+

किन खाने सलाद ?

२०८० असार  १८ गते १४:५४ २०८० असार १८ गते १४:५४
किन खाने सलाद ?

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् ।

सलाद के हो ?

प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न तरकारी र फलफूललाई स–सानो टुक्रा बनाएर काँचै खाइने परिकारलाई सलाद भनेर चिनिन्छ । जसबाट शरीरलाई चाहिने मुख्य भिटामिन र खनिज प्राप्त हुन्छ । यसलाई हामीले नपकाई खान सक्छौं । सलाद खानु स्वस्थकर मानिए पनि के सलादले शरीरलाई फाइदा गर्छ ? यसको जवाफ खाने तरिका र खाने समयमा भर पर्छ ।

कसरी सुरु भये सलाद खाने चलन ?

संसारमा कम्तीमा ५०० प्रकारका सलाद बनाइन्छ । अंग्रेजीमा ’सलाद’ शब्द मूल रूपमा फ्रान्सेली शब्द ‘सलाडे’बाट आएको हो। जुन बोलीचालीको भाषामा सलाद भयो। यो शब्द पहिलो पटक १४  औं शताब्दीमा अंग्रेजीमा प्रयोग भएको थियो । अहिले विश्वव्यापी रुपमै सलाद खाने चलन छ, कसैले त दिउँसो खाजाकै रुपमा पनि खाने गर्छन् ।

सलादमा के के खान सकिन्छ ?

सलाद विश्वव्यापी रुपमै खाने चलन छ । तर भूगोल, खानेकुराको उपलब्धता अनुसार फरक हुन जान्छ । प्राय: नेपाली भान्सामा सलादमा प्रयोग हुने भनेको कागती, गाँजर, चुकन्दर, मुला, काँक्रो, प्याज, गोलभेंडा, फलफूल हुन्छ ।

अनुश्री आचार्य, पोषणविद्

काँक्रो

गर्मीमा सबैभन्दा रुचाइने र डिहाइड्रेसनलाई कम गर्ने मौसमी तरकारी काँक्रो हो । काँक्रोको रसिलो स्वाद मन नपराउने सायद होलान् । यसमा प्रशस्त मात्रामा पानी हुन्छ, जसले शरीरमा पानीको कमीलाई परिपूर्ति गर्छ । प्रशस्त मात्रामा पौष्टिक तत्व हुनुका साथै यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले धेरै रोगबाट बचाउन मद्दत गर्छ । कम क्यालोरी, अध्याधिक पानीको मात्रा र घुलनशील फाइबर धेरै हुन्छ, जसले यसलाई वजन घटाउने प्रभावकारी माध्यम बनाउँछ ।

चुकन्दर

सलादमा चुकन्दर समावेश गर्नु निकै फाइदाजनक हुन्छ । चुकन्दर एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । यसले  रक्तचाप नियन्त्रण गर्न, स्टामिना बढाउन, मांसपेशी बलियो बनाउन र धेरै रोग निको पार्न प्रयोग गरिन्छ । यसमा भिटामिन बी १, बी २ र भिटामिन सी पाइन्छ । चुकन्दरले मांसपेशीहरूलाई लामो समयसम्म ऊर्जा प्रदान गर्छ । त्यसैले सलादमा चुकन्दर खानुपर्छ ।

प्याज

प्याजबिना सलाद अधुरो मानिन्छ । काँचो प्याज औषधीय गुणले भरिपूर्ण हुन्छ, यसमा भिटामिन सी उच्च हुन्छ, जसले प्रतिरक्षा स्वास्थ्य, तन्तुलाई बनाउने स्वस्थ राख्ने र आइरनलाई ग्रहण गर्न मद्दत गर्छ । प्याजमा पाइने भिटामिन सीले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । त्यस्तै यसमा प्रोबायोटिक पनि हुने कारणले पेटमा कीरा परेमा र प्रतिरक्षा शक्ति बढाउन यसको मुख्य भूमिका हुन्छ,  शरीरमा त्यसैले यसलाई सलादको रुपमा सेवन गर्नुपर्छ ।

गाजर

गाँजर हेर्दा पनि आकर्षक देखिने र छुटाउन नहुने सलादको एक खानेकुरा हो । गाँजरमा उच्च भिटामिन ए, सी, के, पोटासियम, आइरन, तामा, खनिज पाइन्छ । पौष्टिक गुणले भरिपूर्ण गाँजरको पाइने भिटामिन एले आँखालाई स्वस्थ राख्छ, त्यसैले सलादमा गाँजर समावेश गर्नु उपयुक्त हुन्छ ।

मुला

मुला माटोमुनि फल्ने फल हो । त्यसैले यसमा खनिज तत्व पनि प्रशस्त्र मात्रा पाइन्छ । यसले पेट र आन्द्राको विकार, पित्तनलीको समस्या, भोक नलाग्ने, मुख र घाँटीको समस्या, संक्रमण, ज्वरो, चिसो र खोकीको समस्यामा फाइदा गर्छ । मूलाले पाचन रस र पित्तको रसको प्रवाहलाई उत्तेजित गर्छ । जसले भोक जोगाउँछ ।

गेडागुडी

सलादमा टुसा उम्रिएको वा एक रात भिजाएको गेडागुडी खान सकिन्छ । सलादमा चना, केराउ, मुगी, दाल, जस्ता अन्न समावेश गर्न सकिन्छ । यी खानेकुरामा भिटामिन ए, बी, सी र ई, प्रोटिन, फाइबर र फोलिक एसिड पाइन्छ ।

फलफूल

फलफूलमा सबै प्रकारका भिटामिन र पोषक तत्व पाइन्छ, त्यसैले यसको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । सलादका लागि अंगुर, अनार, सुन्तला, मेवा, खर्बुजा, एभोकाडो, ड्रागन समावेश गर्न सकिन्छ ।

यस्तै पालुंगो, चाइनिज साग,  बन्दा, स्ट्रबेरी, लिची, खर्बुजा, ड्रागनफ्रुट्स, स्याउ, केरा लगायत फलफूललाई पनि सलादको रुपमा खान सकिन्छ ।

सलाद खाने सही समय

सलाद खाना खानुअघि, खाना खाँदा र खाएपछि तीनै चरणमा खान सकिन्छ । खाना खाएपछि केही समयपछि र बेलुका गरेर दिनको दुईपटक खाने बानी भएमा शरीरलाई पर्याप्त पोषण मिल्छ । सलाद खाने सबैभन्दा राम्रो समय यो खाना खानुअघि हो । यसो गर्नाले तौल घटाउन मद्दत पुग्छ । किनकि अगाडि सलाद खाँदा धेरै खाना खाने समस्या पनि हुँदैन र पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ ।

सलाद खाने सही तरिका

सकेसम्म काँचो र विभिन्न रङका तरकारी, फलफूल सलादमा समावेश गर्नुपर्छ । धेरैको सलादमा अत्यधिक चीज मिसाउने बानी हुन्छ । यसले पचाउनमा समस्या ल्याउनुका साथै क्यालोरी पनि बढी खाइन्छ, जसले वजन बढ्न सक्छ ।

मिसाएर खानु फाइदाजनक

सलादमा धेरै कुरा मिसाएर खान सकिन्छ । एकैथरी काँचो तरकारी राखेर वा दुई थरी मिसाएर वा विभिन्न तरकारी र फलफूलको मिश्रण गरेर सलाद बनाइन्छ । यद्यपि  एकै किसिमको सलाद खानुभन्दा मिश्रण गरेर खाँदा शरीरलाई चाहिने भिटामिन, खनिज पर्याप्त मात्रामा शरीरलाई पुग्छ ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खानेकुरा सलाद
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय