+
+

एक दशकमा थपिए ३७५ ठूला होटल र १५ हजार बेड

अच्युत पुरी अच्युत पुरी
२०८० असार २१ गते १५:११

२१ असार, काठमाडौं । पछिल्लो १० वर्षमा पर्यटकीय स्तर वा सो भन्दा माथिको वर्गका ३७५ वटा नयाँ होटल थप भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सन् २०२२ को वार्षिक पर्यटकीय तथ्यांक अनुसार एक दशक अगाडि १ हजार २६ वटा तारे र पर्यटकीय स्तरका होटेल सञ्चालनमा थिए । त्यसयताको १० वर्ष अर्थात २०७९ सालसम्ममा देशभर पर्यटकीय वा सो स्तरभन्दा माथिका होटेलको संख्या १ हजार ४०१ वटा पुगेको छ ।

यस अवधिमा एकतारे भन्दा माथिका स्तरीय होटेलको संख्या ५६ वटा थप भएको छ । अब देशभर तारे होटेलको संख्या १७३ पुगेको छ । ती होटेलमा १६ हजार ३३५ बेड छन् ।

यसैगरी देशभर पर्यटकीय स्तरका होटेलको संख्या १ हजार २२८ वटा पुगेको छ । यी होटेलमा ३७ हजार ३० वटा बेड रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार अब देशभर १४०१ वटा पर्यटकीय स्तरका होटेल पुगेका छन् ।

यी होटेलमा बेड संख्या ५३ हजार ३६५ वटा पुगेको छ । १० वर्ष अघि देशभर पर्यटकीय स्तरका होटेलको संख्या ९०९ र बेड संख्या २५ हजार १७ थियो ।

वार्षिक २५ लाख पर्यटक धान्न सक्ने क्षमता

होटेल संघ नेपाल (हान)का अनुसार नेपालमा आजकै दिनमा भएका होटेल क्षमताले वार्षिक २५ लाखसम्म पर्यटकलाई धान्न सक्छ । सरकारले सन् २०२० लाइ भ्रमण वर्ष घोषणा गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोभिडका कारण सो लक्ष्य प्रभावित भयो ।

तर, यसै अभियानलाई लक्षित गरी ७० को दशकपछि धेरै लगानीकर्ताले होटेलमा लगानी गर्न सुरु गरेको हानका कोषध्यक्ष युवराज श्रेष्ठ बताउँछन् । ‘अहिले जति क्षमता छ, यो क्षमताले वार्षिक २५ लाख पर्यटकलाई हामी सेवा दिन सक्छौं,’ उनले भने, ‘यो क्षमता अबको दुई वर्षमै ३० लाख पुग्नेछ ।’

सन् २०२५ पछि नेपालका होटेलले वार्षिक ३० लाख पाहुनालाई सेवा दिन सक्षम हुने उनले बताए । एक त सरकारको प्राथमिकतामा सेवा क्षेत्र पर्नु, अर्को पर्यटक आगमत समेत निरन्तर बढिरहँदा होटेलमा लगानी बढिरहेको उनको भनाइ छ ।

होटेल विजनेश तुलनात्मक रुपमा ‘ग्लामर’ मानिन्छ । सोहीकारण पछिल्लो समय ठूला विजनेश घराना समेत आतिथ्य उद्योगमा आकर्षित भइरहेका छन् । यसले पनि थप लगानी आउन प्रोत्साहन मिलेको उनको विश्लेषण छ ।

ठूला घरानाको लगानीले आतिथ्य सेवामा उत्साह

नेपालको आतिथ्य सेवामा यो दशक ठूला घरानाको प्रवेश भएको दशकका रुपमा समेत चिनिन्छ । चौधरी ग्रुपले २०७२ सालमा चितवनको मैघौलीमा ‘मेघौली सराई’ नामक अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालनमा ल्यायो ।

एमएस ग्रुपले यसै अवधिमा होटेल उद्योगमा लगानी गरी सेवा सञ्चालनमा ल्यायो । सो समूहको लगानीमा काठमाडौंको नागपोखरीमा पाँचतारे होटेल मेरियट र ठमेलमा होटेल फेयरफिल्ड मेरियट सञ्चालनमा ल्यायो । यो समूहले तेस्रो परियोजना समेत सुरु गर्ने तयारी गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानीमा चन्द्रागिरिमा यसै अवधिमा नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा आयो । आईएमई ग्रुपले अहिले देशका विभिन्न स्थानमा केवलकार चलाइरहेको छ ।

सो स्थानमा रिसोर्ट समेत सञ्चालनमा ल्याउने गरी यो समूहले तीव्र लगानी गरिरहेको छ । अन्य व्यापारिक घरानाका होटेल समेत अहिले पाइपलाइनमा रहेका कारण निकट भविष्यमै ठूला होटेल पाहुनालाई सेवा दिन योग्य हुने कोषाध्यक्ष श्रेष्ठले बताए ।

जीडीपीमा कति छ योगदान ?

चालु आर्थिक वर्ष २०७९/८० मा आतिथ्य सेवा (आवास तथा भोजन)ले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा १.९८ प्रतिशतको योगदान गर्छ ।

यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार भई १८.५६ प्रतिशतले वृद्धि हुने अनुमान केन्द्रित तथ्यांक कार्यालयले गरेको छ ।

विदेशी पर्यटकको आगमन बढ्नु र आन्तरिक पर्यटकीय गतिविधि बिस्तार हुँदा यसको सकारात्मक प्रभाव होटेल उद्योगमा देखिएको कार्यालयको विश्लेषण छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?