+
+

ज्योतिषशास्त्र : मलमासमा के गर्ने, के नगर्ने ?

प्राचार्य विष्णुप्रसाद पोखरेल प्राचार्य विष्णुप्रसाद पोखरेल
२०८० साउन १४ गते १६:१८

चन्द्रमाको तिथिको घडी–पला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ ।

पञ्चाङ्ग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ, जबकि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमाबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एक पटक आउँछ ।

यस वर्ष साउन २ गतेबाट सुरु भएको मलमास साउन ३१ गते सकिन्छ ।

मलमासमा के गर्ने ?

घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरू र विष्णुको स्तुति, कीर्तन आदि मलमासमा गर्न मिल्छ । साथै बालबच्चाको जन्म भएपछि गरिने नामकरण र कसैको मृत्यु भएपछि गरिने (काजक्रिया)लाई नैमित्तिक कर्मका रूपमा लिइन्छ । यस्ता कामहरू गर्नका लागि पनि मलमास वा पुरुषोत्तम मासमा कुनै अवरोध हुँदैन अर्थात् गर्न मिल्छ ।

के नगर्ने ?

मलमासमा सधैं गरिने नित्यकर्म र नगरी नहुने कार्यबाहेक अरू कार्यहरू गर्न निषेध गरिएको छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराण वाचन जस्ता कार्य गर्नुहुँदैन ।

विशेषगरी अग्नि कर्म, यज्ञ, मन्दिरमा देवताको प्राणप्रतिष्ठा, कुनै ठूलो दान, व्रतको सुरुवात, वेदाध्ययन, वृषोत्सर्ग, चूडाकरण, तीर्थयात्रा, विवाह, राज्याभिषेक, घर बनाउने काम, नयाँ सवारीसाधन किन्ने काम, गृह प्रवेश, घर सर्ने आदि कामहरू मलमासमा निषेध गरिएको छ ।

मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमतीसँगै बस्न नहुने प्रचलन छ । मलमासमा गर्भ रहे बच्चा स्वास्थ्य नजन्मने भएकाले सँगै बस्न नहुने भनिएको हो ।

मलमासमा गर्न मिल्ने पुरूषोत्तम महात्मा पूजा

पुरुषोत्तम महिनामा भगवान् विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ । मलमासलाई भगवान् विष्णुले आफ्नो नाम पुरुषोत्तम दिएकाले यस महिनामा भागवत कथा सुन्ने वा पठन गर्ने, ध्यान गर्ने, मन्त्र जप गर्ने, पूजा गर्ने, विष्णुको पूजा गर्ने, दान गर्ने र पवित्र नदीमा स्नान गर्ने जस्ता धार्मिक कार्यले मानसिक अशान्ति हट्छ । विचारको शुद्धता बढ्ने र मन शान्त रहन्छ ।

साथै यस महिनामा मलमासको कथा पनि पढ्ने गरिन्छ । यस महिनाको एकादशीको व्रत बस्दा पुरुषोत्तम महिनाको कथा पढ्दा शुभ फल प्राप्त हुने जनविश्वास छ ।

(वेद विद्याश्रम गौशालाका प्राचार्य विष्णुप्रसाद पोखरेलसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?