+
+

सुनकाण्डको अनुसन्धानमा राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १५:१३

८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।

राजस्व अनुसन्धान विभागले सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले बतायो ।

पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

त्यसक्रममा उनले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स मार्फत आएको कम्तीमा १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको थियो । यस प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?