+
+

रामशरणका वकिलले भने : घर धरौटी राखेर पैसा बुझाउनेलाई उल्टै ठगी मुद्दा ?

‘मंगलबारदेखि बालकृष्ण खाँणको थुनछेक बहस’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १८:५६

२८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित काठमाडौं टोखाका रामशरण केसी आफैं अमेरिका जान चाहन्थे । रंगरोगन र घर मर्मतको जिम्मा लिएर काम गर्ने उनको आफ्नै भाइमार्फन जनक कार्कीसँग चिनाजान भयो । जनक कार्कीले आफू भुटानी शरणार्थी नेता टेकनाथ रिजालको मुख्य सल्लाहकार हुँ भनी अमेरिका जाने भए पठाइदिने प्रस्ताव गरे ।

त्यही विश्वासमा परेर रामशरणसमेतले पैसा बुझाए । काम नहुने देखेपछि रामशरणले पैसा फिर्ता मागे । तर पछि फेरि अमेरिका जाने प्रक्रिया अघि बढ्यो भनेर थप रकम माग गरेपछि केसीले घरजग्गा दृष्टिबन्धक राखेर एक करोड ५० लाख रुपैंयाँ निकालेका थिए । सो रकम उनले नक्सालको निलगिरि रेष्टुरेन्टमा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशवप्रसाद दुलाललाई बुझाए ।

केसीले जिल्ला सरकारी वकिल कार्यालयमा दिएको बयानमा उक्त रकम तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकको निर्देशनमा दुलाललाई दिएको बताएका थिए ।

प्रहरीले दाङका गजेन्द्र बुढाथोकीलाई प्रतिवादी नबनाई जाहेरीकर्ताको रुपमा अदालतमा पेश गरेको छ । तर त्यही प्रकृतिको काम गरेका रामशरण केसीविरुद्ध भने मुद्दा चलाएको छ । उनले अदालतमा बयान गर्दै आफूले जाहेरी दिएपछि प्रहरीले नलिएको र उल्टै मुद्दा चलाएको बताएका छन् ।

जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसमा सोमबार रामशरण केसीको पालो थियो । उनको बचाउ गर्दै अधिवक्ता अरुण ज्ञवालीले उस्तै प्रकृतिको कसुरमा कसैलाई जाहेरीकर्ता बनाइएको र कसैलाई अभियुक्त बनाइएको भन्दै अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न गरे ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत ‘अमेरिका गए सुविस्ता हुन्छ र पैसा समेत कमाउन सकिन्छ’ भनी बाटो देखाइदिएपछि आफूले सानु भण्डारी, केशवप्रसाद दुलाल लगायतसँग भेट गरेको र त्यसक्रममा रकम दिएको रामशरण केसीको दाबी छ ।

त्यसपछि अरु ३५/३६ जनाको रकम संकलन गरेर आफूले उनीहरुलाई बुझाएको भन्दै केसीले त्यसै सिलसिलामा आफ्नो रकम समेत फसेको दाबी गरेका थिए ।

उनले बयानमा भनेका छन्, ‘केशवप्रसाद दुलालले उनको मोवाइलमा भुटानी शरणार्थीसम्बन्धी समिति गठन भएको भनी पत्रसमेत मलाई देखाएको हुँदा विश्वासमा परी मेरा आफ्ना साथीहरु समेतलाई भेटाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्ने विषयमा प्रक्रिया अगाडि बढाउने निधो गरिएको हो ।’

प्रहरीले केसीलगायत सबै आरोपितमाथि सरकारी कागजात कीर्तेको अभियोगसमेत लगाएको छ । तर गृहमन्त्रालयमा पेश भएको प्रतिवेदन देख्नसमेत नपाएको भन्दै केसीका कानुन व्यवसायीले भने, ‘प्रतिवेदन बुझ्ने र राख्नेलाई मुद्दा नचलाई प्रतिवेदन नै नहेरेको निरीह प्राणी उपर कीर्ते मुद्दा नचलाउनु अन्याय होइन ?’

रामशरण केसीले आपराधिक संगठन बनाउने काम नगरेको, आपराधिक क्रियाकलापमा संलग्न नभएको र अरुलाई झुक्याएर अमेरिका पठाउने काम समेत नगरेको भन्दै अधिवक्ता अरुण ज्ञवालीले उनलाई धरौटीमा छाड्न माग गरे ।

‘गृहमन्त्री रामबहादुर थापा, रकम बुझ्ने नैनकला थापा र गृहसचिव प्रेमकुमार राईको बयान नलिने, मुद्दा पनि नचलाउने’, अधिवक्ता ज्ञवालीले भने, ‘आफ्नो घर धरौटीमा राखेर पैसा बुझाउनेलाई नै ठगी मुद्दा लगाउने काम भयो ।’

****

सोमबार नै कानुन व्यवसायीहरुले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीको प्रतिरक्षामा पनि बहस गरेका छन् । कुनै विशेष जिम्मेवारीमा नरहेकाले उनी नक्कली शरणार्थी प्रकरणमा संलग्न नभएको कानुन व्यवसायीहरुको जिकिर छ । अधिवक्ता आङटावा शेर्पाले भने, ‘कुनैपनि जाहेरीमा मेरो पक्षको नाम किटानी नभएको अवस्थामा समेत मुद्दा चलाइयो ।’

सचिव टेकनारायण पाण्डेले केशवप्रसाद दुलाललाई गृहमन्त्री बालकृष्ण खाणलाई ‘गिफ्ट’ दिनु भनी अह्राएपछि उनका स्वकीय सचिव केसीलाई समेत ५ लाख रुपैयाँ दिनु भनेका थिए । त्यसपछि केसीले ५ लाख रुपैंयाँ लिएको प्रहरीको दाबी छ ।

अधिवक्ता देवेन्द्रबहादुर थापाले भने, ‘यसको पनि नाम भेटियो, मुद्दा ठोकौं है भन्ने शैलीमा प्रहरी गयो ।’ उनले लामो समय प्रधानाध्यापक भएको व्यक्ति राष्ट्रहित प्रतिकुलको काममा संलग्न हुनै नसक्नेसमेत जिकिर गरे ।

सोमबार नै कानुन व्यवसायीहरुले आरोपित गोविन्द चौधरीलाई समेत धरौटीमा छाड्न माग गर्दै बहस गरे । अपरान्हतिर बालकृष्ण खाँणको पालो आएपछि कानुन व्यवसायीहरुले मंगलबारदेखि बहस गर्ने भन्दै सुनुवाइ टुंग्याउन न्यायाधीशलाई आग्रह गरे । न्ययााधीश प्रेमप्रसाद न्यौपाने पनि राजी भएपछि सोमबारको बहस सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?