+
+

फेसबुकले ब्लक गर्यो व्यक्तिको अकाउन्ट, तिर्नुपर्यो ५० हजार डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ११:१५

काठमाडौं । हामीले हाम्रो जीवनका धेरै महत्वपूर्ण क्षण तथा संस्मरणहरुलाई तस्वीर, भिडियो तथा स्टाटसको रुपमा फेसबुकमा राख्दछौँ जसलाई हामी जुनसुकै बेला पनि हेरेर रमाउँछौँ । बच्चाको बेलाका तस्वीर होस् वा स्कुलमा पुरस्कार पाउँदाको होस् अनि पुराना साथीभाइसँगका सम्झनाहरु यी सबै हामीले फेसबुकमै हालेका हुन्छौं । तर यदि फेसबुकमा राखेका यी सबै चिज एक्कासी हराए वा त्यसलाई फिर्ता ल्याउन पनि सकिएन भने के होला ? यस्तै समस्या भोगेका एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकको मातृ कम्पनी मेटा विरुद्ध अमेरिकाको जर्जियास्थित अदालतमा मुद्दा दायर गरे र मुद्दा जित्दै क्षतिपूर्ति समेत प्राप्त गरेका छन् ।

ज्यासन क्राफोर्डको फेसबुक अकाउन्टलाई अस्वाभाविक रुपमा फेसबुकले प्रतिबन्धित गर्यो । उनले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न सकेनन् । उनी भन्छन्– म आइतबार बिहान उठेँ । मेरो मोबाइलको फेसबुक आइकनमा ट्याप गरेँ तर त्यो खुलेन । किनकि त्यो लक गरिएको रहेछ ।

यसअघि पनि उनको फेसबुक अकाउन्ट निलम्बन भएको थियो, राजनीतिका बारेमा उनको कडा टिप्पणीका कारण । तर त्यो पछि फुकुवा भएको थियो । तर यो पटक भने उनको फेसबुक निलम्बन मात्र नभएर पूर्ण रुपमा प्रतिबन्धित नै गरिएको थियो ।

उनले फेसबुक आइकन ट्याप गर्ने बेलामा केही सेकेण्डको लागि पपअप आयो । जसमा बालबालिकाको यौन दुरुपयोग सम्बन्धी नियम उल्लंघन गरेको उल्लेख गरिएको थियो ।

आफ्नो फेसबुक अकाउन्ट प्रतिबन्धित भएको विषयमा बुझ्नका लागि उनले फेसबुकमा कसैसँग कुराकानी गर्ने प्रयास गरे । तर फेसबुकको आधिकारिक कर्मचारीसँग कुराकानी गर्न सम्भव भएन ।

कुनै अपिल गर्न, उजुरी गर्न वा निवेदन गर्नका लागि आफ्नै फेसबुक प्रोफाइलबाट गर्नुपर्दछ भन्ने उनले बुझे । तर उनको अकाउन्ट ब्यान भएको हुँदा उनले लगइन गर्न सक्दैनथे जसका कारण उनले निवेदन दिन पाएनन् । त्यसैले उनले आफ्नो फेसबुक अकाउन्ट प्रतिबन्धित गर्ने फेसबुकको कदम विरुद्ध मुद्दा हाले ।

फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका प्लाटफम मेटा कम्पनी मातहत रहेका छन् । मेटामा ८० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । त्यतिधेरै कर्मचारीमध्ये उनको समस्या सुनिदिने कोही त थियो होला, तर उनले फेला पार्न सकेनन् ।

फेसबुकले उनको गुनासो र अदालतमा दायर मुद्दाको समेत बेवास्ता गर्यो । अन्ततः अदालतले ज्यासन क्राफोर्डलाई ५० हजार डलर क्षतिपूर्ति दिनका लागि मेटा कम्पनीको नाममा आदेश दिएको छ ।

साथै अदालतले उनको फेसबुक अकाउन्ट फुकुवा गर्न पनि मेटा कम्पनीलाई आदेश दियो । जसका कारण ज्यासन पुनः फेसबुकमा फर्किन पाए । अहिले आएर फेसबुक कम्पनीमा कार्यरत वकिलले आफ्नो अकाउन्ट ह्याक भएको दाबी गरेको ज्यासन बताउँछन् ।

अदालतले क्षतिपूर्ति दिन आदेश दिए पनि फेसबुकबाट उनले अझै क्षतिपूर्ति रकम प्राप्त गरेका भने छैनन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?