+
+

स्वार्थ बाझिने क्रेडिट रेटिङमा घोराही सिमेन्टको आईपीओ

धितोपत्र बोर्डको भूमिका विवादास्पद

विजय पराजुली विजय पराजुली
२०८० असार ४ गते २१:२६

४ असार काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको आईपीओ निकाल्नुअघि गरिएको क्रेडिट रेटिङ नै नियमविपरीत रहेको पाइएको छ । कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपालले गरेको थियो । तर, घोराही सिमेन्ट र केयर रेटिङ्स दुबै कम्पनीको मुख्य सेयरधनी विशाल ग्रूप हो ।

यसरी एउटै समूहको लगानी भएको कम्पनीको क्रेडिट रेटिङ गर्नु क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ विपरीत हुन्छ । क्रेडिट रेटिङ संस्थाले आफ्नोे वा आˆनो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आˆनोे मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट गर्न नहुने क्रेडिट रेटिङ नियमावलीमा उल्लेख छ । यस्तै क्रेडिट रेटिङ संस्थाले आफ्नोे मुख्य सेयरधनी अन्य कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने स्पष्ट व्यवस्था छ ।

तर, घोराही सिमेन्टको आइपीओ रेटिङ गरेको केयर रेटिङ्स नेपालमा केयर रेटिङ इन्डिया लिमिटेडका साथै नेपालको विशाल ग्रुप, इमर्जिङ नेपाल लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आईएमई बैंक, प्रुडेन्सियल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको लगानी छ । केयर रेटिङ नेपालमा विशाल ग्रुपको प्रत्यक्ष लगानी त छँदै छ, सोही ग्रुपअन्तर्गतका कम्पनीहरु इमर्जिङ नेपाल लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको समेत लगानी छ ।

क्रेडिट रेटिङ नियमावलीले मुख्य सेयरधनी भन्नाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रेडिट रेटिङ संस्थाको १० प्रतिशत शेयर स्वामित्व लिने व्यक्तिलाई जनाउँछ । अर्थात् एक्लै वा आफ्नो एकाघर परिवारको सदस्य वा सहायक कम्पनी वा मुख्य कम्पनी सबैको मिलाएर क्रेडिट रेटिङ संस्थाको कुल चुक्ता पूँजीको कम्तीमा १० प्रतिशत सेयर ग्रहण गरेको व्यक्ति मुख्य सेयरधनी हो । धितोपत्र बोर्ड स्रोतका अनुसार केयर रेटिङ्स नेपालमा विशाल ग्रुप एक्लैको करिब १० प्रतिशत लगानी छ । ग्रूपअन्तर्गतका अन्य कम्पनीको समेत गरेर रेटिङ्समा उसको १० प्रतिशतभन्दा धेरै लगानी रहेको धितोपत्र बोर्ड स्रोतले जानकारी दियो ।

अर्कातिर घोराही सिमेन्टमा पनि २१ प्रतिशतभन्दा बढी हिस्सा रहेको विशाल ग्रुप प्रमुख एउटा प्रमुख शेयरधनी हो ।

विशाल ग्रुपबाट घोराही सिमेन्टमा लगानी गर्ने मुख्य लगानीकर्ताहरु :
– जगदीशप्रसाद अग्रवाल, अध्यक्ष : ३.७६ प्रतिशत
– त्रिलोकचन्द्र अग्रवाल, उपाध्यक्ष : ३.७८ प्रतिशत
– तुलसीराम अग्रवाल , उपाध्यक्ष : ३.७२ प्रतिशत
– अशोककुमार अग्रवाल : २.६८ प्रतिशत
– अनुज अग्रवाल : २.५ प्रतिशत
– निकुञ्ज अग्रवाल :२.४४ प्रतिशत
– विशाल अग्रवाल : २.४६ प्रतिशत

धितोपत्रसम्बन्धी कानुनका जानकार वरिष्ठ अधिवक्ता गान्धी पण्डित रेटिङ एजेन्सीले स्वार्थ जोडिएको कम्पनीको क्रेडिट रेटिङ गर्न नहुने बताउँछन् । ‘रेटिङ एजेन्सी निष्पक्ष हुुनपर्छ । यसले गरेको रेटिङको आधारमा सर्वसाधरणले लगानीको निर्णय गर्ने हो,’ उनले भने, ‘कुनै रेटिङ एजेन्सीले स्वार्थ बाझिने गरी रेटिङ गर्छ भने त्यो निष्पक्ष हुँदैन । निष्पक्ष नभएको रेटिङको आधारमा हुने लगानीमा लगानीकर्ताको हित संरक्षण हुन सक्दैन ।’ यस विषयमा अनुसन्धान गरेर स्वार्थ जोडिएको देखिए धितोपत्र बोर्डले कारवाही गर्नुपर्ने उनको तर्क छ ।

क्रेडिट रेटिङ एजेन्सीले आफ्नै समूहअन्तर्गतको कम्पनीलाई दिएको रेटिङका आधारमा नेपाल धितोपत्र बोर्ड कम्पनीले घोराही सिमेन्टलाई अंकित मूल्यमा ३३५ रुपैयाँ पि्रमियम थप हुने गरी आईपीओ निष्कानस गर्ने स्वीकृति दिएको थियो ।
पटक-पटक स्पष्टीकरण

केयर रेटिङ्स नेपालमा विशाल ग्रुपको संस्थागत लगानी भए पनि घोराही सिमेन्टमा भने संस्थागत नभई ग्रुपमा रहेकाहरुको व्यक्तिगत लगानी रहेको पाइएकाले आईपीओ स्वीकृत नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले दाबी गरे । ‘आईपीओ स्वीकृत गर्ने क्रममा बोर्डले स्वार्थ बाझिएको छ की छैन भनेर घोषणा गर्न माग गर्दा केयर रेटिङ्स नेपालले स्वार्थ बाझिएको छैन भनेको थियो,’ बोर्डका प्रवक्ता श्रेष्ठले भने, ‘सोही आधारको आधारमा बोर्डले स्वीकृति दिएको हो । तर, बोर्डको सुपरिवेक्षण विभागले अध्ययन गर्दा स्वार्थ बाँझिएको देखिएपछि स्पष्टीकरण माग गर्दा केयर रेटिङ्सले जवाफ दिएन ।’

केयर रेटिङ्सलाई धितोपत्र बोर्डले स्वार्थ बाझिएकै विषयमा यसअघि पनि स्पष्टीकरण सोधेको पाइएको छ । २४ पुस २०७९ मा धितोपत्र बोर्डले कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ उल्लंघन गर्दै आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको देखिएको भन्दै स्पष्टीकरण माग गरेकेा थियो । ‘क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्ध नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ,’ बोर्डले २४ पुसमा सोधेको स्पष्टीकरणमा भनिएको छ ।

सोही मितिमा केयर रेटिङ्स नेपाललाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारवाही किन नगर्ने भनेर पनि स्पष्टीकरण पेश गर्न भनिएको थियो । तर, बोर्डले त्यसबेला कम्पनीलाई कुनै कारबाही गरेन । तर, यसपटक पुनः सोही प्रकृतिको रेटिङका आधारमा बोर्डले आइपिओ निकाल्न स्वीकृति दिएको पाइएको छ । त्यसैका आधार निकालिएको आइपिओमा झुटा आवेदन परेको भन्दै बोर्डले आइपिओ निष्कासन रोकेको छ ।

के हुन्छ आईपीओमा रोक्का भएको लगानीकर्ताको रकम ?

घोराही सिमेन्टको आइपिओ धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसारको जालसाँजी हो कि होइन भनेर अध्ययन हुने बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन् । ‘झुटो आवेदनको बिक्री प्रबन्धक र कम्पनीसँग कुनै सम्बन्ध छ कि छैन भनेर अध्ययन हुन्छ’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यस्तो कुनै सम्बन्ध नदेखिएको खण्डमा दुई दिनभित्र आईपीओलाई निरन्तरता दिन सकिन्छ, त्यसो भए अहिलेको आवेदन कायम रहन्छ । र बैंक खाताको रकम रोक्का हुन्छ । तर, अनुसन्धानका क्रममा कैफियत देखिएको खण्डमा भने बोर्डले थप छानविन भने आवेदन दिएका लगानीकर्ताको रकम फुकुवा हुन्छ ।’

कम्पनीको सेयरमा झुटा आवेदन परेर जालसाजी भएको समाचार प्रकाशित भएपछि भने बोर्डले सेयरको आवेदन रोकेको छ । त्यसका साथै, यसअघि ३० जेठमा केयर रेटिङ्सलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएका कारण पनि आवेदन रोकिएको बोर्डले जनाएको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?