+
+
ब्लग :

मानसिक स्वास्थ्य : समृद्ध समाजको आधार

विश्व स्वास्थ्य संगठनद्वारा सन् २०१९ मा प्रकाशित तथ्याङ्क अनुसार हाल विश्वमा ९७ करोड मानिस पागलपन, डिपे्रसन, चिन्ता, बाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटी जस्ता कुनै न कुनै मानसिक समस्याबाट गुज्रिरहेका छन् । यो विश्वको कुल जनसंख्याको १३ प्रतिशत हिस्सा हो ।

रोशन ज्ञवाली रोशन ज्ञवाली
२०८० असार ३१ गते १४:४७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषा अनुसार स्वास्थ्य भन्नाले कुनै किसिमको रोग वा दुर्बलता नहुनु मात्र नभई पूर्ण रूपले शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुलाई बुझाउँछ । यद्यपि एक्काइसौं शताब्दीका उपलब्धिहरू सँगै बढ्दो क्रममा भौतिक आवश्यकताको पूर्तिसँगै व्यस्त जीवनमा मानसिक चाप सामान्य दैनिकी बनिसकेको छ ।

दिमागी सन्तुलन नबिग्रनुलाई मात्र मानसिक स्वस्थताको रूपमा हेरिने आजको परिभाषालाई डब्लुएचओले खण्डन गर्दै भनेको छ- ‘एक यस्तो दिमागी अवस्था जहाँ व्यक्तिहरू सकारात्मक भावले आफ्नो दक्षताको अनुभूति गर्ने, सहजै दैनिक जीवनका सामान्य तनाव सामना एवं व्यवस्थापन गरी कुनै पनि कामलाई फलदायी बनाउने र साथ–साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दछन् ।’ यसले विश्वभरि मानसिक स्वास्थ्यको परिभाषामा एकरूपता ल्याएको छ ।

मानसिक स्वस्थता र आन्तरिक मूल्य

मानसिक स्वस्थता आन्तरिक सन्तुलनको गतिशील अवस्था हो, जसले समाजको मूल्यमान्यता अनुरूप क्षमताको प्रयोग गर्न सक्षम बनाउँछ । जसका कारण हामी के सोच्छौं, कस्तो महसुस गर्छौं, कस्तो प्रतिक्रिया अथवा कार्य गर्छौं, साथसाथै निर्णय लिने दक्षता, पारिवारिक र सामाजिक सम्बन्ध र हाम्रो समाजको बौद्धिकताको आकार निर्धारण गर्ने गर्छ ।

यदि यसो हुन नसकेको खण्डमा शारीरिक स्वास्थ्य, सम्बन्ध, शिक्षा, जीवनशैलीमा खलल पुगी सोच, महसुस र व्यवहारमा नकारात्मक परिवर्तन आउँछ ।

मानसिक स्वास्थ्यका निर्धारक

रोशन ज्ञवाली

डब्लुएचओका अनुसार व्यक्ति समाज अनुसार फरक परिस्थितिहरू जस्तै ः जन्म, रहनसहन, जीवनशैली अनुसार मानसिक स्वास्थ्यको निर्धारकहरूलाई जटिल अन्तरक्रियाहरूको उपज मानिएको छ ।

व्यक्तिगत निर्धारक

अशिक्षा, अस्वस्थकर खाना, अनिद्रा, धुम्रपान, मद्यपान, शारीरिक संरचना साथै पुराना रोगहरू जस्ता कारणलाई लिइएको छ ।

पारिवारिक एवं सामाजिक निर्धारक

भावनात्मक एवं शारीरिक दुव्र्यवहार, यौन हिंसा र दुव्र्यवहार, धम्की, त्रास, बेरोजगारी, कामको तनाव, शहरी जीवन, जातीय अल्पसंख्यक, एक्कासी कसैको माया गुमाउनु जस्ता कारणलाई लिइएको छ ।

संरचनात्मक निर्धारक

आर्थिक, सामाजिक र लैङ्गिक असमानता, अन्याय, भेदभाव, सामाजिक बहिष्कार, द्वन्द्व विस्थापन र सेवाका कमजोर पहुँच जस्ता कारणलाई लिइएको छ ।

मानसिक स्वास्थ्य र विश्वव्यापी खतरा

विश्वव्यापी रूपमा बढ्दो व्यक्तिगत तनाव, कामको चाप, काम र व्यक्तिगत जीवनको बढ्दो असन्तुलन साथै, मानसिक रोग बारे जनचेतनाको कमिले गर्दा विश्वसामु आउन सक्ने सम्भावित खतराहरू आर्थिक गिरावट, सामाजिक ध्रुवीकरण, विस्थापन, सार्वजनिक स्वास्थ्य आपतकाल, व्यापक मानवीय आपतकाल लगायत हुन् ।

मानसिक स्वास्थ्यको वर्तमान अवस्था

सन् २०१९ मा डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क अनुसार हाल विश्वमा ९७ करोड मानिसहरू पागलपन, डिपे्रसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटी जस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । जुन विश्वको कुल १३ प्रतिशत जनसंख्या हो । यो संख्यामा पुरुषहरू भन्दा महिलाको संख्या ४.८ प्रतिशतले धेरै पाइएको छ ।

साथै सोही तथ्याङ्क अनुसार ७० लाख व्यक्ति मानसिक असन्तुलन, २८ करोड ३० लाख मद्यपान, ३ करोड ६० लाख जनसंख्या लागूऔषध दुव्र्यसनको शिकार भएको पाइएको छ ।

मानसिक रोग पछाडिको परिदृश्य

मानसिक रोग सँगैको एक्लोपनको विडम्बना साथै गम्भीर किसिमका मानसिक रोगका बिरामीहरू स्वस्थ व्यक्तिहरूको तुलनामा औसत १० देखि २० वर्ष चाँडै मर्ने गरेको पाइन्छ । यस पछाडिका सम्भावित कारण रोगको बोझ, औषधिको साइड इफेक्ट, मोटोपन, ग्लुकोज, इनटोलोरेन्स, बोसो व्यवस्थापन, धुम्रपान, मद्यपान, अस्वस्थकर खानपिन र शारीरिक निष्क्रियता रहेका छन् ।

मानसिक रोगबाट बच्ने उपाय

बर्तमान खोज अनुसन्धानहरूले सुझाएका व्यक्तिगत तथा सामाजिक तवरबाट अवलम्बन गर्न सकिने केही उपाय

  •  सरल एवं प्राकृतिक जीवनशैली अपनाउने
  •  स्वस्थकर भोजनमा जोड दिने
  •  सकारात्मक सोचाइको विकास गर्ने
  •  तनाव व्यवस्थापन विधि (योग, मेडिटेसन) अपनाउने
  • वर्तमानमा रमाउन र जिउन सिक्ने
  •  शारीरिक व्यायाम साथै सक्रियता बढाउने
  •  शारीरिक स्वास्थ्यको ख्याल राख्ने
  • मानसिक रोगबारे शिक्षा एवम् जानकारी लिने

एक स्वस्थ र समृद्ध समाजको कल्पना तब मात्र गर्न सकिन्छ जब हरेक व्यक्ति शारीरिक र मानसिक रूपले स्वस्थ रहन्छ । मानसिक स्वास्थ्य आन्तरिक सन्तुलनको एक गतिशील अवस्था हो जसका कारण शरीर र मस्तिष्कबीच सामञ्जस्य कायम रही व्यक्तिहरूले विश्वव्यापी मूल्य र मान्यता अनुरूप आफ्नो क्षमता प्रयोग गर्न सक्षम बनाउँछ । जसका कारण हाम्रो समाजको बौद्धिक स्तरको आकार निर्धारण हुन्छ ।

डब्लुएचओको प्रकाशित तथ्यांक हेर्दा आगामी सम्भावित तथ्यांक अझ विकराल रूपमा आउने देखिन्छ । जसका कारण विश्वमा आर्थिक एवम् सामाजिक रूपमा ठूलो खलल पुर्‍याउने खतराको सम्भावना देखिन्छ ।

सरकारी तहबाट नीतिगत सुधार गर्नुपर्छ भने सरोकारवाला निकायहरूले मानसिक रोगबारे जनचेतना जगाउँदै व्यक्तिगत र सामाजिक जीवन व्यबहारमा परिवर्तन गरी मानसिक रोगको खतराबाट बच्न सकिन्छ ।

लेखक फर्मासिस्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?