+
+

डेढ लाखसम्मका बिरालो पाल्छन् सौखिन, के छ स्याहार्ने तरिका ?

निरोज दंगाल, पशु प्राविधिक निरोज दंगाल, पशु प्राविधिक
२०८० साउन १६ गते १७:००

पुरातन समाजमा बिरालोलाई अपशकुनको संज्ञा दिइन्थ्यो । तर आज एक्लोपनबाट मुक्त हुन बिरालोको साथ खोज्नेहरु बढेका छन् । नेपालमा कुकुर पाल्नेको संख्या त उल्लेख्य छ, तर बिरालो पाल्न रुचाउनेहरु निकै कम । आधुनिक जीवनशैली र सोचसँगै पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न पनि थालेका छन् ।

चार-पाँच वर्षयता बिरालो पाल्नेको संख्या बढ्दै गएको देखिन्छ । नेपालमा यो कम भए पनि विश्वमै सबैभन्दा बढी पालिने लोकप्रिय घरपालुवा जनावरमा बिरालो पर्छ । बिरालो पाल्दा एक्लोपनबाट टाढा रहन मद्दत पुग्छ । किनकि बिरालो मानिसको भावनात्मक कुरा बुझ्ने स्वभावको हुन्छ ।

धेरै पालिने बिरालोको प्रजाति

नेपालमा प्राय: पर्सियन, ब्रिटिश शर्टहेयर र रैथाने वा लोकल बिरालो पाल्ने चलन छ ।

पर्सियन बिरालो : यो प्रजातिको बिरालो सानो अनुहार, ठूल्ठूला नीलो आँखा,  रौं लामो लामो हुन्छ । हेर्दा आकर्षक पर्सियन बिरालो सेतो, कालो, खैरो रंगका पनि हुन्छन् । नेपालमा धेरैजसो सेतो बिरालो पाल्ने गरिन्छ ।

ब्रिटिश शर्टहेयर बिरालो : यो बिरालोको शरीरमा छोटो छोटो रौं हुन्छ । सेतो, कालो, निलो, रातो, चकलेट, क्रिम रंगमा हुने यो प्रजातिको बिरालोका आँखा सुन्तला रंगका हुन्छन् ।

लोकल बिरालो : यो बिरालो कालो, सेतो र खैरो रंगमा पाइन्छ । स्थानीय स्तरमा पाइने भएकाले यो बिरालो सबैतिर पाइन्छ ।

बिरालोको बच्चाको मूल्य कति पर्छ ?

बिरालोको नश्लअनुसार मूल्य फरक-फरक हुन्छ । पर्शियन प्रजातिको बिरालो ३० देखि ४० हजारसम्म पर्छ । ब्रिटिश शर्टहेयर बिरालो एकदम महंगो बिरालोमा हो । यसको मूल्य एक लाख ३० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म पर्छ । यो पनि नश्लअनुसार फरक पर्छ ।

किन पालिन्छ बिरालो ?

कुकुरभन्दा पनि बिरालो एकदम भावनात्मक र मानिससँग छिट्टै घुलमिल हुने घरपालुवा जनावर हो । मान्छेको व्यवहार बुझ्ने खालको हुन्छ । जस्तै यदि हामी दु:खी छौं भने उनीहरु हाम्रा दु:खलाई साट्ने खालका व्यवहार गर्छन् र खुसी भए त्यही अनुसार जिस्किने, खेल्न थाल्छन् । उनीहरु मानसिक तनाव कम गर्न एकदम सहयोग गर्छ ।

बिरालो कुकुरले जस्तै भुक्ने, नयाँ मान्छेलाई टोक्ने गर्दैन । मानिसको भावना छिटो बुझ्ने, कुनै सिकाएको कुरा छिटो सिक्ने खालका हुन्छन् ।

बिरालोको आयु कति हुन्छ ?

बिरालोको आयु सामान्यतया १२ देखि १५ वर्षको हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु ?

बिरालोका कारण विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । यसको न्यूनीकरणको लागि भ्याक्सिन लगाउने, नियमित जुकाको औषधि वर्षमा चारपटक खुवाउने र बिरालोमा उपियाँ, किर्ना, जुम्रा देखिएको खण्डमा एक्टोपैरासाइट औषधि चलाउन सकिन्छ । त्यस्तै उनीहरुको थोरैथोरै खाने बानी हुन्छ, त्यसैले खानेकुरा एकैचोटि धेरै नदिने बरु थोरै थोरै राखेर पटकपटक खुवाउनुपर्छ ।

कस्तो खानेकुरा खुवाउनुपर्छ ?

बिरालो स्वभाव वा बाघ नश्ल भन्ने गरिन्छ । त्यसैले उनीहरुलाई मासु उसिनेर वा पकाएर सानो सानो टुक्रा पारेर खुवाउने, अण्डा, ब्रोकाउली, तरकारी, काँचो केराउ खुवाउन सकिन्छ भने फलफूलमा खर्बुजा केरालगायत दिन सकिन्छ । साथै बजारमा पाइने बिरालोका खानेकुराहरु खुवाउन सकिन्छ ।

त्यस्तै चिल्लो, पिरो, अमिलो, नुनिलो,चकलेट, लसुन, प्याज र मद्यपान खुवाउनु हुँदैन । यसबाहेक काँचो मासु, हड्डी र दूध पनि सकेसम्म नखुवाउँदा उपयुक्त हुन्छ ।  कुकुरलाई भन्दा बिरालो पाल्दा अलि बढी खर्च हुन्छ ।

(दंगालसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?