+

यस्ता छन् दाँत सफा गर्ने आठ तरिका

२०८० साउन  ११ गते १४:०८ २०८० साउन ११ गते १४:०८
यस्ता छन् दाँत सफा गर्ने आठ तरिका

दाँतको काम खाना चपाउने त छँदैछ, बोल्न र सुन्दरताका लागि पनि यो महत्वपूर्ण छ । मानिसको व्यक्तित्व नै झल्काउने दाँतको सरसफाइ गर्ने खास तरिकाबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।

दाँतलाई सफा गर्ने मुख्य तरिका नियमित रुपमा ब्रस गर्नु हो । कुनै खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । आजभोलि दाँत चम्काउने वा सेतो बनाउने गरेको पनि पाइन्छ, तर यो त्यति वैज्ञानिक हुँदैन ।

हरेकको दाँतको आफ्नै प्राकृतिक रंग हुन्छ । सबैको सेतो वा चम्किलो हुन्छ भन्ने हुँदैन । दाँत सफा राख्नु पहिलो शर्त हो । चम्किलो र सेतो बनाउने चक्करमा धेरै घोट्दा वा अरु उपाय खोज्दा दाँतको प्राकृतिक इनामेल नष्ट हुन सक्छ र समस्या निम्तिन सक्छ ।

प्राय:जसो दाँत सफा राख्न दिनको दुईपटक बिहान बेलुका नरम ब्रसमा मञ्जन लगाएर दाँत माझ्ने गर्नुपर्छ ।

किन गर्ने ?

दैनिक खानेकुरा खाइसकेपछि त्यसको अंश दाँतमा रहन्छ । त्यो सफा गरिएन भने केही समयपछि यो दाँतमै सड्ने र कुहिन थाल्छ । यही कारणले मुख गन्हाउने, दाँत कमजोर हुने गर्छ । दैनिक दाँत सफा राख्नाले यस्तो अवश्य हुन नदिई दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ ।

डा. विप्लव अधिकारी

दाँत सफा गर्ने ८ सामग्री

ब्रस गर्ने : कम्तीमा दिनमा दुई पटक ब्रस गर्दा राम्रो हुन्छ । प्राय:जसो बिहान उठेपछि दाँतमा ब्रस गर्ने गरिन्छ । तर यो तरिका ठीक होइन । ब्रस बिहानको खाना खाइसकेपछि वा रातिको खाना खाइसकेपछि गर्नु उत्तम हुन्छ । जसले खाना खाइसकेपछि दाँतमा अड्किएका फोहोर बाहिर निकाल्न मद्दत गर्छ ।

कुल्ला गर्ने : दिनभरमा हामी धेरै पटक खानेकुरा खाइरहेका हुन्छौं । हरेक पटक ब्रस गर्न सम्भव हुँदैन । त्यसैले खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ । यसरी दाँतको उचित ख्याल राख्ने हो भने दाँत सड्ने वा कमजोर हुने जोखिम कम हुन्छ ।

इलेक्ट्रोनिक ब्रस : यसले पनि दाँत सफा गर्न सकिन्छ । तर यसलाई सही तरिकाले व्यक्तिले चलाउन जान्नुपर्छ । यदि यसलाई राम्रोसँग प्रयोग गर्न आएन भने यसले हानि गर्न सक्छ । किनकि यो ब्रस जहाँ राख्यो त्यही एक ठाउँमा मात्र घुमिरहेको हुन्छ । यसले गर्दा दाँतमा भएको सेतो देखिएन भने इनामेल पातलो हुने जोखिम हुन्छ ।

ब्लिचि : दाँतको अवस्था हेरेर यसको प्रयोग गर्न सकिन्छ । तर डाक्टर वा प्रयोग गर्ने सामानबारे राम्रोसँग बुझेर वा परामर्श लिएर मात्र प्रयोग गर्दा उचित हुन्छ । बजारमा आएको सामान जुनसुकै प्रयोग नगर्दा उपयुक्त हुन्छ । किनकि सबैलाई त्यो सामान उपयुक्त नहुन सक्छ ।

माउथ वास : यसले पनि दाँत सफा राख्न सकिन्छ । तर यो नियमित प्रयोग गर्नु हुँदैन । चिकित्सकको परामर्श लिएर प्रयोग गर्दा लाभदायक हुन्छ । कि त कहिलेकाहीं प्रयोग गर्न सकिन्छ ।

टुथपिक : खाना वा खाजा खाइसकेपछि दाँतको कुनाकाप्चामा अड्किएको खानालाई टुथपिकले पनि सफा गर्न सकिन्छ । तर यसको प्रयोग गर्दा ध्यान पुर्‍याउनुपर्छ । किनकि टुथपिक नै टुक्रिएर दाँतमा अड्किन सक्छ । जसकारण दाँत सफा हुनुको साटो संक्रमण हुन सक्छ । त्यसैले ध्यानपूर्वक टुथपिकको प्रयोग गर्ने तर नियमित गर्नुहुँदैन ।

डेन्टल फ्लस धागो : टुथपिकले जस्तै यसले पनि दाँतमा अड्किएका खानेकुरा निकाल्न मद्दत गर्छ । यो टुथपिक भन्दा भरपर्दो हुन्छ । यो खाना खाइसकेपछि समय मिलेको बेलामा गर्न मिल्छ ।

स्केलि: दाँतलाई अझ राम्ररी हेरचाह गर्ने हो भने स्केलिङ गराउन सकिन्छ । आवश्यकता अनुसार ६ महिनामा एक पटक स्केलिङ गराउन सकिन्छ । यो भनेको दाँतमा जमेको फोहोरलाई निकाल्ने विधि हो । यसले पूरै दाँत मुख सफा गरिन्छ । दाँतको माथिल्लो गिजा सफा राख्न स्केलिङ गरिन्छ । जुन नियमित ६-६ महिनामा गर्ने गरिन्छ ।

दाँतको गिजाभित्र खानेकुरा अड्किएर गिजा सुन्निने, पाक्ने, सास गन्हाउने हुन सक्छ । यस्तो अवस्थामा दाँतलाई जरासम्म सफा गर्ने गरिन्छ गर्दै जानुपर्छ । जसमा गिजाभित्रका दाँतलाई पनि सफा गर्ने गरिन्छ । सफा गरिसकेपछि दाँतमा पोलिसिङ गर्ने गरिन्छ । जसले गर्दा दाँतमा फोहोर टाँसिने समस्या न्यून हुन्छ ।

यसका लागि कति खर्च लाग्छ ?

दाँत स्केलिङको शुल्क ठाउँ र दाँतको अवस्था हेरेर लिने गरिन्छ । सामान्यतया एक हजार रुपैयाँदेखि पाँच हजारसम्म वा त्यो भन्दा पनि बढी शुल्क लाग्न सक्छ ।

यी माथिका सबै सामग्री प्रयोग गर्न मिल्छ । तर यसको बारेमा राम्रोसँग बुझेर र सकेसम्म चिकित्सकको परामर्श लिएर मात्र प्रयोग गर्दा लाभदायक हुन्छ । किनकि यी सामग्री सबै दाँतका लागि उचित हुँदैनन् । त्यसैले दाँत सफा गर्ने भनेर बजारमा आएको जे पनि चीज प्रयोग गरिहाल्नुहुँदैन । यसले फाइदाको सट्टा हानि पुर्‍याउन सक्छ ।

दाँत स्वस्थ राख्न के गर्ने ?

आजभोलि दाँत सफा राख्न ब्लिचिङ वा सेतो बनाउन, भएको दाँत काटेर नक्कली दाँत राख्ने चलन छ र जुन एकदम गलत हो । त्यसैले दाँतलाई सफा राख्न सकेसम्म ६ महिनामा एकचोटि स्केलिङ गर्न सकिन्छ । बजारमा आएका नयाँ सामग्री भन्दा प्रयोग गर्नुभन्दा प्राकृतिक रुपमा ब्रस, कुल्ला र पानी खान सकिन्छ ।

(दन्त चिकित्सक डा. अधिकारी प्रिमियर डेन्टल क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

दाँत स्वास्थ्य
डा. विप्लव अधिकारी
लेखक
डा. विप्लव अधिकारी
दन्तरोग चिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : १२६९२ बीडीएस हाल भक्तपुर सूर्यविनायकस्थित प्रिमियर डेन्टल क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय