+
+

वडाध्यक्ष र स्थानीयको एकै स्वर : सार्वजनिक जग्गा गुम्न दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:३५

१ असार, पोखरा। नेपालकै नमूना विद्यालयमा पर्ने पोखराको अमरसिंह उच्च माविको जग्गा व्यक्ति र विभिन्न समूहको अतिक्रमणको चपेटामा छ।

पोखराकै थोरैमध्ये चौरमा पर्ने अमरसिंह खेल मैदान साँगुरिँदै गइरहेको र विभिन्न व्यक्तिले व्यावसायिक प्रयोजनमा प्रयोग गरेको र अतिक्रमणको चपेटामा परिरहेको गुनासो जग्गादाता गोविन्द घिमिरेको छ ।

सिँचाइका लागि पोखरा-१२ हुँदै बगेको सेती नहरको उचित व्यवस्थापन नहुँदाको समस्या स्थानीयलाई छ भने अर्कोतिर नहरको जग्गा नै व्यक्तिले अतिक्रमण गर्दै घरको कम्पाउण्डभित्र पारेकोसमेत गुनासो गरेका छन्।

सेती नहर र सहायक कुलोका कारण सडकमै भेल बग्ने, नहरमै मरेका जनावरदेखि विभिन्न फोहोर फालिदिँदा सडकदेखि खेतबारीसम्म दुर्घन्धित हुने गरेको छ भने अर्कोतिर नहरको जग्गासमेत अतिक्रमण गरेर संरचना बनाउने क्रम तीव्र भइरहेको भन्दै सरोकारवालाले संरक्षण गर्न आवाज उठाइरहेका छन्।

पोखरा-१२ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सबैभन्दा बढी सेती नहर र सार्वजनिक तथा सरकारी जग्गा संरक्षणबारे सेवाग्राहीले आवाज उठाएका छन्। पोखरा–१२ प्रशस्त सार्वजनिक तथा सरकारी जग्गा भएको वडामा पर्छ भने यहीँ स्वास्थ्य, सरकारी कार्यालय र देशकै नमूना २ विद्यालय अमरसिंह र सितलादेवी मावि पनि पर्छ ।

तर, यहीको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीय र जनप्रतिनिधिको एक स्वर छ । उनीहरु भन्छन्, ‘सरकारी तथा सार्वजनिक जग्गा जनताको सम्पति हो, गुम्न दिन्नौं ।’

पोखरा-१२ मा पहिलो पटक भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश सहभागीले सेती नहर, अमरसिंह स्कुलको जग्गा संरक्षण, पोखरा-१२ मा बन्ने भनिएको महानगरको कार्यालय, अनुदानका कार्यक्रम र समान सहभागिताबारे जिज्ञासा राखे ।

डा. कृष्णप्रसाद पौडेलले पालिकाले सरकारी तथा सार्वजनिक जग्गाको पहिले लगत तयार पारेर गुरुयोजना बनाउनुपर्ने बताए।

उनले भने, ‘सार्वजनिक जग्गा लेखाजोखा गर्ने काम वडाबाट गर्नुपर्‍यो। लगत आइसकेपछि योजना बनाउन सजिलो हुन्छ,’ डा. पौडेलले भने। अर्का स्थानीय डिलाराम लामिछानेले नहरको जग्गा व्यक्तिका घरको कम्याउण्डभित्र परेको गुनासो गरे।

नहर अतिक्रमणको चपेटामा परेको र यसको व्यवस्थापन नहुँदा सितलादेवी क्षेत्र सधैंमा सडकमै ढल तथा बग्ने गरेको उनको भनाइ थियो।

सरकारी स्कुल तथा विभिन्न कार्यालय र सार्वजनिक जग्गा अतिक्रमण गर्ने, मिच्ने अधिकार कसैलाई नभएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। ‘मैले अमरसिंह स्कुलको जग्गा अतिक्रमण भइरहेका बेला भनेको पनि छु, एक इन्च जग्गा छोड्नेवाला छैन। बाटो पनि स्कुलको जमिनबाटमात्र जाँदैन,’ बास्तोलाले भने, ‘अमरसिंह स्कुलको जग्गा संरक्षणका लागि महानगरको कार्यपालिकाबाटै निर्णय गर्छौं । त्यसपछि पक्का पनि हुन्छ।’

सेती नहर सिँचाइ कार्यालय मातहत रहेकाले त्यसको व्यवस्थापनबारे आफूले पटक पटक समन्वय र पहल गरेको बास्तोलाको भनाइ थियो।

नहरको जग्गा संरक्षणमा सरकारी निकायमात्र नभएर स्थानीय व्यक्ति पनि सचेत हुनुपर्ने उनको भनाइ थियो। दुर्घन्ध फैलाउने, फोहोरमैला हाल्नेलाई कारबाहीको दायरामा ल्याउने बास्तोलाले बताए।

पोखरा-१२ ले गरेको विकास निर्माण र सेवा प्रवाहप्रति भने नागरिकले सन्तोष व्यक्त गरेका छन् । विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले अब मानवीय तथा सामाजिक विकासमा जोड दिनुपर्ने सहभागीको सुझाव थियो।

कार्यक्रममा सेवाग्राहीको प्रश्वको जवाफ दिँदै वडाध्यक्ष बास्तोलाले बास्तोलाले अबको प्राथमिकता शिक्षा, स्वास्थ्य र मानवीय विकासलाई राख्नेसमेत उल्लेख गरे।

पोखरा-१२ ले सिंगो वडाकै गुरुयोजना तयार पारिरहेको छ । ‘अब बन्ने भौतिक पूर्वाधार, मठमन्दिर, चौतारा, फल्चा, सार्वजनिक जग्गाको प्रयोगबारे गुरुपयोजनाले बोल्छ,’ बास्तोलाले भने।

देशकै उत्कृष्ठ र नमूना विद्यालयमा पर्ने अमरसिंह र सितलादेवी माविलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्न वडाले आगामी बजेटमा प्राथमिकतामा राखेको उनले बताए।

पोखरा-१२ ले ज्येष्ठ नागरिकको घरघरै पुगेर स्वास्थ्य परीक्षण गर्ने, युनडिपीको सहयोगमा फोहोर व्यवस्थापनको नमूना काम भइरहेकोमा सेवाग्राहीले खुसी व्यक्त गरे।

वडाबाटै स्तन तथा पाठेघरको मुखको क्यान्सरका शिविर पनि राख्दा धेरै राहत मिलेको स्थानीयको भनाइ थियो । यसले नागरिकमा स्वास्थ्यप्रति सचेतना पनि बढेको उनीहरुले बताए।

पोखरा–१२ मा मात्र चालु आर्थिक वर्षमा करिब ९ करोड रुपैयाँको कार्यक्रम कार्यान्वयन भइरहेको छ । वडा तहबाटै छनोट भएर कार्यान्वयनमा भएको कार्यक्रममा अहिलेसम्म ९२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको वडा सचिव महेश्वर अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?