+
+
सीपीसी नेता युआनको नेपाल भ्रमण :

प्रचण्डलाई चीनको सन्देश : पुराना मित्रहरु भुल्नुहुन्न

आफ्नो आर्थिक सुरक्षा चासोलाई सम्बोधन गर्न नेपालले एउटा अडान लेओस् र अहिलेको परिस्थितिमा कतै नछुटोस् भन्नेमा चीन सतर्क देखिन्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० साउन ९ गते २२:०३

९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित चीन भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता युआन च्याचिन स्वदेश फर्किएका छन् ।

सीपीसीका पोलिटब्यूरो सदस्य युआन श्रीलंका भ्रमण गरेर आइतबार काठमाडौंमा ओर्लिएका थिए । त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेल, कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरे भने साँझ माओवादी केन्द्रका नेताहरुसँग डिनर मिटिङ गरे ।

सोमबार सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरे भने मंगलबार बेइजिङ उड्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे । काठमाडौं बसाइका क्रममा नेपाल मजदुर किसान पार्टीसहित झण्डै एक दर्जन दलका नेताहरुसँग भेटवार्ता गरे ।

भेटमा युआनले सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएको सहमति तथा सम्झौता कार्यन्वयनमा जोड दिएका छन् ।

सीको भ्रमणका क्रममा बीआरआईको फ्रेमवर्कअन्तर्गत रेल, सडक, हवाई यातायात, सञ्चार, बन्दरगाह लगायतबाट हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने समझदारी भएको थियो ।

चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालले सन् २०१७ मै हस्ताक्षर गरेको थियो । तर सीले नेपाल भ्रमण गरेको ३ वर्ष भइसक्दा पनि परियोजना अघि बढेको छैन ।

‘चिनियाँ राष्ट्रपतिले नेपालमा गरेको भ्रमणमा भएका सहमति कार्यान्वयन नै यो भ्रमणको मुख्य सन्देश थियो । त्यसमै बढी जोड देखियो’, एमाले विदेश विभागका सदस्य गोपाल खनाल भन्छन् ।

नेता युआनले सीको भ्रमणका बेला भएका समझदारीहरु कार्यान्वयन गर्दा नेपालले खोजेको स्थिरता र विकासलाई मद्दत पुग्ने बताएका छन् । ‘भेटमा दुई देशबीचको सम्बन्ध सुधारसँगै दुई पार्टीबीचको कुराकानी पनि स्वभाविक हो, भयो’ माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, ‘विगतकालमा भएका सहमति कार्यान्वयनमा उहाँको अलि बढी जोड थियो ।’

चीन जान लागेका प्रचण्डलाई सन्देश

नेताहरुका अनुसार, चिनियाँ नेता युआन राजनीतिक हैसियतमा नेपाल आएका हुन्, त्यो पनि श्रीलंकाबाट फर्किने क्रममा काठमाडौं आएकाले रिट्रिट भिजिट पनि हो ।

तर युआनको भ्रमण यतिमै सीमित छैन । सीपीसीका २४ जना पोलिटब्यूरो सदस्यमध्ये उनी एक हुन् र चिनियाँ राष्ट्रपति सीले विश्वास गरेका नेता हुन् ।

र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका हुन् । सरकारी अधिकारीहरुका अनुसार, प्रचण्ड आगामी सेप्टेम्बरमा चीन जाने तयारी छ । प्रचण्डलाई बेइजिङमा स्वागत गर्नुअघि नेपाललाई नजिकबाट बुझ्न सीपीसीका पोलिटब्यूरो सदस्य काठमाडौं आएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने उनी आउनु अघिल्लो दिन मात्र संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन इटाली उडेका थिए । त्यसैले प्रचण्डसँग एक घन्टा भर्चुअल सम्वाद गरे । लगतै द्वारिका होटलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायतका नेताहरू झण्डै दुई घण्टा छलफल गरे ।

माओवादी केन्द्रका थप पदाधिकारी समेतको उपस्थितिमा समयबजी, फर्सीको हलुवा, लप्सीको अचार लगायतका परिकारसहित डिनर मिटिङ गरे ।


स्रोतका अनुसार माओवादी नेताहरुसँग भएको भेटमा चिनियाँ नेताहरुले नेपालको आन्तरिक मामिलामा ‘नेपालको स्वाधीनता कायमै रहोस्’ भन्ने आफूहरुको धारणा रहेको बताए । अनि नेपालले अमेरिकी परियोजना एमसीसी स्वीकार गरेको उल्लेख गर्दै नेपालको हितमा छ–छैन हेर्नु, भएकै होला भनेका छन् ।

अनि ‘बाटो, झण्डा र दिशा परिर्वतन गर्नुहुन्न’ भन्ने आफूहरुको शिक्षा भएको सुनाए । समाजवादको बाटो, कम्युनिस्ट झण्डा र समाजवादतर्फ अघि बढ्ने दिशा नछाडेकै कारण आफूहरु सफल भएको सुनाएका चिनियाँ नेताहरुले अप्रत्यक्ष रुपमा एमाले र माओवादी मिलोस् भन्ने चाह व्यक्त गरे ।

एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि असोज २०७६ मा उच्चस्तरीय भ्रमणका साथै कम्युनिस्ट विचारधारा आदान प्रदान गर्ने, विचारधारात्मक प्रशिक्षणलाई निरन्तरता दिने लगायत भाइचारा सम्बन्धी ५ बुँदे समझदारी भएको थियो ।

एमाले र माओवादीको पार्टी एकता भंग भएसँगै त्यो समझदारी अलपत्र गरेको छ, जसप्रति चिनियाँ नेताहरु खुसी छैनन् । १० पुसमा एमाले र माओवादीको गठबन्धन बन्दा अब फेरि एकताको वाटोमा जाला कि नजाला भन्ने प्रष्ट नहुँदै राजनीतिक घटनाक्रम फेरियो ।

एमालेसँगको गठबन्धन छाडेर माओवादी फेरि कांग्रेसतिर फर्किएको छ । अर्कातिर नेपालमा भारतसँगै अमेरिकाको उपस्थिति बढ्दो छ । असार अन्तिम साता मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका थिए भने अर्को महिना एमसीसी परियोजना कार्यान्वयन (इन्ट्री इन टु फोर्स) मा लैजाने क्रममा अर्का उच्च अधिकारी आउनेछन् ।

नेपालमा भारतसँगै अमेरिकाको प्रभाव बढिरहेको विश्लेषण गरेको चिनियाँ पक्षमा कहीँ न कहीँ आफू साइडलाइनमा गइरहेको त छैन भन्ने चासो र चिन्ता पाएको माओवादीका एक नेताले बताए । ती नेता भन्छन्, ‘उहाँहरुले सबैसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ, तर पुराना मित्रहरुलाई भुल्नु हुन्न भन्नुभएको छ ।’

सँगै, नेपालले आफ्नो आर्थिक सुरक्षालाई सुनिश्चित गरोस् भन्ने सन्देश पनि युआनको भ्रमणले दिएको ती नेता बताउँछन् । उनका अनुसार, युआनको भ्रमणबाट त्यस्तो सन्देश दिइनुमा भारत र अमेरिकातर्फ नेपालले अलिक बढी महत्व दिएको देखिनु हो ।

गएको जेठ तेस्रो साता भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने र बंगलादेशसम्म लैजाने सम्झदारी भएको छ । अझ, चिनियाँ लगानीमा बनेका आयोजनाको विद्युत खरिद नगर्ने अडानमा भारत छ । भारतले अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी कार्यविधि ल्याएको छ, जसमा आफूसँग विद्युत व्यापार सम्झौता नगरेका देश (चीन र पाकिस्तान) को लगानी भएको परियोजनाको विजुली नकिन्ने उल्लेख छ ।

व्यवहारमा भने चिनियाँ लगानी मात्र होइन, ठेकेदार संलग्न परियोजना (तामाकोशी) को विजुली किन्न मानेको छैन । अझ पछिल्लो समय त परियोजनाको प्रवर्धक कम्पनी र लगानी गर्ने नेपाली बैंकको विस्तृत विवरण खोज्न थालेको छ । यसले नेपालमा चिनियाँ लगानी निरुत्साहित हुने भएकाले उत्तरी छिमेकीको चिन्ता देखिन्छ ।

चिनियाँ नेता युआन च्याचिनको भ्रमणका क्रममा आफ्नो आर्थिक सुरक्षालाई सम्बोधन गर्न नेपालले एउटा अडान लेओस् भन्ने सर्तकता बढी देखिएको बताउने माओवादीका एक नेता भन्छन्, ‘उनीहरुको सचेतता मात्र हो कि असन्तुष्टि नै हो भन्ने चाहिँ प्रधानमन्त्री प्रचण्डको अब हुने चीन भ्रमणमा प्रष्ट हुनेछ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?