१२ असार, बैंगलुरु । आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।
सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सिध्याएको छ ।
बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।
४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।
१५ वर्षपछि साफमा पाकिस्तान विरुद्ध जित
नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्यो ।
पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन ।
सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।
यस पटक दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको अवस्थामा नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा थियो । तर त्यसमा नेपालले बाजी मार्यो ।
नेपालले सुरुवातदेखि नै खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ चुस्त हुन नसक्दा ८० मिनेटसम्म पर्खनुपर्यो । त्यसअघि आधा दर्जन अवसर गुमाएको नेपालले खेलको अन्तिमतिर पनि केही मौका चुकाएको थियो ।
खेलको १३औं मिनेटमा विमल घर्ती मगरले एजबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ४२औं मिनेटमा नेपाले गोल गर्ने राम्रो मौका गुमायो ।
मनिष डाँगीको क्रसमा विमलले बक्स भित्रबाट हानेको प्रहार युसुफ इजाज बटले बचाए । दोस्रो हाफमा पनि नेपालले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने राम्रो अवसर गुमाए । देवेन्द्र तामाङको फ्रिकिकमा अनन्तले मिलाएको बलमा नवयुगले बक्स भित्रबाट प्रहार गरेर हेडर क्रसबार माथिबाट बाहिरियो ।
६०औं मिनेटमा एरिक विष्टको पासमा मनिषको प्रहार पाकिस्तानी गोलकिपर युसुफ बटले बताए ।
७०औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक क्रस बारमा लागेर फर्कंदा नेपालले गोल गर्ने अवसर गुमायो ।
तर ८०औं मिनेटमा आशिषले गोल गरेपछि नेपललाई राहत मिल्यो ।
पाकिस्तानको लगातार १२औं हार
पाकिस्तानको फुटबलमा भने यो अर्को खराब नतिजाको रुपमा रहनेछ । किनकि यस साफमा समूह्यको सबै तीन खेलमा पराजित भएको पाकिस्तानले लगातार १२ खेलमा हार व्यहोरेको हो ।
२०१८ मा ढाकामा भएको साफमा भुटानलाई समूह चरणको अन्तिम खेलमा पराजित गरेपछि पाकिस्तानले लगातार १२ खेल हारेको हो ।
२०२२ जूनमा फिफाको निलम्बन फुकुवा भएपछि भने पाकिस्तानको यो लगातार आठौं हार हो । गत वर्ष नोभेम्बरमै काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको थियो ।
त्यसपछि भएको मैत्रीपूर्ण खेलमा माल्दिभ्ससँग पाकिस्तान उही नतिजामा पराजित भयो । साफअघि मरिससमा भएको फोर नेसन्स कपमा पाकिस्तान मरिस, केन्या र जिबुटीसँग पराजित भएको थियो ।
निलम्बनमा पर्नुअघि पाकिस्तान भारत, पाकिस्तान र कम्बोडियासँगको दुई खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4