+
+

सवारी साधनदेखि इन्धनसम्मको आयात खुम्चियो, गत वर्षभन्दा पौने ३ खर्ब कम

अच्युत पुरी अच्युत पुरी
२०८० असार ७ गते २१:००

७ असार, काठमाडौं । सवारी साधनदेखि पेट्रोलियम पदार्थसम्मको आयात खुम्चिँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा वस्तु आयात उल्लेख्य घटेको छ । चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ खर्ब ८३ अर्ब रुपैयाँ अर्थात् १६.०१ प्रतिशत कम हो ।

अघिल्लो आवको यसै अवधिमा वस्तु आयात १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको भएको छ । चालु आवमा सवारी साधन आयातमा बाहिरिने रकम आधाले कम भएको छ । अघिल्लो वर्ष ११ महिनामा ९३ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएकोमा यस वर्ष मात्र ४८ अर्ब ७ करोड रुपैयाँ सवारी साधनमा विदेशिएको छ ।

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गर्न सरकारले गत वर्षदेखि नै आयातमा कडाइ गरेको थियो । जसमा महंगा सवारीसाधन आयातमा प्रतिबन्ध लागेको थियो । जसको परिणामस्वरुप आयातमा संकुचन जारी छ । सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको हो ।

यस वर्ष पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २० अर्ब रुपैयाँले कम भएको छ । यस वर्ष ११ महिनामा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको थियो । यो वर्ष डिजेल, पेट्रोल र एलपी ग्यास समेतको आयात कम भएको छ । सुनको आयात समेत अघिल्लो आवको यसै अवधिको तुलनामा कम भएको भन्सार विभागले जनाएको छ ।

पूर्वसचिव चन्द्र घिमिरे नेपालमा यस वर्ष आन्तरिक तथा बाह्य दुवै कारणले अर्थतन्त्रमा आएको संकुचनको प्रभाव वैदेशिक व्यापारमा पनि देखिएको बताउँछन् । ‘एक त उपभोग्य सामानको आयात कम भयो, अर्कोतर्फ मुलुक भित्र कच्चा पदार्थ ल्याएर वस्तु उत्पादन गर्नेहरुले समेत उत्पादन घटाए । यसले अर्थतन्त्र सुस्त छ भन्ने संकेत गर्छ,’ उनले भने, ‘यसले वैदेशिक व्यापारमा पनि प्रभाव देखिएको हो ।’ हाम्रोमा नेपाल सरकारले दिने नीति भन्दा बढी बाह्य कारणहरुको प्रभाव धेरै देखिने भन्दै उनले यो अवस्था अझै केही समय लम्बिने समेत बताए ।

आयात धेरैले घट्दा व्यापार घाटा कम

चालु आवमा आयातमा आएको ठूलो गिरावटका कारण व्यापार घाटामा भने सुधार भएको छ । भन्सार विभागका अनुसार ११ महिनामा व्यापार घाटा २ खर्ब ४० अर्ब रुपैयाँले कम भएको छ । यस वर्ष व्यापार घाटा जेठसम्म १३ खर्ब ३७ अर्ब रुपैयाँ देखिएको छ । अघिल्लो आवको यसै अवधिमा १५ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको थियो । यो १६.६५ प्रतिशत कम हो ।
निर्यात पनि खुम्चियो

यस वर्ष निर्यातमा समेत ठूलो गिरावट आएको छ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवको तुलनामा यो ४२ अर्ब कम हो । अघिल्लो आवको यसै अवधिमा १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको थियो । यस वर्ष सोयाविन तेलदेखि पामतेलसम्मको निर्यात खुम्चिएको छ । यसको असर समग्र निर्यातमा देखिएको हो । गत वर्ष सोयाविन तेल ४६ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष ८ अर्ब ४७ करोड रुपैयाँमा झरेको छ । पाम आयलको निर्यात यस वर्ष ४ अर्बले कम भएको तथ्याङ्‍कमा देखिएको छ । चालु आवमा १० अर्ब रुपैयाँको पाम आयल निर्यात भएकोमा गत आवमा १४ अर्बको पाम आयल निर्यात भएको थियो ।

आयात र निर्यात दवबै खुम्चिएका कारण यस वर्ष समग्र वैदेशिक व्यापारको आकार समेत घटेको छ । यस वर्ष वैदेशिक व्यापारको आकार १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँमा खुम्चिएको छ । यो गत आवको यसै अवधिको तुलनामा १६.६५ प्रतिशत कम हो । गत आवको ११ महिनामा वैदेशिक व्यापारको आकार १९ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?