+
+

ट्वीटरलाई उकास्न एलन मस्कको चीनतर्फ नजर ! आखिर किन ?

एजेन्सी एजेन्सी
२०८० साउन १५ गते १२:५८

एलन मस्कले यसै हप्ता माइक्रो ब्लगिङ साइट ट्वीटरलाई एक्स नामबाट रिब्रान्ड गरे ।

मस्कको यो कदमलाई चिनियाँ एप विच्याटकै बाटोतर्फ ट्वीटरलाई लैजानका लागि उठाइएको कदम मानिएको छ ।

आफ्नो सोसल मिडिया कम्पनी ट्वीटरलाई एउटा ठूलो प्लाटर्फमको रुपमा परिणत गर्ने आफ्नो चाहना रहेको मस्कले बताउँदै आएका थिए ।

मस्कले हाल नाम परिवर्तन गरी एक्स बनाइएको ट्वीटर कम्पनीलाई गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेका हुन् ।

एलन मस्क वास्तवमा चिनियाँ एप विच्याटका प्रशंसक हुन् । उनले एभ्रिथिंग एप (सबै काम गर्न सकिने एउटा सम्पूर्ण एप) को रुपमा रहेको विच्याटको तारिफ गरिसकेका छन् ।

विच्याटले एउटै प्लाटर्फममा च्याट, डेटिंग, भुक्तानी तथा सोसल मिडियाको सुविधा दिने गर्दछ ।

मस्कले ट्वीटरलाई पनि विच्याटजस्तै एउटा सम्पूर्ण एप बनाउन चाहेको बताएका थिए । यदि त्यस्तो भयो भने यो ट्वीटरका लागि ठुलो सफलता हुनेछ ।

हालै एक्स (पहिलेको ट्वीटर) मा गरेको एक पोस्टमा मस्कले आगामी महिनाहरुमा एक्स प्लाटर्फममा सबै खालका वित्तीय कारोबारहरु गर्न सकिने फिचर थप गर्ने बताएका छन् ।
यसबाट कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने र आर्थिक स्थिति सुध्रिने आशा मस्कको छ ।

स्मरण रहोस् मस्कले खरिद गरेयता ट्वीटरको आम्दानी आधाले घटिसकेको छ । एक्स कम्पनी ठुलो परिमाणको ऋणले थलिएको छ र ऋण चुक्ता गर्न सकिरहेको छैन ।

उता चिनियाँ एभ्रिथिंग एप विच्याटलाई सन् २०११ मा प्रसिद्ध कम्पनी टेन्सेन्टले लञ्च गरेको हो । चीनको एक अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशले यो एप प्रयोग गर्दछन् ।

विच्याटलाई सुपर एप मात्र भन्नु पनि यसको अवमूल्यन हुन्छ किनकि यो एउटा सम्पूर्ण एप हो ।

विच्याटले एउटै प्लाटर्फमबाट मेसेजिंग, भ्वाइस तथा भिडियो कल, सोसल मिडिया, खाने कुराको डेलिभरी, मोबाइल भुक्तानी, गेम्स, समाचार तथा डेटिंग सर्भिसलगायतका सुविधाहरु उपलब्ध गराउँछ । यस अर्थमा विच्याट एउटा यस्तो एप हो जसभित्र ह्वाट्सएप, फेसबुक, एप्पल पे, अमेजन, टिन्डरलगायतका सबै एपहरु हालिएको छ ।

विच्याट चिनियाँ समाजमा यतिविधि प्रयोग गरिन्छ कि चिनियाँहरू विच्याटबिना दैनिकीको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

विच्याट एउटा ह्वाट्सएप तथा आइमेसेजन जस्तो प्लाट मको रुपमा सुरु भएको थियो । यसमा सबैभन्दा धेरै प्रयोग हुने फिचर चाहिं च्याट्स तथा मोमेन्ट्स हुन् ।

च्याट्स फिचर भनेको ह्वाट्सएप जस्तै च्याटिंग प्लाटर्फम हो भने मोमेन्ट्स भनेको फेसबुक जस्तै प्लाटर्फम हो ।

ह्वाट्सएपको वालेट फिचर पनि निकै धेरै प्रयोग हुन्छ । यसलाई डेबिट तथा क्रेडिट कार्डसँग लिंक गर्न सकिन्छ । चीनमा धेरैजसो पसल तथा अनलाइन रिटेलरहरुले पनि विच्याटबाटै भुक्तानी लिन्छन् ।

प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी यो एपको माध्यमबाट भुक्तानी गर्न सक्दछन् । यसबाट घरेलु युटिलिटीको बिल भुक्तानी गर्न सकिनुका साथै कर्जा लिन र लगानी गर्न समेत सकिन्छ ।

विच्याटमा सरकारी सुविधाहरु पनि उपलब्ध छन् । प्रयोगकर्ताहरुले सामाजिक सुरक्षासँग सम्बन्धित जानकारीहरु प्राप्त गर्न, टिकट बुक गराउन र अस्पतालमा नाम लेखाउनका लागि समेत विच्याट प्रयोग गर्न सक्दछन् ।

के मस्कले चीन बाहिर काम गर्ने विच्याटजस्तै एप बनाउन सक्लान् ? यसको उत्तर त आउने दिनमै थाहा होला । तर विज्ञहरुका अनुसार यो सबै कुरा डिजिटल भुक्तानीमा भर पर्नेछ

कोभिड महामारीका बेला जब चीनमा शून्य कोभिड प्रतिबन्ध लगाइएको थियो त्यसबेला मानिसहरुका लागि विच्याट अनिवार्य जस्तै बनेको थियो । यो एपको माध्यमबाट सिर्जना हुने स्वास्थ्य कोड विना मानिसहरु बाहिर निस्किन पाउँदैनथे ।

तर यो एउटै एपमा यतिधेरै फिचर हुनुका केही घाटा पनि छन् । धेरै फिचरहरुका कारण यसले फोनमा धेरै मेमोरी कब्जा गर्दछ । यसले डाटा स्टोरेजको केही गिगाबाइट ठाउँ लिन्छ ।

विच्याट र सेन्सरको संकट

चीनमा मानिसहरुको जीवको हरेक हिस्सामा विच्याटको उपस्थितिले सरकारको तर्फबाट लागू गरिने सेन्सरशिपको चिन्ता पनि बढाइदिएको छ । यसबाट सरकारको निगरानी तथा प्राइभेसीसँग सम्बन्धित चिन्ताहरु समेत पैदा गरेको छ ।

चीनले विभिन्न विदेशी वेबसाइटहरुलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाएको छ । बीबीसीजस्ता समाचार साइटदेखि फेसबुक जस्ता सोसल मिडिया प्लाटर्फममाथि पनि चीनमा बन्देज छ ।

यता एलन मस्कचाहिं एक्सलाई नै विच्याटजस्तो बनाउन चाहन्छन् । तर विडम्बना चीनमा एक्स (ट्वीटर) पनि प्रतिबन्धित छ ।

इन्टरनेटमा सरकारको त्यस हदसम्मको नियन्त्रण ती मानिसहरुका लागि निकै खतरनाक हुन्छ जसले विच्याटमा सरकारविरुद्ध बोल्दछन् ।

त्यसैले सरकारसँग असहमति राख्नेहरुको अकाउन्ट कैयन् दिन वा हप्तासम्मका लागि बन्द हुने कुरा समान्यजस्तै हो । च्याट वा मोमेन्ट्समा सरकारको विरुद्धमा केही कुरा लेख्दा वा बोल्दा यस्तो हुनसक्छ ।

यहाँसम्म कि आम मानिसको दृष्टिमा विवादास्पद नदेखिने खालका जानकारीहरु शेयर गर्नु पनि सरकारी सेन्सरको दायरामा आउने खतरा रहन्छ ।

एटलान्टिक काउन्सिलको ग्लोबल चाइना हबमा सहनिर्देशक रहेका किश लियाओका अनुसार विच्याट जस्ता सुपरएपहरु मानिसको जिन्दगीमाथि नियन्त्तण गर्ने सरकारको उद्देश्यमा सहयोगी बनिरहेका छन् ।

उनी भन्छन्, ‘एक प्रकारले यो राजनीतिक जोखिमबाट आफैंलाई बचाउने सरकारको तरिका हो । अर्थात् एउटा यस्तो तरिका जसबाट सरकार र अन्ततः चिनियाँ कम्युनिष्ट पार्टीको सत्तालाई चुनौति नआओस् ।’

हङकङस्थित चाइनिज विश्वविद्यालयका कचेंग फांगका अनुसार चीनमा विच्याटको सफलतामा दुईवटा कुराको हात छ ।

उनका अनुसार चीनमा डेस्कटपको तुलनामा स्मार्टफोनमा विच्याट चलाउने मानिसहरु धेरै छन् । त्यसैले वेबको साटो एप चलाउँदा तथा कम्प्युटरको तुलनामा स्मार्टफोनमा एभ्रिथिंग प्लाटर्फम बन्न सजिलो हुन्छ ।

साथै चीनमा प्रतिस्पर्धासँग सम्बन्धित नियमन कमजोर रहेको उनी बताउँछन् । तर पश्चिमा देशहरुमा भने यस्तो नियमन ससक्त छ । चीनमा प्रतिस्पर्धासँग सम्बन्धित नियमनहरु कमजोर भएका कारणले गर्दा विच्याटका लागि शपिंङ प्लाटर्फम ताओबाओ तथा भिडियो एप डुइनजस्ता प्रतिद्वन्द्वी प्लाटर्फमहरुलाई ब्लक गर्न सजिलो छ ।

के मस्कले चीन बाहिर काम गर्ने विच्याटजस्तै एप बनाउन सक्लान् ? यसको उत्तर त आउने दिनमै थाहा होला । तर विज्ञहरुका अनुसार यो सबै कुरा डिजिटल भुक्तानीमा भर पर्नेछ ।

नीति अनुसन्धान कम्पनी ट्रिभियम चाइनाकी केन्ड्रा शेफरका अनुसार चीनमा विच्याटलाई सफल बनाउने अहम चिजहरु मस्कले पहिचान गरिसकेका छन् ।

उनी भन्छिन्, ‘मस्कले ती चिजहरु बुझिसकेका छन् जसका कारण चिनियाँहरुको दैनिक जीवनमा विच्याट अत्यन्तै महत्वपूर्ण बनेको हो । खासगरी यसको सोसल मिडिया तथा डिजिटल भुक्तानीको पहलले यसलाई महत्वपूर्ण बनाएको हो ।’

उनका अनुसार यी चिजहरु मस्कका लागि विच्याट जस्तो सुपर एप बनाउनका लागि उत्तम काइदा साबित हुनसक्छ ।

लगानी कम्पनी रेस क्यापिटलका एडिथ येअंगका अनुसार चीन र पश्चिमी देशहरुले अपनाएको डिजिटल भुक्तानी प्रविधिमा धेरै फरक छ ।

चीनमा धेरैजसो व्यवसायिक फर्महरुले नगद तथा क्रेडिट कार्ड लिंदैनन् । यो फरकपनाले मस्कको महत्वाकांक्षा पूरा गर्नका लागि बाधा उत्पन्न गर्न सक्दछ ।

उनी भन्छिन्, ‘पश्चिमी देशहरुमा नगद तथा क्रेडिट कार्डमुक्त समाज बन्नका लागि अझै धेरै समय लाग्न सक्छ ।’

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?