+

७ कारण, जसले गर्दा पेट खराब हुन्छ

२०८० असार  ८ गते १५:०० २०८० असार ८ गते १५:००
७ कारण, जसले गर्दा पेट खराब हुन्छ

भनिन्छ, पेट खराब त दिमाग खराब । पेटको संक्रमण, अपच, ग्यास्ट्रिकले बढी नै सताउँछ । पेट राम्ररी सफा भएन, स्वस्थ भएन भने सम्पूर्ण शरीर भारी हुन्छ ।

त्यसो त शरीरमा धेरैजसो रोग लाग्नुमा पेटकै भूमिका हुन्छ । पेट जति राम्रो र तन्दुरुस्त हुन्छ, शरीर उत्ति नै स्वस्थ हुन्छ । तर पेट खराब भएमा समग्र शरीर नै शिथिल र कमजोर हुन्छ ।

१. दूषित पानी र बासी खानेकुरा

वर्षायाममा भल वा फोहोरपानी मुहानमा गएर मिसिने गर्छ । दिसा–पिसाबसँगै मरेको सर्प, भ्यागुता आदिलाई पनि बगाएर मुहानमा मिसाइदिन सक्छ । जब हामी यस्तो पानी पिउँछौं, खराब ब्याक्टेरिया पेटमा पुग्छ ।

दूषित पानीको कारण झाडापखला, हैजा, हेपाटाइटिस ए, ई जस्ता समस्या हुन सक्छ । त्यसो त अन्य समयमा पनि दूषित पानीले गर्दा पेट गडबड हुन्छ । त्यसैगरी बासी, सढेगलेको खानेकुराले पनि यसबेला पेट खराब गर्छ । खासगरी होटल, रेस्टुरेन्टमा पकाएको खानेकुरा लामो समय राख्ने गरिन्छ । यसरी राख्दा धुलो, फोहोर, झिंगाले दूषित बनाइदिन्छ । यस्तै खानेकुरा खाँदा पेट ढुस्स हुने, बान्ता हुने, पखाला लाग्ने गर्छ । घरमै पनि बासी रहेको खानेकुरा चाँडै सड्ने, गल्ने भएकाले त्यस्ता खानेकुरा खाँदा पेटको समस्या हुन्छ ।

इरिटेबल बाउल सिन्ड्रोम

पेट खराब गराउने अर्को कारण इरिटेबल बाउल सिन्ड्रोम हो । आन्द्राको असाधारण खुम्चिने प्रक्रियाकै कारणले राम्ररी काम गर्न सक्दैन र पेट दुख्न थाल्छ । र, प्रत्येक पटक खाना खाएपछि दिसा लागेको अनुभव हुन्छ । यो इरिटेबल बाउल सिन्ड्रोम हुन सक्छ ।

संवेदनशील आन्द्रा वा कमजोर रोगप्रतिरोधक क्षमता र अत्यधिक तनावका कारण यस्तो समस्या देखिन सक्छ । तनाव भएमा एड्रिनल ग्रन्थिबाट एड्रेनैलिन तथा कार्टिसालनामको हार्मोनको श्राव हुन्छ । तनावकै कारण पूरै पाचन तन्त्रमा पोल्न थाल्छ  र पाचन नली सुनिन्छ । फलस्वरूप शरीरले पोषण तत्व पाउँदैन ।

प्यान्क्रियाटाइटिस

पेटमा हुने प्यान्क्रियाजलाई अग्नाशय भन्ने गरिन्छ । अग्नाशय सुन्निनु प्यान्क्रियाटाइटिस हो, जसले पेट खराब गराउँछ । अग्नाशय पेटको पछाडि भित्री भागमा हुन्छ । यसको काम इन्जाइम उत्पादन गर्नु हो, कहिलेकाहीं पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ, जसकारण प्यान्क्रियाटाइटिस हुने गर्छ । अत्यधिक मात्रामा मदिरापान र धुम्रपान गर्नेलाई प्यान्क्रियाटाइटिस हुने गर्छ । प्यानक्रियाजले इन्जाइम बनाउन सकेन भने सधैंभर पेट दुख्ने, चिप्लो दिसासहितको पखाला लागिरहन्छ ।

ग्यासट्राइटिस

अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण आमाशय वा सानो आन्द्रा सुनिन्छ, जसलाई ग्यास्ट्राइटिस भनिन्छ ।

त्यस्तै दूषितपानी र खानाबाट सर्ने जीवाणुको संक्रमणबाट एचपाइलोरी इन्फेक्सन हुन्छ । यसले पनि ग्यास्ट्रिक गराउँछ । ग्यास्ट्राइटिस बच्चादेखि वृद्ध उमेरका जोसुकैलाई देखिन सक्छ ।

बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, पेटको माथिल्लो भाग दुख्ने, पेट बाउँडिने, दिसाको रङ कालो हुने, शरीर दुख्ने गर्छ । यसले पेटलाई मात्र नभई शरीरलाई नै कमजोर बनाइदिन्छ । यसको लामो समयसम्म उपचार नभए अल्सर, आन्द्रामा क्यान्सर समेत हुन सक्छ ।

पेट खराब गराउने मुख्य तत्व धूमपान र मदिरा

धूमपान र मध्यपान अत्यधिक गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस दुवै हुन सक्छ । धुम्रपान र मदिरा  लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ । यस्तै लिभरमा हेपाटाइटिस भएमा, किड्नीमा स्टोन वा युरेटेरिक स्टोन भएमा, कोलिटिज (ठूलो आन्द्राको सुजन) भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमा पनि पेट दुख्ने समस्या आउँछ ।

दुखाइ कम गर्ने औषधिको असर

दुखाइ कम गर्न प्रायः फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफिन, एस्पिरिनजस्ता ‘पेन किलर’को प्रयोग गर्ने चलन बढ्दो छ  । तर यस्ता औषधिको प्रयोगले पेटलाई कति खराब गर्छ भन्नेमा कसैको ध्यान पुगेको छैन ।

दुखाइ कम गर्ने औषधिले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुरोग भएकाले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधि ‘एस्पिरिन’को प्रयोग गर्दा पनि पेटमा अल्सर हुन सक्छ ।

कब्जियतको समस्या

कब्जियतले शरीरमा अन्य रोग पनि पैदा गर्छ । ठूलो आन्द्राबाट दिसा निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो । यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्‍याउँछ, जुन निकै घातक हुन सक्छ । पर्याप्त फाइबर नखानु, अस्वस्थकर खानपान, हार्मोनसम्बन्धी गडबडी, कुनै औषधिको साइड इफेक्टले गर्दा कब्जियत गराउन सक्छ ।

(डा. पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. विधाननिधि पौडेल पेट स्वास्थ्य
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय