+
+

विश्वको एकमात्र ठाउँ, जहाँ खान पाइन्छ प्रयोगशालामा बनाइएको मासु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते ११:४४

काठमाडौं । यो ठ्याक्कै कुखुराको मासु जस्तै देखिन्छ, कुखुराको मासु जस्तै बासना आउँछ र त्यस्तै स्वाद पनि ।

त्यो मासु कुनै कुखुरामा फार्ममा पालिएको कुखुराबाट उत्पादन भएको भने होइन । यो एउटा प्रयोगशालामा तयार पारिएको हो ।

सिंगापुरको Huber’s Butchery and Bistro विश्वकै एकमात्र यस्तो रेष्टुरेन्ट हो जहाँ प्राकृतिक रुपमा उत्पादित होइन कि प्रयोगशालामा उत्पादन गरिएको कुखुराको मासुका परिकार खान पाइन्छ । रेष्टुरेन्ट धनीका अनुसार प्रयोगशाला निर्मित चिकेनका परिकारका सम्बन्धमा ग्राहकहरुबाट निकै नै उत्कृष्ट प्रतिक्रिया प्राप्त भैरहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको Eat Just  नामक कम्पनीले प्रयोगशालामा यस्तो कुखुराको कृत्रिम मासु उत्पादन गर्दै आएको छ । प्रयोगशालामा कुखुराको मासु उत्पादन गर्ने कार्य नैतिक मात्र नभएर वातावरणमैत्री रहेको र यसको स्वादमा पनि कुनै सम्झौता नगरिएको कम्पनीको भनाइ छ । यो उद्योगमा अर्बौँ डलर खर्च गरिएको छ तर यो उद्योगको निरन्तरतामा भने प्रश्नचिह्न उठिरहेको छ ।

सन् २०१३ मै लण्डनमा विश्वमै पहिलोपटक प्रयोगशालामा चिकेन बर्गर तयार पारिएको थियो । उक्त बर्गर तयार पार्न ३ लाख ३० हजार डलर लागेको थियो । त्यसयता विश्वका दर्जनौँ कम्पनीहरु सुपथ मूल्यमा प्रयोगशालामा उत्पादित मासु उपलब्ध गराउने दौडमा सामेल भैसकेका छन् ।

अमेरिकी कम्पनी Eat Just ले उत्पादन गरेको मासुलाई सिंगापुर सरकारले बिक्रीका लागि सन् २०२० को डिसेम्बरमा अनुमति दिएको थियो । सिंगापुर प्रयोगशालामा तयार पारिएको मासुलाई आमरुपमा बिक्रीका लागि अनुमति दिने विश्वकै पहिलो मुलुक हो ।

ल्याबमा मासु उत्पादन गर्ने Eat Just  नामको कम्पनीको एक प्लान्ट ।

यद्यपि प्रयोगशाला निर्मित कुखुराको मासु बजारमा दुर्लभ नै छ । एउटा प्राइभेट सदस्य क्लबमा सन् २०२१ मा यस्तै कुखुराको मासुको चिकेन नगेट उपलब्ध गराइएको थियो । तर त्यो धेरै समय टिकेन । अन्ततः Huber’s Butchery and Bistro  ले हप्ताको एकपटक प्रयोगशाला निर्मित चिकेन पास्ता तथा चिकेन स्याण्डविच परिकार उपलब्ध गराउन सुरु गरेको छ । यद्यपि यसका लागि पनि सीमित कोटा तोकिएको छ ।

प्रयोगशालामा मासु उत्पादन गर्ने कम्पनी Eat Just  का प्रमुख कार्यकारी अधिकृत जोस टेट्रिकका अनुसार यस्तो उत्पादित मासु पनि वास्तविक मासु नै हो तर यसका लागि कुनै जनावरको काटमार गर्नु पर्दैन । यस्तोखाले खानपान भविष्यका लागि निकै लाभदायी हुन्छ ।

वास्तवमा यो कृत्रिम मासु कुनै वनस्पतीबाट उत्पादन गरिएको नभई वास्तविक मासु नै हो । यद्यपि यसमा केही वनस्पतीजन्य प्रोटिन पनि थप गरिएको हुन्छ । यो तयार पार्नका लागि जनावरको शरीरबाट कोशिका निकालिन्छ र त्यसलाई प्रयोगशालामा प्रोटिन, चिनी तथा चिल्लो पदार्थ लगायतका पोषक तत्वहरु दिएर वृद्धिविकास गराइन्छ । त्यसपछि त्यसलाई स्टिलको ठूलो आकारको बायोरिएक्टरमा राखिन्छ जसले फर्मेन्टेसन टंकीको काम गर्दछ ।

४ देखि ६ हप्तापछि उक्त पदार्थलाई बायो रिएक्टबाट निकालिन्छ । त्यसमा केही वनस्पतीजन्य प्रोटिन थप गरिन्छ । त्यसपछि त्यसलाई पिसेर, पकाएर र थ्रीडी प्रिन्ट गरी निश्चित आकार र टेक्स्चर दिइन्छ । यसरी प्रयोगशालामा मासु तयार हुन्छ । जसबाट जुनसुकै मासुका परिकार तयार पर्न सकिन्छ । यो मासुको स्वाद, आकार प्रकार सबै वास्तविक मासुको जस्तै हुन्छ ।

ल्याबमा उत्पादन गरेर डिप फ्राई गरिएको कुखुराको मासु

सिंगापुरको सो रेष्टुरेन्टमा त्यस्तो मासुबाट बनाइएको चिकेन पास्ताको मूल्य १८.५०सिंगापुर डलर छ । यसको उत्पादन लागतको तुलनामा यो सस्तो भएको बताइन्छ । तथापि कम्पनीले यसको वास्तविक लागत मूल्यका बारेमा भने केही बताएको छैन । तर हाल कम्पनीको उत्पादन क्षमता कम देखिएको छ र सिंगापुरमा हप्ताको २ देखि ३ केजीसम्म मात्र मासु उत्पादन गर्न सकेको छ ।

Huber’s Butchery and Bistro रेष्टुरेन्टमा हरेक हप्ता ४ हजारदेखि ५ हजार किलोसम्म प्राकृतिक रुपमा उत्पादित चिकेनका परिकार बिक्री हुने गर्दछन् । त्यसको तुलनामा २/३ किलो प्रयोगशाला निर्मित मासुको खपत नगन्य नै हुनसक्छ । तथापि यसको माग यति धेरै उच्च छ कि कम्पनीले प्रयोगशालामा मासुको उत्पादनलाई व्यापक रुपमा वृद्धि गर्नुपर्ने देखिन्छ । यसले उसको उत्पादन लागत पनि घट्ने छ ।

तथापि सन् २०१८ को तुलनामा हालको उत्पादन लागत ९० प्रतिशतले घटिसकेको Eat Just कम्पनीको भनाइ छ । यसले सिंगापुरमा पनि आफ्नो मासु उत्पादन कारखाना खोल्ने तयारी गरेको छ । अर्को वर्षदेखि खुल्ने अपेक्षा गरिएको उक्त कारखानामा कम्पनीले लाखौँ डलर लगानी गरेको छ ।

–बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?