+

गर्भ कसरी रहन्छ ?

२०८० साउन  २२ गते १५:४४ २०८० साउन २२ गते १५:४४
गर्भ कसरी रहन्छ ?

गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ नरहने स्थिति आफैंमा तनावपूर्ण हुन्छ ।

त्यसैगरी कतिपयमा अनिच्छित गर्भ रहन पुग्छ । असावधानीवश हुने कतिपय शारीरिक सम्बन्धबाट गर्भ रहन्छ, जो धेरैका लागि टाउको दुखाइको विषय बन्न सक्छ । यस्तो अवस्थामा हामीले के जान्न आवश्यक छ भने कुन अवस्थामा शारीरिक सम्बन्ध भयो भने गर्भ रहन्छ ? कस्तो अवस्थामा रहँदैन ?

महिनावारी चक्र र गर्भधानको समय

गर्भ रहन महिलाको डिम्ब र पुरुषको शुक्रकीटबीच मिलन हुनुपर्छ । महिनावारीको अण्ड उत्पादनसँग एउटा संयोजन छ । नियमित महिनावारी भइरहेको छ भने उक्त महिलाको गर्भाशयमा महिनामा एकपटक अण्ड उत्पादन हुन्छ ।

यसको हिसाब किताब निकाल्न सकिन्छ । जस्तो २८ दिनमो महिनावरी चक्र छ । उनीहरुमा महिनावारी भएको दिनबाट गन्ती गर्दा १४ दिनमा अण्ड उत्पादन हुन्छ ।

कति महिलामा २८ दिनभन्दा कम वा बढीमा पनि महिनावारी हुन सक्छ । महिनावारीको चक्रलाई आधार बनाएर कुन बेला अण्ड उत्पादन हुनसक्छ भनेर आँकलन गर्न सकिन्छ । यसरी उत्पादन भएको अण्ड कम्तीमा पनि ७२ घण्टासम्म रहन्छ ।

त्यस्तै पुरुषको शुक्रकीट पनि लामो समयसम्म जीवित रहन्छ । शारीरिक सम्बन्ध भइसकेपछि पुरुषको शुक्रकीट महिलाको पाठेघरको माध्यम हुँदै अण्डबाहिनी नलीसम्म पुग्छ । दुवै जीवित भएको अवस्थामा निषेचन हुन्छ र जाइकोट बन्छ ।

महिनावारी भएको दिनबाट गणना गर्दा ९ दिनदेखि १४ दिनभित्रमा यसरी गर्भ रहने सम्भावना उच्च हुन्छ । सामान्यतया महिनावारी भएको १९ दिन कटेपछि गर्भ रहने स्थिति हुँदैन । यदि सन्तानको योजना बनाएको छैन भने शारीरिक सम्बन्धका लागि १९ दिन पछिको समयलाई सुरक्षित मानिन्छ ।

तर यो शतप्रतिशत सुरक्षित भने नहुन सक्छ । महिलाको मासिक स्राव घटबढ भएमा पनि यो गणना नमिल्न सक्छ । कतिपयको महिनावारी भएको ८ दिनपछि नै शारीरिक सम्बन्ध रहँदा गर्भ रहेको पनि पाइन्छ ।

यदि सन्तानको योजना छैन भने अस्थायी साधनको प्रयोग गर्नु राम्रो हो ।

कस्तो अवस्थामा अस्वस्थ बच्चा जन्मिन सक्छ ?

धेरैमा कस्तो जिज्ञासा पाइन्छ भने कुन अवधिमा शारीरिक सम्बन्ध बनाउँदा स्वस्थ बच्चा जन्मिन्छ ?

यसको कुनै वैज्ञानिक आधार छैन । गर्भधानको समय वा अवधिले बच्चा स्वस्थ वा रोगी जन्मन्छ भन्ने छैन । किनभने गर्भ रहनु भनेको स्वस्थ शुक्रकीट र अण्डबीचको मिलन हुनु हो ।

तर यसको अर्थ यो होइन कि गर्भ रहनसाथ ती सबै बच्चा स्वस्थ हुन्छ । कहिलेकाहीं गर्भमा स्याहार नपुग्दा, आमामा कुनै स्वास्थ्य समस्या हुँदा, दुर्घटना हुँदा, मानसिक तनाव हुँदा, मदिरापान वा औषधि खाँदा गर्भको बच्चा रोगी हुन सक्छ ।

प्राकृतिक विधिबाट गर्भ रोक्ने तरिका कति सुरक्षित ?

कतिपय दम्पतीले गर्भ नचाहेको खण्डमा अस्थायी साधन नलगाई शुक्रकीट महिलाको यौनाङ्ग बाहिर स्खलन गर्ने गरेको पाइन्छ । यो पनि एउटा प्राकृतिक विधि हो ।  तर यसमा फाइदा र बेफाइदा दुवै छ । फाइदा भनेको अस्थायी साधन प्रयोग गर्ने झन्झट हुँदैन, कुनै किसिमको साइडइफेक्ट हुँदैन । बेफाइदा भनेको कहिलेकाहीं वीर्य स्खलन नचाहँदा-नचाहँदै पनि रोक्न सकिंदैन ।

त्यस्तै, स्खलन हुनुअघि पनि केही मात्रामा शुक्रकीटहरु निस्कन सक्छ, जसले गर्भ रहने सम्भावना हुन्छ । त्यसैले औसतमा यो विधिको बिफल दर बढी छ । यतिले नै सबैमा शतप्रतिशत बिफल हुन्छ भन्न कठिन छ ।

गर्भ रहेको कहिले थाहा हुन्छ ?

सामान्यतया शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्ड र शुक्रकीट निषेचन हुने प्रक्रिया ढिलो हुन सक्छ । यस्तो अवस्थामा एक-दुई हप्तासम्म पनि गर्भ रहेको वा नरहेको थाहा हुँदैन ।

गर्भ डा. बालकृष्ण शाह
लेखक
डा. बालकृष्ण शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय