर्छ त्यसैले सुख्खायाममा फल्ने धानका बीउहरु प्रयोग गर्नुपर्ने अवस्था छ ।’

बाली नै फेर्न सुझाव

कृषि अनुसन्धान परिषद् (नार्क) ले सिँचाइको राम्रो स्रोत नभएको ठाउँमा सुख्खा सहने धान रोप्न सुझाव दिएको छ । तराई, भित्री मधेहश, तल्लो पहाडी बेंशीका सिञ्चित क्षेत्रको लागि बहुगुणी धान–१, बहुगुणी धान–२, हर्दिनाथ–३, हर्दिनाथ–४, हर्दिनाथ हाइब्रिड धान–१, हर्दिनाथ हाइब्रिड धान–३,मिथिला, रामपुर मन्सुली, सावित्री, राम धान सिफारिस गरेको छ ।

त्यस्तै सिँचाइको राम्रो सुविधा नभएको ठाउँमा सुख्खा धान–१, सुख्खा धान–२, सुख्खा धान–३, सुख्खा धान–४, सुख्खा धान–५, सुख्खा धान–६, तरहरा–१ र हर्दिनाथ–२ सिफारिस गरेको छ । डुबान र बाढीग्रस्त क्षेत्रका लागि नार्कले गंगासागर–१, गंगासागर–२, स्वर्ण सब–१ र सम्बा मन्सुली सब–१ धानको बीऊ सिफारिस गरेको छ ।

मध्यपहाडी क्षेत्रका लागि खुमल–४, खुमल–८, खुमल–१०, खुमल–११, खुमल–१२, खुमल–१३, खुमल–१४, खुमल बासमती–१६ र छरुवा धानखेतीको लागि तराई तथा भित्री मधेशमा सुख्खा धान–१, सुख्खा धान–२, सुख्खा धान–३, तरहरा–१, हर्दिनाथ–२, घैया–२, राधा–४ र विन्देश्वरी धानको जात सिफारिस गरिएको छ ।

बेखबर छ संघीय निकाय

कृषि तथा पशुपंछी विकास मन्त्रालयले खडेरीका कारण कहाँका किसान बढी समस्यामा छन् भन्ने सूचना समेत पाएको छैन । मुलुक संघीय प्रणालीमा मगएपछि नियमित सूचना संयन्त्र बिग्रिएको र खडेरीको असरहरु मन्त्रालयमा रिपोर्टिङ नभएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘सूचना संयन्त्र नै छैन, सामाजिक सञ्जालबाट किसानहरु पीडित भएको थाहा पाएका छौं’, उनले भने । कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डितले पनि खडेरीको असरबारे जानकरी नभएको बताइन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?