+
+

बाह्य क्षेत्रमा सुधार, आन्तरिक अर्थतन्त्रको संकट कहिले हट्ला ?

अच्युत पुरी अच्युत पुरी
२०८० असार २५ गते १९:५२

२५ असार, काठमाडौं । आर्थिक सूचकांकहरुले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको देखिएको छ । यद्यपि, आन्तरिक अर्थतन्त्रमा भने कमजोर अवस्था जारी रहेको सूचकांकले देखाएको छ ।

एक वर्षअगाडिको तुलनामा विदेशी विनिमय सञ्चितिमा २१.८ प्रतिशतको सुधार भएको छ । रेमिट्यान्स आप्रवाह मासिक १ खर्बभन्दा माथि पुगेको छ । रेमिट्यान्सको वृद्धिदर नेपाली रुपैयाँमा २३ प्रतिशत र अमेरिकी डलरमा १३ प्रतिशतका दरले उत्साहजनक देखिएको छ । पर्यटनबाट हुने भ्रमण आयमा झण्डै शतप्रतिशत बढेको छ । मुद्रास्फीति नियन्त्रण उन्मुख देखिएको छ ।

अघिल्लो साल शोधनान्तर स्थितिमा उल्लेख सुधार आएको छ । गत सालको जेठ मसान्तमा २ खर्ब ६९ अर्ब घाटामा रहेको सोधनान्तर स्थिति यो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको छ । चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्षको जेठ मसान्तसम्म चालु खाता घाटा ५ खर्ब ९२ अर्बले घाटामा रहेकोमा यो वर्ष सो घाटा ६९ अर्ब ४० करोडमा झरेको छ । व्यापार घाटा पनि १५ दशमलव २ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्बमा झरेको छ ।

तर, आन्तरिकतर्फ भने धेरैजसो सूचकांक अझै पनि कमजोर देखिन्छन् । आर्थिक वर्ष सकिन ५ दिनमात्रै बाँकी रहँदा पूँजीगत खर्च ५५ प्रतिशत मात्रै भएको छ । राजस्व संकलन दयनीय अवस्थामा देखिएको छ । आर्थिक वर्षको अन्तिम पाँच दिन बाँकी रहँदा राजस्व संकलन लक्ष्यको ६३ दशमलव ६३ प्रतिशत मात्रै भएको छ । यसले आन्तरिक अर्थतन्त्रको सुस्ततामा अझै काम गर्नुपर्ने अवस्थातर्फ इङ्गित तथ्यांकले गरेको छ ।

अर्कातिर, बजारमा मागमा आएको कमीमा सुधार हुन सकेको छैन । निजी क्षेत्रको आत्मविश्वासमा अझै पनि कमी छ ।

अर्थविद् डा. डिल्लीराज खनाल बाह्य क्षेत्रमा देखिएका सहजतालाई अब अर्थतन्त्र उकास्नमा उपयोग गर्नुपर्ने समय आएको बताउँछन् । यसका लागि मौद्रक नीति उपयुक्त माध्यम बन्ने उनको भनाइ छ । ‘रेमिट्यान्स बढेको छ, त्यसले बैंकमा तरलता बढाउँछ, अब मनिटरी पोलिसीमार्फत यसलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति ल्याउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सही समय आएको छ ।’

उत्पादनशील क्षेत्रमा लगानी बढ्नासाथ राजस्व वृद्धि हुने र अर्थतन्त्र चलायमान हुँदा आन्तरिक रुपमा परेको चाप पनि क्रमशः सुधार हुने उनको भनाइ छ । आर्थिक वर्ष सुरुवात हुने समय भएकाले पूँजीगत खर्चलाई प्रभावकारी बनाउन सक्दासमेत अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकिने अर्थविद्हरुको भनाई छ ।

झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा पनि सञ्चिति अमेरिकी डलरमा सञ्चिति गत वर्षको असार मसान्तको तुनलमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकले सात महिनाको वस्तु तथा सेवा धान्ने गरी विदेशी मुद्राको सञ्चिति कायम राख्ने लक्ष्य राखेको छ । यस हिसाबले मुलुकको बाहय क्षेत्रको अवस्था सहज बनेको देखिन्छ ।

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २६२ जना पुगेको छ ।

सेवा आयमा सुधार तर, विद्यार्थीमार्फत् विदेशियो ७५ अर्ब १४ करोड

नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आवको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो । सेवा आयतर्फ सबैभन्दा ठूलो रकम पर्यटनमार्फत हुन्छ । ११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ९३.८ प्रतिशत धेरै हो । सो आवमा भ्रमण आय २६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

नियन्त्रित मूल्यवृद्धि

नेपालमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आव २०७९/८० मा मूल्यवृद्धि नियन्त्रित अवस्थामा देखिएको छ । तर, दैनिक उपभोग्य वस्तुमा भने चर्को मूल्यवृद्धि कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति जेठ मसान्तमा ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आवका यसै महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो । यसलाई उपसूचक अनुसार हेर्दा भने दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेको छ ।

भूगोलगत रुपमा हेर्दा काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धिको चापमा देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत देखिन्छ । जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको छ । २०७९ जेठमा भने काठमाडौंमा ८.३२, तराईमा ८.२९, पहाडमा ९.२८ र हिमालमा ९.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

मर–मसला उपसमूहको मूल्य ३५.२९ प्रतिशत, रेष्टुरेन्ट तथा होटेलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले मूल्य बढेको छ । दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य मात्र ८.४९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार खाद्यान्नको तुलनामा सुर्तीजन्य पदार्थको मूल्य कम बढेको हो । घिउ तथा तेल उपसमूहको मूल्य भने १६.६० प्रतिशतले घटेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?