+
+

नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० असार २ गते १९:१२
फाइल तस्वीर : काठमाडौंको एक अस्पतालमा स्वास्थ्य उपचारका लागि पुगेका सर्वसाधारण ।

२ असार, काठमाडौं । पछिल्लो समय नेपालीको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार पछिल्ला दिनमा अस्पताल पुग्ने बिरामीको तथ्यांकले पनि नसर्ने रोगले भयावह रूप लिन थालेको संकेत गरेको छ ।

केही वर्षअघिसम्म धेरै नेपाली अस्पताल जानुपर्ने कारणमा सरुवा रोग पहिलो स्थानमा थियो । तर अहिले ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), श्वासप्रश्वासको समस्या, टाउको दुखाइ, ज्वरो, उच्च रक्तचाप, छालाको संक्रमण लगायतका कारण मानिसहरु अस्पताल धेरै जानुपरेको छ ।

स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–०८० (चैतसम्म) मा अस्पताल पुग्नेमा सबैभन्दा धेरै बिरामी ग्यास्ट्रिकका छन् । विभागका अनुसार १२ लाख २६ हजार २२ जना ग्यास्ट्रिकको समस्याका कारण अस्पताल पुगेका थिए । त्यसैले चिकित्सकहरु ‘ग्यास्ट्रिक’लाई नेपालीको साझा रोग समेत भन्छन् ।

त्यस्तै, अपर रेस्पिरेटोरी ट्र्याक्ट इन्फेक्सन (माथिल्लो श्वासनलीको संक्रमण) भएर ११ लाख ७४ हजार ९५३ जना अस्पताल पुग्दा टाउको दुखाइका कारण ९ लाख ६९ हजार ८२२, ज्वरो आएर ८ लाख ५३ हजार ५२६ अस्पताल पुगेका छन् । त्यसपछि क्रमशः लोअर रेस्पिरेटोरी ट्र्याक्ट इन्फेक्सन (तल्लो श्वासनलीको संक्रमण), उच्च रक्तचाप, खोकी, छालामा हुने संक्रमण, ढाड दुख्ने समस्या लिएर धेरै मानिस अस्पताल पुगेका छन् ।

रोग अस्पताल जानेको संख्या
ग्याट्रिक १२ लाख २६ हजार २२
अपर रेस्पिरेटोरी ट्र्याक्ट इन्फेक्सन ११ लाख ७४ हजार ९५३,
टाउको दुखाइ ९ लाख ६९ हजार ८२२
ज्वरो ८ लाख ५३ हजार ५२६
लोअर रेस्पिरेटोरी ट्र्याक्ट इन्फेक्सन ७ लाख ६६५
उच्च रक्तचाप ६ लाख ४२ हजार ३९३
खोकी  ५ लाख ९० हजार ४७०
छाला संक्रमण ५ लाख ६९ लाख ४९४
ढाड दुख्ने समस्या ५ लाख १९ हजार ५३८
सामान्य परीक्षण र चिकित्सकीय परामर्श ४ लाख ९३ हजार २०३

सबभन्दा धेरैलाई सताउने रोगमा ग्यास्ट्रिक

विज्ञहरूका अनुसार, नसर्ने रोगको मुख्य कारण बदलिँदो खानपान र आधुनिक जीवनशैली हो । र, ग्यास्ट्रिक, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौलासम्बन्धी रोग प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय हो ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल जीवनशैली र खानपानमा आएको परिवर्तनका कारणले नेपालीमा ग्यास्ट्रिकको समस्या बढिरहेको बताउँछन् । आमाशय वा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्रिक भनिन्छ । ग्यास्ट्रिक बच्चादेखि वृद्ध उमेरका जोसुकैलाई देखिन सक्छ ।

ग्यास्ट्रिक हुनुको मुख्य कारण खानपानमा हुने गडबडी हो । त्यस्तै कुनै दीर्घरोग नियन्त्रणका लागिसेवन गरिने औषधि, विशेषतः दुखाइ कम गर्ने औषधिको सेवन गर्दा समेत ग्यास्ट्रिकको समस्या देखापर्छ ।

‘ग्यास्ट्रिक दुषित पानी र खानाबाट सर्ने जीवाणुको संक्रमणबाट हुने गर्छ । ग्यास्ट्रिक बनाउने एचपाइलोरी किटाणु पानीको माध्यमबाट जान्छ । जुन सुशुप्त अवस्थामा शरीरमा प्रवेश गर्छ । सक्रिय भएपछि मानिसलाई ग्यास्ट्रिक बनाउँछ’, डा पौडेलले भने ।

ग्यास्ट्रिक बनाउने अर्को कारण औषधि सेवन पनि हो । ‘एन्टिबायोटिक र पेनकिलर औषधि सेवन गर्दा पनि ग्यास्ट्रिक हुन सक्छ । मधुमेह, बाथरोगले पनि ग्यास्ट्रिकको समस्या ल्याउँछ’, डा. पौडेल भन्छन् ।

विशेषज्ञ चिकित्सकहरुका अनुसार समयमा नखाने र बढी चिल्लो तथा मसालेदार खाना खानाले पनि ग्यास्ट्रिक हुन्छ । त्यसैगरी, बाहिरी खानाको प्रयोग, फास्टफुड र जंकफुडको अत्यधिक सेवन, झोलिलो खानाको कमी, लागूऔषधको सेवन र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिकको समस्या हुन्छ । लामो समयसम्म ग्यास्ट्रिक हुँदा कालान्तरमा अल्सर हुँदै क्यान्सरसम्म हुनसक्छ ।

चिकित्सकका अनुसार ग्यास्ट्रिक हुन नदिनका लागि स्वच्छ तथा ताजा खाना खाने, सागसब्जी, फलफूल र भिटामिनयुक्त खानामा जोड दिनुपर्छ । नियमित र सन्तुलित भोजन गर्ने, धुमपान नगर्ने, ठीक समयमा खाना खाने, अनिँदो, भोको नबस्ने, शुद्ध पानी पिउने, पेनकिलर औषधि सकेसम्म प्रयोग नगर्ने, खाना खानेबित्तिकै नसुत्ने, नुन कम खानेजस्ता जीनवनशैली अपनाएर ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

डा. पौडेलका अनुसार नुन र चिनीको सेवन बढी हुँदा नसर्ने रोग बढिरहेका छन् । ‘पहिलाका मानिस घरमै बनेका अर्गानिक खानेकुरा खान्थे । काम गर्ने बानी थियो । तर, अहिले जंकफुड खाने, अस्वस्थकर खानेकुरा खाने, मानसिक तनाव लिने, धूमपान तथा मद्यपान सेवनले गर्दा नसर्ने रोग बढिरहेका छन्’, उनी भन्छन् ।

श्वासनलीको संक्रमण : प्रदुषण, भाइरस र धुमपान

नाक, मुख, घाँटीभित्रको मुख्य श्वासनलीमा हुने संक्रमणलाई अपर रेस्पिरेटोरी ट्याक्ट इन्फेक्सन (माथिल्लो श्वासनलीको संक्रमण) भन्ने बुझिन्छ । त्यस्तै गर्धन तल र छातीको भित्रका श्वासनलीमा हुने संक्रमणलाई लोअर रेस्पिरेटोरी ट््रयाक्ट इन्फेक्सन (तल्लो श्वासनलीको संक्रमण) भनेर बर्गीकरण गरिएको छ ।

माथिल्लो श्वासनलीको संक्रमणका कारण रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, नाक बन्द हुने वा पानी बग्ने लगायतका समस्या देखिन्छन् । तल्लो श्वासनलीको संक्रमणले फोक्सोमा असर गरी निमोनिया, ब्रोन्काइटिस लगायतका समस्या हुन्छन् ।

फोक्सोमा संक्रमण गर्ने धुँवा, धुलो, भाइरस, ब्याक्टेरिया माथिल्लो श्वासनलीको माध्यम भएर जान्छ । माथिल्लो श्वासनलीको बाटोले संक्रमण रोकथामको काम गर्ने छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘नाकभित्र रौं र घाँटीको श्वासनलीभित्र रोगसँग लड्ने विभिन्न खालका सेल र केमिकल हुन्छन्’, डा. पंगनीले भने, ‘जसले संक्रमण र विकारलाई तल्लो श्वासनली र फोक्सोसम्म जानबाट रोकेका हुन्छन् ।’

तर, शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर, संक्रामक भाइरसको उपलब्धता, अत्याधिक धुँवा, प्रदूषण भएको ठाउँमा बस्दा माथिल्लो श्वासनलीले रोक्न सक्दैन । ‘शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा किटाणु र ब्याक्टेरिया तल्लो श्वासनली वा फोक्सोभित्र गएर संक्रमण गराउँछ । जसले ब्रोन्काइटिस र फोक्सोसमेतमा असर गर्दा निमोनिया समेत गराउँछ’, डा. पंंगेनी भन्छन् ।

माथिल्लो र तल्लो श्वासनलीमा संक्रमण हुँदाको लक्षण उस्तै खालका हुन्छन् । खोकी लाग्ने, ज्वरो आउने, छाती दुख्ने, पहेलो खकार आउने, श्वासप्रश्वासमा समस्या हुने, अक्सिजनको मात्रा घट्दै जाने लगायतका समस्या देखिन्छन् । विशेष गरेर दीर्घरोगी, बच्चा तथा वृद्धवृद्धामा फोक्सोमा संक्रमणका कारण निमोनिया भएर अन्य अंगमा पनि फैलिन सक्ने चिकित्सकहरु बताउँछन् ।

यसका साथै वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । भाइरसका जीवाणु, वायु प्रदुषण र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा श्वासनलीको संक्रमण हुने गर्छ ।

अहिले मानिसमा जीवनशैलीकै कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको छ । यसो हुनुमा मिसावटयुक्त हावापानी, अस्वस्थकर खानेकुराको महत्वपूर्ण भूमिका रहेको चिकित्सक बताउँछन् । ‘वातावरणमा भएका जीवाणु वा कीटाणुले श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा संक्रमण गर्छ, जसका कारण निमोनिया दम, उच्च रक्तचाप, मिर्गौला बिग्रने लगायतका रोग चाँडै लाग्ने गरेका छन्’, डा. पंगेनी भन्छन् ।

उनी थप्छन्, ‘चुरोट, बिडी सेवन, धुवाँ–धुलो, प्रदूषणको कारणले ब्रोकाइटिस लगायत श्वास– प्रश्वासको समस्या देखिन्छ ।’

धुमपान गर्नेहरूमा पनि श्वास–प्रश्वासजन्य समस्याको खतरा बढी हुने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । ‘धुमपान तथा सुर्तीजन्य पदार्थले शरीरको ब्याक्टेरिया वा भाइरसविरुद्ध प्राकृतिक सुरक्षालाई क्षति पु¥याउँछ, जसका कारण श्वास–प्रश्वासको समस्या गराउँछ’, डा. बम भन्छन्, ‘यस्ता वस्तुको प्रयोग र जीवनशैलीमा सुधार गरेर मात्रै नसर्ने रोगलाई कम गर्न सकिन्छ ।’

टाउको दुखाइ : समस्या अनेक

स्नायुरोग विशेषज्ञ डा. सुमन भट्टराई टाउको दुखाइ विभिन्न रोगको संकेत हुन सक्ने बताउँछन् । माइग्रेन, एन्जाइटी, शारीरिक, मानसिक तनाव, इन्फेक्सन, मष्तिस्कको नसा फुट्नु, ट्युमर लगायतका कारणले टाउको दुख्ने उनी बताउँछन् ।

‘टाउको दुखाइ सामान्य लक्षण मानिए पनि दुखाइको अवस्था अनुसारले जटिलता फरक हुन्छ । माइग्रेनले खासै नराम्रो असर त गर्दैन । तर, ब्रेन ट्युमर वा संक्रमण भएमा जटिलता उपन्न हुन्छ’ डा. भट्टराईले भने ।

कतिपय अवस्थामा तनावले पनि टाउको दुख्छ । तनाव भएमा टाउको तथा गर्दनमा बढी पीडा हुने गर्छ । यस्तो दुखाइ तुरुन्तै निको पनि हुनसक्छ, निको हुन केही दिन पनि लाग्न सक्छ । यस्तै अनिन्द्रा, गलत खानपान, तनावपूर्ण वातावरण, मदिराको सेवनले पनि टाउको दुखाइ बढाउँछ ।

एन्जाइटी डिसर्डरले मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो हुने, अचानक निद्रा खुल्ने, सुतेको अवस्थामा पसिना आउने लगायतका समस्या देखिन्छन् ।

लक्षण नदेखाई मृत्यु मुखमा पुर्‍याउने उच्च रक्तचाप

नेपालमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउँछन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो अध्ययनले ३९ प्रतिशत मृत्युको हिस्सा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट हुने देखाएको छ । जुन, नेपालीको ज्यान लिने पहिलो रोग ठहरिएको छ ।

अहिले उच्च रक्तचाप ‘सुषुप्त हत्यारा’ का रूपमा बढ्दै गएको छ । विशेषज्ञका अनुसार उच्च रक्तचाप हुँदाखेरि मानिसलाई कुनै लक्षण नदेखिन सक्छ । अर्थात उच्च रक्तचापको समस्या ९० प्रतिशतलाई लक्षणविहीन हुन्छ भने करिब १० प्रतिशतलाई मात्रै लक्षण देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पनि नेपालमा करिब ४७ लाख जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको देखाउँछ । जसमध्ये ४ लाख मात्र उपचारको दायरामा आएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.हरिहर खनाल पनि अहिले ३५ प्रतिशतभन्दा बढी मानिसमा उच्च रक्तचापको समस्या भएको बताउँछन् । ‘हरेक घरमा उच्च रक्तचापका बिरामी छन् । अधिकतममा जीवनशैली, तनाव, खानपिन, अल्छिपन, मद्यपानले गर्दा उच्च रक्तचाप समस्या देखिएको छ’, डा. खनाल भन्छन्, ‘रोग लाग्दा मात्रै अस्पताल जाने चलन छ । यो बानी सुधार गर्नुपर्छ ।’

जीवनशैलीजन्य रोगहरू यसअघि विकसित मुलुकमा बढी देखिन्थे । तर, अहिले नेपालजस्ता विकासोन्मुख देशमा पनि यो बढ्दै गएको छ । जसका कारण हृदयघात, मुटुका समस्या, उच्च रक्तचाप, मिर्गौला, कलेजोजन्य रोग बढिरहेका छन् ।’

उच्च रक्तचापलाई औषधि दिएर कम गर्न सकिन्छ । सँगसँगै जीवनशैलीमा सुधार पनि एकदमै जरूरी हुन्छ । नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुन्छ । त्यसैको अनुपातमा उच्च रक्तचापको कारणबाट मृत्यु हुने मानिसको संख्या अत्यधिक छ ।

विशेषज्ञका अनुसार शहर–बजारमा झण्डै तीन जनामध्ये एक जनालाई र ३५ प्रतिशतसम्म वयस्क (१८ वर्षभन्दा माथि) का लाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचाप आफैंमा मृत्युको कारण होइन । तर उच्च रक्तचापका कारणले शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न हुन्छ, त्यसबाट मानिसको मृत्यु हुन सक्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार उच्च रक्तचापले शरीरका सबै अंगलाई हानी पु¥याउँछ । यसले मानिसमा हृदयघात, मस्तिष्कघात, अन्धोपन र मिर्गौला फेल हुने लगायत समस्या निम्त्याउँछ ।

‘अहिले २२–२५ वर्षकै उमेरदेखि नै उच्च रक्तचापको समस्या बढ्दै गएको देखिन्छ । सामान्य लक्षणलाई बेवास्ता गर्दा अधिकांशमा जटिलता देखिइसकेको हुन्छ । समयमै पत्ता लगाउन नसक्दा उच्च रक्तचापको कारण जटिलता उत्पन्न भई मिर्गौला, मुटु, मष्तिस्क, आँखा र रक्तनली जस्ता अंगमा असर गरी मानिसको मृत्यु नै हुन्छ’, डा. कोजु भन्छन् ।

५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको समेत थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि वार्षिक रुपमा बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष उच्च रक्तचापको समस्या लिएर १० हजार १८९ जना अस्पताल पुगेका थिए । जबकि, चार वर्षअघिको तुलनामा यो संख्या दोब्बर हो । एकीकृत सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा उच्च रक्तचापका ५ हजार ७११ बिरामी अस्पताल भर्ना भएका थिए ।

छालाको संक्रमणको प्रमुख कारण एक्जिमा

निजामती कर्मचारी अस्पतालमा ८ हजार बिरामीमा गरिएको एक अध्ययनमा छालामा हुने संक्रमणका कारणमा एक्जिमा, फंगल इन्फेक्सन, जाबे रोग, डन्डिफोर, कालो पोतोको समस्या देखिएको छ । पहिलो नम्बरमा एक्जिमाको समस्या देखिएको अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनी बताउँछन् ।

एक्जिमाको समस्याले अनुहारमा, कुहिनोभित्र र घाँटीको पछाडि, घुँडाको पछाडि सुख्खा हुने, छाला रातो हुने, चिलाउने र दागहरू देखिन सक्छ । डा. पुडासैनीका अनुसार घाम धुलो, माटो र दूषित हावाका कारण एक्जिमा हुन्छ । यसलाई सामान्यता एलर्जी भनेर बुझिन्छ । ‘ज्यालादारी काम गर्ने, बगैंचामा काम गर्ने वा खेतपातीका काम गर्ने मानिसलाई बढी एलर्जीको समस्या हुन्छ’, डा. पुडासैनी भन्छन् ।

गर्मीमा धेरै मानिसलाई फंगल इन्फेक्सनले सताइरहेको हुन्छ । विशेषगरी, पानीमा धेरै भिज्दा, चिसो लुगा, पसिनाले भिजेको वा कस्सिएको लुगा लगाउँदा तथा फोहोर वस्तुको सम्पर्कमा आउँदा फंगल इन्फेक्सन हुने गर्छ ।

अति चिलाउने, पाक्ने वा पिप भरिने र अप्ठ्यारो ठाउँमा देखापर्ने छालाको संक्रमण हो । ‘मोटोपना भएका, मधुमेहका बिरामी, पसिना धेरै आउने व्यक्तिलाई फंगल इन्फेक्सन हुने डा. पुडासैनी बताउँछन् । त्यसैगरी चिसोको कारण आउने जाबे रोग (कमिलाले टोकेजस्तो देखिने डाबर) आउने समस्या हुन्छ ।

उनका अनुसार चिसो हावा, चिसो पानी अथवा चिसो वातावरणसँगको सम्पर्कले छालामा रातो डाबर आउने, सुन्निने र चिलाउने हुन्छ । यस्ता डाबरहरु चिसोसँग छालाको सम्पर्क हटाएपछि १ देखि २ घण्टामा आफैं हराउँछन् ।

‘तर कहिलेकाहीँ हातखुट्टाका औंलाहरु रातो हुने, ओठ र आँखा सुन्निने, स्वास फेर्न गाह्रो हुने समस्या हुन्छ । तुरून्तै उपचार नपाउँदा मानिसको मृत्युसमेत हुन्छ’, डा. पुडासैनी भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?