+

थाइराइडबारे १४ भ्रम र सत्य

२०८० भदौ  ५ गते १७:०८ २०८० भदौ ५ गते १७:०८
थाइराइडबारे १४ भ्रम र सत्य

थाइराइड घाँटीमा हुने पुतली आकारको ग्रन्थि हो, जुन मानव शरीरका लागि महत्वपूर्ण छ । यसले टी-३ र टी-४ भन्ने दुईवटा हार्मोन उत्पादन गर्छ । यी हार्मोनले शरीरमा मेटाबोलिजम सन्तुलनमा राख्न र शरीरको वृद्धि विकास गर्न सहयोग गर्छ ।

जब यी हार्मोनमा गडबडी हुन्छ, तब शरीरमा विभिन्न किसिमका समस्या आउँछन् । यसको लक्षण अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो देखिने भएकाले धेरैलाई थाइराइडबारे भ्रम छ ।

त्यसो भए के भ्रम छ र सत्य के हो ?

१. भ्रम : थाइराइइडका कारण शरीरमा गाँठो देखिएको छ भने त्यो थाइराइड क्यान्सर हो ।

तथ्य : थाइराइड नोड्युलमा पाँच प्रतिशत मात्र क्यान्सर देखिन सक्छ । धेरैजसो गाँठोमा क्यान्सर हुँदैन ।

२. भ्रम : यदि थाइराइडको समस्या छ भने घाँटीमा गलगाँड विकास हुन्छ ।

तथ्य : थाइराइड समस्या भएका धेरैजसो मान्छेलाई गलगाँडको विकास हुँदैन र आयोडिनयुक्त नुनको सर्वव्यापी आपूर्तिले गलगाँडको समस्या न्यून छ ।

३.  भ्रम : थाइराइडको समस्या भएका आँखाको नानीमा समस्या हुन्छ।

तथ्य : आँखाको नानी बाहिर निस्किएको जस्तो देखिने आँखाको समस्या थाइराइडको एउटा लक्षण मात्र हो । थाइराइड भएका सबैमा सो समस्या देखिंदैन । थाइराइडको समस्या नभएका थोरैमा वंशाणुगत कारण आँखासम्बन्धी यस्तो समस्या देखिन सक्छ ।

४. भ्रम :  मध्यम उमेरका वा वृद्ध महिलालाई मात्र थाइराइड समस्या हुन्छ ।

तथ्य : महिला र पुरुष दुवैलाई कुनै पनि उमेरमा थाइराइड हुन सक्छ । पाँचमध्ये एक महिलालाई ६० वर्षको उमेरमा थाइराइडको समस्या देखिन्छ । थाइराइड रोगले  प्रजनन् क्षमता, गर्भावस्था वा सुत्केरीपछि असर गर्न सक्छ ।

५. भ्रम : थाइराइडका लक्षणहरू पहिचान गरेर सबैभन्दा राम्रो उपचार हुन्छ ।

तथ्य : करिब ६० प्रतिशत मानिसलाई आफूलाई थाइराइड रोग लागेको थाहा नै हुँदैन । थकान, तौल परिवर्तन, मांसपेशी र जोर्नी दुख्ने वा घाँटी सुन्निने लक्षण र रक्त परीक्षणले थाइराइड रोगको सबैभन्दा सही निदान गर्न मद्दत गर्छ ।

६. भ्रम : थाइराइड रोगको सजिलै उपचार हुन्छ ।

तथ्य : यो धेरै अवस्थामा जटिल बन्न सक्छ । सफलतापूर्वक उपचार गर्न शरीरको प्रकृति धेरै फरक दृष्टिकोणबाट थाइराइडको समस्या पहिचान गनुपर्ने हुन्छ । र, कुनै पनि औषधि जस्तै, थाइरोक्सिन औषघिको मात्रा व्यक्तिअनुसार फरक हुन्छ ।

७. भ्रम : चिकित्सकको सल्लाहमा लिने औषधि भन्दा प्राकृतिक उपचार जस्तै आयोडिन वा नुनको प्रयोगले थाइराइड रोगको सुरक्षित उपचार हुन्छ ।

तथ्य : आयोडिनले उपचार गरेर थाइराइडको समस्या थप जटिल बन्न सक्छ । डाक्टरको सल्लाहबिना आयोडिन सप्लिमेन्ट खानु हुँदैन ।

८. भ्रम : हाइपोथायराइडिजम भएपछि  तौल घटाउन सकिंदैन ।

तथ्य : यदि औषधिको मात्रा सही र नियमित छ भने हाइपोथाइराइडिजमले  तौल घटाउने क्षमतामा असर गर्दैन ।

९. भ्रम : थाइराइड हार्मोन औषधिको मात्रा थप्दा शरीरमा बढी ऊर्जा दिन्छ र तौल घटाउँछ ।

तथ्य : सधैं चिकित्सकले तोकेको औषधि मात्र लिनुपर्छ । यदि तोकिएको मात्रा भन्दा बढी लिएमा यसले अनिद्रा, काम्ने, भोक बढ्ने र मुटुको धड्कन अनियमित हुने जस्ता साइड इफेक्टहरू निम्त्याउन सक्छ ।

१०. भ्रम : खानपिनले हाइपोथाइराइडिज्म व्यवस्थापन गर्न सकिन्छ ।

तथ्यः खानाले मात्र थाइराइडको समस्यालाई नियन्त्रण गर्न सक्दैन । थाइराइड औषधिले हार्मोन उत्पादनलाई सामान्य स्तरमा ल्याउन मद्दत गर्छ ।  प्रशस्त मात्रामा भिटामिन र खनिज भएको राम्रो सन्तुलित आहार खानु  समग्र स्वास्थ्यको लागि अझै महत्त्वपूर्ण छ ।

११. भ्रम : काउली,  बन्दाकोबी र ब्रोकाउली जस्ता तरकारीहरू खान सक्नुहुन्न ।

तथ्य : थाइराइडको खानासँग कुनै सम्बन्ध छैन, त्यसैले तपाईंले सधैं यी हरियो पातदार तरकारीहरू नियमित मात्रामा खान सकिन्छ ।

१२. भ्रम : थाइराइडको कारण मानिसको तौल बढ्छ ।

तथ्य : शरीरमा हुने अन्य स्वास्थ्य समस्या पनि थाइराइडको कारण भन्दै दोष दिइन्छ विशेषत: मोटोपनलाई । तर थाइराइडले मात्र दुईदेखि तीन केजी बढाउँछ, बाँकी अस्वस्थकर जीवनशैली नै हो ।

१३. भ्रम : थाइराइड समस्या भएका महिलाहरू गर्भवती हुन सक्दैनन् ।

तथ्य : सामान्य महिलाहरूको तुलनामा थाइराइड समस्या भएका महिलालाई केही कठिनाइ हुने भए पनि गर्भवती हुन सम्भव छ । यदि थाइराइडसम्बन्धी समस्याको राम्रो उपचार भएको छ भने गर्भावस्थाको सम्भावना सामान्य महिलामा जस्तै हुन्छ । गर्भाधानअघि थाइरोक्सिनको डोज लिइएको छ भने गर्भवती भएपछि मात्रा बढाउनुपर्छ ।

१४. भ्रम : थाइराइड सामान्य भएपछि औषधि बन्द गर्न सकिन्छ ।

तथ्य : औषधि लिएर सामान्य भएपछि एक्कासि छोडेमा थाइराइड हार्मोनको मात्रा न्यून हुन्छ, जसले समस्या दोहोरिन सक्छ । त्यसैले यो औषधि चटक्कै छोड्नु हुँदैन । चिकित्सकको सल्लाहबिना जथाभावी औषधि छोड्न मिल्दैन ।

(डा. श्रेष्ठ मधुमेह तथा थाइराइडरोग विशेषज्ञ हुन् ।)

मधुमेह तथा थायराइड
लेखक
सन्दीपचन्द्र श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय