+

मासुको विकल्पमा छन् यी खानेकुरा

२०८० साउन  ८ गते १६:५९ २०८० साउन ८ गते १६:५९
मासुको विकल्पमा छन् यी खानेकुरा

पाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन बनाउनुमा स्वाद नै मुख्य कारण हो ।

यद्यपि मासुमा त्यस्तो पोषक तत्व हुन्छ, जुन शरीरका लागि अति जरुरी मानिन्छ । खासमा मासु प्रोटिनको स्रोत हो ।

के पाइन्छ मासुमा ?

मासुमा भिटामिन बी १२ पाइन्छ । जुन वनस्पतिजन्य खाद्यपदार्थमा पाइँदैन । कुनै-कुनैमा पाए पनि एकदम न्यून पाइन्छ । यसबाहेक आइरन, स्याच्युरेटेड फ्याट, भिटामिन बी, ए, के, मिनरल्स, पोटासियम, फोस्फोरस, जिङ्क, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि पाइन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक हुन्छ । प्रोटिनले शरिरको उर्जा, लचिलोपना, तन्दुरुस्त र शरीरको रक्तकोषिकालाई सक्रिय बनाउन मद्दत गर्छ ।

मान्छेले आदिमकालमा मासुले छाक टार्ने गरेको इतिहास छ । तर कृषियुग हुँदै आजसम्म आइपुग्दा मान्छेसँग खानेकुराको ठूलो भण्डार नै निर्माण भइसकेको छ । अहिले फलफूल, सागसब्जी, अन्नलगायत खानेकुराका पर्याप्त स्रोत छन् ।

यही कारण पनि मान्छेले मासुको मात्रा घटाउँदैछ । कतिले चटक्कै मासु छाडेका छन् भने कतिले जन्मजात मासु खाएका छैनन् । रोगको कारण वा स्वास्थ्यप्रति सचेतनाको कारण पनि धेरैले मासु छाडेका छन् ।

मासु नखाँदा के हुन्छ ?

मासु नखाँदैमा शरीरलाई खासै त्यस्तो नराम्रो केही पनि गर्दैन । शाकाहारी खानेकुरा मात्र खाने मानिसलाई शरीरमा भिटामिन बी १२ को कमी भने हुन सक्छ । त्यस्तै भिगन डाइट जसमा माछामासु, अण्डासँगै दूध, दही पनि खाँदैन भने त्यस्ता मानिसमा भिटामिन बी १२ को साथै आइरनको कमी देखिन सक्छ । तर शाकाहारी भए पनि नियमित दूध, दही, गेडागुडी, दाल भात खाएमा शरीरमा प्रोटिनको कमी हुँदैन । तर भिटामिन बी १२ को कमी भने हुन सक्छ । किनकि यो मासुजन्य खानाबाट मात्र पाइन्छ । यसको लागि सप्लिमेन्ट दिइन्छ ।

यसबाहेक मासु नखाँदाका फाइदा पनि छन् । जस्तै मुटुरोग, उच्च रक्तचाप, खराब कोलेस्टेरोल, कब्जियत, मोटोपन र क्यान्सरजस्ता रोगको जोखिम कम हुन्छ ।

मासुको साटो के के खान सकिन्छ ?

मासु प्रोटिनको मुख्य स्रोत भए पनि यसको सट्टामा यी शाकाहारी खानाबाट शरीरमा प्रोटिनको आपूर्ति गर्न सकिन्छ ।

पनिर, टोफु तथा दूधका परिकार : पनिर, दही, चीज जस्ता दुग्धजन्य उत्पादनमा प्रोटिन भरपुर मात्रामा पाइन्छ । यसबाहेक भिटामिन बी १२, आइरन, मिनरल्स पाइन्छ । मासु नखानेले यी चीज खान सकिन्छ । अर्को टोफु जुन पनिर जस्तै हो । यो भटमासबाट बनाइन्छ । यसलाई सोया पनिर पनि भनिन्छ । कतिपयले पनिरको सट्टा टोफु पनि खान सक्छन् ।

गेडागुडी : टुसाएको गहुँ, चना, मुँग, दाल जस्ता उमारिएको गेडागुडीमा प्रोटिन भरपुर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ । यसबाहेक गेडागुडीलाई उमालेर वा पकाएर (फ्राइ, झोल बनाएर) दैनिक खानासँग खान सकिन्छ । जसमा राजमा, केराउ, चना मुंगको दाल लगायत छन् ।

सोयाबिन : सेतो वा कालो भटमास पनि खान सकिन्छ । भुटेर वा हरियो हुँदा उसिनेर खान सकिन्छ ।

हरियो मटर : यसमा अत्यधिक प्रोटिन पाइने हुँदा मासु नखाने मानिसका लागि हरियो मटर प्रोटिनको रुपमा लिइन्छ । यो जाडो मौसममा पाइन्छ । यसमा प्रोटिनबाहेक, एमिनो एसिड, कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्याल्सियम र फस्फोरस पनि पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने हुँदा मासु नखाने मानिसका लागि मटर प्रोटिनको रुपमा लिइन्छ ।

च्याउ : च्याउमा प्रोटिन पाइन्छ । यो पनि मासु नखानेको लागि शरीरमा प्रोटिनको पूर्ति गर्न मद्दत गर्ने तरकारी हो । याबाहेक च्याउमा फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन र जिंक पाइन्छ । त्यस्तै भिटामिन डी, थियामिन, रिबोफ्लेभिन, नियासिन, भिटामिन बी, प्यान्टोथेनिक एसिड, फस्फोरस, पोटासियम, कपर र सेलेनियम च्याउमा पाइन्छ ।

अण्डा : यदि मासु नखाने तर अण्डा खाने व्यक्तिलाई यो फाइदाजनक हुन्छ । यसमा पनि मासुमा जतिकै प्रोटिन हुन्छ । यसमा भिटामिन बी १२ आइरन र प्रोटिन पाइन्छ । यसलाई तेलमा पकाएर भन्दा पनि उसिनेर खाँदा अझ लाभदायक हुन्छ ।

बदाम : बदाममा प्रोटिन उच्च मात्रामा पाइन्छ । यो सफा पानीमा एकरात भिजाएर खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

सातु : चना केराउ जौ र मकैबाट भुटेर बनाइने सातुमा पनि प्रोटिन पाइन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम र सोडियम पाइन्छ । यो दूध वा तातो पानीमा घोलेर वा घिउमा भुटेर खान सकिन्छ । प्रायजसो यो बच्चालाई सातु खुवाउने चलन छ ।

(पोषणविद् सिंह काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानेकुरा मासु
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय