+
+

देशभर मनसुन नफैलिंदै किन बढ्दैछ विपदको जोखिम ?

पूर्वी पहाडी जिल्लामा मनसुन सक्रिय

गौरव पोखरेल गौरव पोखरेल
२०८० असार ५ गते २०:४५
२ असारको राति संखुवासभामा आएको बाढी ।

५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो । तर नेपालमा मनसुन भित्रिएको एक साता समेत नपुग्दै पूर्वी पहाडी जिल्लामा परेको भारी वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन् । ५४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा गराएको जानकारी अनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा बढी क्षति पुगेको छ ।

जबकी ३१ जेठमा नेपालमा भित्रिएको मनसुन अझै देशभरि फैलिइसकेको छैन । ‘हाल कोशी प्रदेश, मधेश प्रदेशका पूर्वी भूभाग, बागमती र गण्डकीको पहाडी क्षेत्रमा मात्रै मनसुन सक्रिय छ’, जल तथा मौसम विज्ञान विभागकी मौसमविद् सविना शाक्यले भनिन् ।

नेपालमा हुने कुल वर्षाको करिब ८० प्रतिशत मनसुनमा हुने मानिन्छ । त्यसैले मनसुन लक्षित गरेर विपद्को न्यूनिकरणका लागि पूर्वतयारी गर्ने गरिन्छ । तर यसपालि मनसुन पूर्ण रुपमा नभित्रिँदै क्षतिका विवरणहरु आउन थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार पूर्वपहाडी जिल्लामा ठूलो मानवीय क्षति हुने गरी बाढी, पहिरो जानुका पछाडि लामो समयसम्म निरन्तर आरी घोप्टे (क्लाउड ब्रस्ट) वर्षा हुनु हो ।

‘पाँचथर र ताप्लेजुङमा बिहीबार र शुक्रबारदेखि पानी परिरहेको थियो’, पोखरेल भन्छन्, ‘जमिन एकदमै चिसिएको थियो । शनिबार राति पनि अत्याधिक पानी पर्दा ठूलो क्षति हुने गरी बाढी आयो ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार ताप्लेजुङको दोभानमा परेको पानी १० वर्षयताकै सबैभन्दा अत्याधिक थियो । दोभानमा शनिबार राति १०५.५ मिलिमिटर वर्षा रेकर्ड भयो । संखुवासभाको खाँदबारीमा शनिबार ११२ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

‘पाँचथर, संखुवासभामा क्षति भएको कारण पनि नियमित रुपमा भारी वर्षा भइरहनु हो’, पोखरेल भन्छन्, ‘भारी वर्षाका कारण रुखहरु बगेर आएर नदीमा स–सानो पोखरी जस्तो बनेको देखिन्छ, त्यसबाट आएको पानीले हाइड्रो पावरमा पनि क्षति पुर्‍याएको छ ।’

पाँचथरमा बाढीले सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल नै बगाएको छ ।

‘हेवा खोलाको पुल कम्तीमा ३० वर्षअघि बनेको हो, यसपालि पुल बगाउनु भनेको पाँचथरमा पनि पहिले यति ठूलो बाढी आएको थिएन भन्ने संकेत हो’, सीईओ पोखरेल भन्छन्, ‘स्थानीयसँग कुरा गर्दा पनि उनीहरुले पहिले त्यति धेरै पानी परेको देखेका थिएनौं भनेका छन् ।’

पूर्वी पहाडमा किन भयो भारी वर्षा ?

मनसुन सुरु नहुँदै ठूलो क्षति हुने गरी भारी वर्षा भएको यसपटक मात्र होइन । २०७८ सालमा पनि मनसुन सुरु भएलगत्तै ठूलो क्षति हुने गरी सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आएको थियो ।

त्यस वर्ष मनसुनको पहिलो महिना विपदबाट ८३ जनाको मृत्यु भएको थियो । यो मानवीय क्षति पछिल्लो दशककै उच्च थियो । २०७७ सालको मनसुनको पहिलो महिना असारमा २० जना, २०७६ सालमा २५ जना, २०७५ सालमा ११ जना र ०७४ सालमा २८ जनाको मृत्यु भएको थियो ।

दुई वर्षअघिको मेलम्ची बाढी ।

जल तथा मौसम विज्ञान विभागकी हावापानी विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यसपालि पूर्वी पहाडी जिल्लामा प्रि–मनसुनमा पनि पानी उल्लेख्य परिरहेको थियो । हाल बढी क्षति भएका जिल्लामध्ये संखुवासभामा बढी वर्षा रेकर्ड भएको कँडेल बताउँछिन् ।

संखुवासभाको नुम स्टेशनको रेकर्ड अनुसार १३ जेठ (मे २७) मा १२६.८ मिलिमिटर वर्षा भएको छ । अन्य दिनहरुमा २० देखि ४१ मिलिमिटरसम्म वर्षा मापन भएको छ ।

३० जेठ (१३ तारिख) मा १४१.६ मिलिमिटर वर्षा भएको छ । ३१ जेठमा (जुन १४) मा ५०.२, ३२ जेठ (जुन १५) मा २२, १ असार जुन १६) मा १२३ र २ असार (जुन १९) मा १३५ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्हरुका अनुसार १० मिलिमिटरभन्दा कम पानी परेमा ‘सामान्य’ वर्षा भएको मानिन्छ । १० मिलिमिटरभन्दा धेरै र ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम’ तथा ५० मिलिमिटरभन्दा धेरै र १०० मिलिमिटरभन्दा थोरै पानी परेमा ‘भारी वर्षा’ भएको भनिन्छ । २०० मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएमा ‘अति भारी वर्षा’ भनिन्छ ।

संखुवासभाको परेको पानीको रेकर्ड हेर्दा प्रि–मनसुनको बेलादेखि नै बढी वर्षा भइरहेको देखिने कँडेल बताउँछिन् । ‘प्रि–मनसुनमै पानीले थिलथिलो भएको जमिनमा फेरि भारी वर्षा हुँदा क्षति भएको देखिन्छ’, कँडेल भन्छिन् ।

जानकारहरुका अनुसार मनसुनमा सक्रिय हुने पश्चिमी वायु प्रणाली अहिले कमजोर भइनसकेकाले पूर्वी पहाडी जिल्लामा धेरै पानी परिरहेको हुनसक्छ । जलवायु वैज्ञानिक डा. अर्चना श्रेष्ठका अनुसार भारतको पश्चिम बंगालबाट आएर पश्चिमतिर जानुपर्ने पूर्वीय वायु पश्चिमी हावा बलियो हुँदा पूर्वी पहाडी क्षेत्रमै रोकिइरहेको छ ।

‘पूर्वमा मनसुन भित्रिएर त्यसले ल्याउन खोजेको पानी पश्चिममा नगई पूर्वमा डम्प भएको जस्तो देखिन्छ’, श्रेष्ठले भनिन्, ‘यो पश्चिमी हावा बलियो भएको कारण हुनसक्छ ।’

सन् २०१३ मा भारतको केदारनाथमा पनि यस्तै कारण ६ हजार जनाको मृत्यु हुने गरी बाढी गएको उनी सम्झिन्छिन् ।

वर्षा मात्र होइन क्षतिको कारण

अहिले भइरहेको क्षतिको कारण भारी वर्षा मात्र भने होइन । २०७८ को मेलम्ची बाढीले पनि त्यही देखाउँछ । त्यसबेला मेलम्ची क्षेत्रमा अत्यधिक वर्षा मापन भएको थिएन ।

तर सिन्धुपाल्चोकमा नदी आसपास थिग्रिएका रुख, बोट, विरुवा लगायतका गेग्रानहरुले पानी थुनिँदा ठूलो क्षति हुने गरी लेदोसहितको बाढी आएको भौगोलिक प्रकोप विज्ञ एवं इञ्जिनियर श्रीकमल द्विवेदी बताउँछन् । ‘यसपालि पूर्वी पहाडी जिल्लाको क्षतिका तस्वीरहरु हेर्दा पनि धेरै गेग्रानहरु आएका देखिन्छ । त्यसले धेरै क्षति गराएको छ’, द्विवेदी थप्छन् ।

जल तथा मौसम विज्ञान विभागकी हावापानी विश्लेषक वरिष्ठ मौसमविद् इन्दिरा कँडेल पनि उनीसँग सहमत छिन् । भन्छिन्, ‘अहिले पूर्वी पहाडी जिल्ला धेरै क्षति हुनुको कारण एक–दुई दिनको वर्षा मात्र हो भन्ने मलाई लाग्दैन ।’

जभाभावी सडक सञ्जाल बनाएको परिणाम अहिले देखिइरहेको द्विवेदी बताउँछन् । ‘त्यहाँ बाटो वा नहर खनिएको थियो होला, कतै चट्टान फुटाउन ब्लास्ट गरिएको थियो होला, भूकम्प आउँदा जमिन चर्किएको थियो होला’, कँडेल पनि भन्छिन्, ‘विभिन्न कारणले त्यहाँको माटो कमजोर भएको थियो होला, त्यसैले लेदो माटो र गेग्रानसहितको बाढी आएको हुनसक्छ ।’ यद्यपि, यो विषयमा विस्तृत अध्ययन नभएको उनी बताउँछिन् ।

जलवायु वैज्ञानिक डा. अर्चना श्रेष्ठ पनि अहिलेसम्म मेलम्ची बाढीको पनि राम्रो अध्ययन हुन नसकेको बताउँछिन् । ‘अहिले पश्चिमी वायुले पूर्वीय वायुलाई रोकिराख्नुको कारण पनि ग्लोबल वार्मिङ र जलवायु परिवर्तन हुनसक्छन्’ भन्छिन् ‘तर त्यस विषयमा अध्ययन हुन सकेको छैन ।’

नेपाल भूगोल समाजका अध्यक्ष प्राध्यापक डा. नरेन्द्र खनालका अनुसार प्रकृतिलाई आफ्नो हिसाबले चल्न नदिंदाको परिणाम अहिले भोग्नु परिरहेको छ । ‘विकासका नाममा भएका जथाभावी निर्माण, नदी वा खोल्सका निकासमा बनाइएका घरहरूका कारण पनि अहिले बढी क्षति भइरहेको हो’ उनी भन्छन्, ‘सम्बन्धित ठाउँमा कति पानी पर्छ र त्यसको निकास कसरी गर्ने भन्ने विषयको वैज्ञानिक अध्ययन गरेर मात्र निर्माण गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।’

अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण, अवैज्ञानिक भू–उपयोग, प्राकृतिक स्रोत (रोडा, बालुवा, ढुंगा) को अनियन्त्रित दोहन जस्ता कारणले मुलुकका पहाडी भूभागमा पहिरोको प्रकोप बढ्दो छ ।

१२ लाख प्रभावित हुनसक्ने अनुमान

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक मनसुनजन्य विपद्‍बाट १२ लाख ५४ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरेको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी कोशीमा ३ लाख १ हजार र सबैभन्दा कम कर्णालीमा करिब ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने प्राधिकरणको अनुमान छ ।

मधेशमा ४ लाख ३ हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४ जनसंख्या प्रभावित हुनसक्ने अनुमान छ । लुम्बिनीमा १ लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूपश्चिममा १ लाख ४७ हजार ६० जना प्रभावित हुने अनुमान छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?