+
+
गफ स्टेसनमा गायिका अञ्जु पन्त :

‘रिमेकको नाममा ओरिजिनल सर्जक र कलाकारलाई बिर्सनु इतिहास मेट्दै जानु हो’

‘खाना पकाउन आगो त बालिएकै हुन्छ । फरक यति हो त्यो आगोको ज्वाला कहिले बाहिर देखिन्छ, कहिले धुवाँ मात्रै फालेर चुपचाप खाना मात्रै पाकिरहेको हुन्छ,’ उदाहरण दिंदै अञ्जु भन्छिन्, ‘संगीतमा पनि त्यस्तै नै हो । गीत गाउने, सिर्जना गर्ने काम भइरहेकै छन् । सायद मेरा श्रोता-दर्शकको अपेक्षालाई भेट्न सकेको छैन होला ।’

खेम रिसाल खेम रिसाल
२०८० भदौ ८ गते २०:०५

काठमाडौं ।  डेढ दशकअघि एक गजलले नेपाली संगीतप्रेमीको मन यसरी छोएको थियो कि त्यसले सफलताको नयाँ मानक नै खडा गरिदियो । विपिन किरणको शब्द, महेश खड्काको संगीत र अञ्जु पन्तको आवाजमा रहेको त्यो गजल थियो ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ ।

अन्य शैलीका गीतहरुले नेपाली संगीतमा कब्जा जमाइरहेको बेला यसले गजल पनि मूलधारको संगीतमा यो हदसम्म लोकप्रिय हुन सक्छ भनेर स्थापित नै गरिदियो । यसका सर्जक र अञ्जुलाई यस गजलले नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो ।

त्यसपछि अञ्जुका एकपछि अर्को गीत आए, हिट भए, श्रोता-दर्शकले रुचाए तर पनि ‘न बिर्सें तिमीलाई’ले जति धित सायद अरुले मारेनन् कि, यस्तै अर्को गीत कहिले ? भनेर आजसम्म पनि शुभचिन्तकहरुले अञ्जुलाई सोधिरहन्छन् रे ।

यो साता गायिका अञ्जु पन्त अनलाइनखबरको गफ स्टेसनमा कुराकानीका लागि आइपुगिन् । उनलाई पनि एकपल्ट सोही स्तरको गीत श्रोतालाई उपहार दिऔं भन्ने नलागेको होइन, तर सबै कुरा समय, परिस्थिति अनि श्रोताको रुचिमा पनि भरपर्ने उनले ठम्याएकी छन् ।

‘खाना पकाउन आगो त बालिएकै हुन्छ । फरक यति हो त्यो आगोको ज्वाला कहिले बाहिर देखिन्छ, कहिले धुवाँ मात्रै फालेर चुपचाप खाना मात्रै पाकिरहेको हुन्छ,’ उदाहरण दिंदै अञ्जु भन्छिन्, ‘संगीतमा पनि त्यस्तै नै हो । गीत गाउने, सिर्जना गर्ने काम भइरहेकै छन् । सायद मेरा श्रोता-दर्शकको अपेक्षालाई भेट्न सकेको छैन होला ।’

अञ्जुलाई नेपाली संगीतको शैली फेरिएर अनि गीत हिट आइरहँदा त्यसमा आफ्नै स्वर हो भनेर नयाँ पुस्ताका श्रोतालाई जानकारी गराउन नसक्दा पनि यो ‘ग्याप’ भएको हुन सक्ने लाग्छ । ‘त्यसमाथि अहिले लोकप्रिय हुने होइन, भाइरल बनाउने भन्ने कुरा हुन्छ । भाइरलको पछि लाग्दा राम्रा सिर्जना ओझेल परिरहेको अवस्था पनि छ,’ उनी भन्छिन् ।

अञ्जुलाई भाइरलको होडमा नेपालमा हरेक खालका कमसल गीत पनि हाबी भइरहेको लाग्छ । संगीत एक साधना भए पनि रहरकै भरमा जस्तोसुकै सिर्जना पस्किंदा त्यसले सांगीतिक क्षेत्र नै मारमा परिरहेको उनको ठम्याइ छ ।

यसको समाधान के होला त ? गफ स्टेसनमा सोधिएको प्रश्नमा अञ्जुले निर्धक्क भनिन्, ‘सेन्सर हुनुपर्ने हो गीत पनि फिल्मजस्तै । राज्यको तहबाट सेन्सर गरिने हो भने नराम्रा, भल्गर, अपाच्य खालका गीत-संगीत आउँदैनथे ।’ अहिलेको डिजिटल युग भए पनि सरकारले चाहे यसो गर्ने सक्ने उनी बताउँछिन् । ‘हरेकको आफ्नै युट्युब च्यानल र सामाजिक सञ्जाल अकाउन्ट हुन्छ तर गीत निर्माण गरिसकेपछि सेन्सर पास गरेर मात्रै सार्वजनिक गर्न पाउने भन्ने भयो भने यो सम्भव छ,’ उनी भन्छिन्, ‘छान्नु चाहिं पर्छ जस्तो लाग्छ । चामलमा घुनैघुनै छ, घुनसहित पकाएर खान त मिलेन नि । घुन हटाएर चामल मात्रै राख्नुपर्छ होला नि । कनिका पनि खान त होला तर चामल र कनिका उस्तै त होइन नि । यो मादण्डसम्म चाहिं जानुपर्छ है भनेर सरकारी निकायले नियम बनाउँदा राम्रो हुन्छ ।’

अहिले नेपाली संगीत क्षेत्रमा पुराना गीतको रिमेक गर्ने, कभर गीत बनाउने, मेल, फिमेल र चाइल्ड भर्सन ल्याउने प्रचलन निकै बढेको छ । अञ्जु र जगदीश समालले गाएको सुपरहिट गजल ‘न बिर्सें तिमीलाई’को पनि केही वर्षअघि पछिल्लो छिमलकी गायिकाको स्वरमा अर्को भर्सन आयो । ओरिजिनल गायक-गायिकालाई निर्माताले ‘क्रेडिट’ नदिएको भन्दै सांगीतिकवृत्तमा आलोचनासमेत भयो ।

अञ्जु यसलाई दु:ख-मनाउ भन्दा पनि जो आमा हो उसलाई आदर राखिदिएको भए हुन्थ्यो भन्ने मात्र आफ्नो भावना रहेको बताउँछिन् । ‘राम्रा गीतको हरेक भर्सन आउँछ तर वास्तविक सर्जक र गायक-गायिका यी हुन् भनेर चिनाइदिनु चाहिं पर्छ,’ उनी भन्छिन्, ‘नत्र यसो गर्दा इतिहासलाई मेट्दै जानु हो, ओरिजिनल आमालाई मार्दै जानु हो भन्ने हुन्छ ।’

गफ स्टेसनमा अञ्जुले संगीतका विभिन्न पाटाको बारेमा खुलेर कुरा गरिन् । अहिले पहिलेको तुलनामा सांगीतिक पहुँच बढे पनि कलाकारप्रतिको ‘डाइहार्ट फ्यान क्रेज’ कम हुँदै गएको हो कि भन्ने पनि उनलाई लाग्छ । यसमा बदलिंदो परिवेश र प्रविधिले भूमिका खेलेको हुन सक्ने उनी बताउँछिन् ।

‘अहिले जसरी जसरी संगीत क्षेत्र चलेको छ त्यो पनि मलाई असलै लागेको छ । यो प्रविधिले ल्याएको परिवर्तन पनि हो, तर गुणस्तरमा सम्झौता चाहिं गर्नुहुन्न,’ अञ्जु भन्छिन्, ‘पहिले हामीलाई कन्सर्टमा हेर्न जुन क्रेज थियो, अहिले पनि छ । तथापि सोसल मिडियामा हरेक दिन देख्न पाउने भएकाले सबैको पहुँच पुग्यो, क्रेज घट्यो भन्ने पनि होला ।’

कलिलो उमेरदेखि गीत गाउन थालेकी अञ्जुले हालसम्म सात हजार हाराहारीमा गीत गाइसकेछिन् । उनको सांगीतिक यात्राले तीस वर्ष पार गर्नै लाग्यो । यस्तोमा उनले नपाएको खास केही छैन, नाम, दाम, प्रतिष्ठा सबथोक पाएकी छन् उनले ।

तर पनि कलाकारको मन हो अझै भनेजस्तो राम्रो गीत श्रोतालाई उपहार दिनै पुगेको छैन भन्ने लाग्छ अञ्जुलाई । नेपाली मात्र होइन, उनले हिन्दी, बंगाली, आसामी, अंग्रेजी भाषामा समेत गीत गाएकी छन् । भर्खरै भारतमा रिलिज भएको एक फिल्ममा उनले गाएको उर्दू गजल ‘बेसुरी मैं नहीं हूँ’लाई समावेश गरिएको छ । भारतीय गजलकार अशोक सहनीले लेखेको गजललाई अञ्जुले नै संगीत समेत भरेकी छन् ।

‘मलाई मेरो श्रीमानले भन्नुहुन्छ, तपाईंले नेपालमा पाउनुपर्ने सफलताजति सबै पाइसक्नुभएको छ । यस्तो भाग्य सबैको हुँदैन । अब यो आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुस् भनेर,’ उनी सुनाउँछिन्, ‘मान्छेको मन हो अझै धेरै गरौं भन्ने रहर त भइहाल्छ । क्यानडाबाट इङ्लिस गीतको पनि अफर आएको छ । हिन्दी गीत त एक दर्जनजति गाइसकेको छु ।’

कुनै पनि करिअरमा हौसला र प्रशंसाले निकै ठूलो भूमिका खेल्छ । अञ्जुलाई स्वदेशदेखि विदेशका अग्रज साधकहरुले दिएको प्रशंसाले संगीतमा केही गर्न सधैं प्रेरित गरिरहन्छ । ‘मलाई नेपालका मुर्धन्य अग्रज सर्जक र कलाकारज्यूहरुले सधैं माया र हौसला दिइरहनुभयो, त्यसैले म यहाँ छु,’ उनी भन्छिन्, ‘भारतका दिग्गज गायक जगजीत सिंहज्यूले दिएको आशिर्वाद अनि गजलकार अशोक सहनीज्यूले दिएका आशिर्वादका शब्द पनि मलाई निकै गहिरो लाग्छ । अशोक सहनीज्यूले भारतमा लता मंगेशकर र आशा भोस्लेको आवाज जस्तै लेभलको आवाज नेपालमा पनि रहेछ भनेर भनेका शब्दले मलाई निकै भावुक बनाएको थियो ।’

अञ्जुले परिवारमा सांगीतिक माहोलदेखि आफ्ना योजना र समाजका कुरा पनि गफ स्टेसनमा बाँडिन् । घरमा उनका श्रीमान थिर कोइरालाले सांगीतिक माहोल बनाइरहन्छन्, अनि छोरी परितोषिका पनि मोडलिङमा रुचि राख्छिन् । केही समयअघि पूरै परिवार सहभागी भएर ‘तिम्रो सुन्दर रुप’ गीत नै सार्वजनिक गरे । यसमा थिरको शब्द र परितोषिकाले अभिनय गरेकी छन् । अञ्जुले भर्खरै अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठसँगको गायनमा ‘माटोको महिमा’ श्रोतालाई पस्किएकी छन् । यसको अर्थ उनी हरेक शैली र भावका गीत उनी ल्याइरहन्छिन् ।

नयाँपुस्ताले अहिलेको सामाजिक सञ्जाल लगायत डिजिटल दुनियाँको सदुपयोग गर्न जाने यो बरदान हुने उनी सुझाउँछिन् । ‘त्यसका लागि उत्कृष्ट सिर्जना र संगीत ल्याउनुपर्‍यो, भोलि नातिनातिनाको पुस्ताका लागि पनि स्वीकार्य बनाउन सक्नुपर्‍यो । अनावश्यक होडबाजीमा लाग्नुभएन,’ उनी सुझाउँछिन् ।

अन्तर्वार्ताकै क्रममा आफ्ना लोकप्रिय गीतसमेत गाएर सुनाएकी उनले आफ्नो स्वरलाई फिट राख्ने टिप्स पनि बाँडिन् । ‘कुनैबेला म १४ घण्टासम्म रियाज गर्थें, घरको काम र पढाइ सबै भ्याएर पनि । सायद यसले पनि मलाई सृष्टिकर्ताले दिएको स्वरलाई अझ माझ्न मद्दत गर्‍यो । त्यसैले गायक-गायिकालाई अभ्यास र साधना जुनसुकै समयमा पनि आवश्यक छ भन्ने लाग्छ मलाई ।’

गफ स्टेसनको बिट मार्नेबेला अञ्जुले दार्शनिक शैलीमा केही शब्द सेयर गरिन्, ‘मबाट सबै कुरा सुरु हुन्छ । मेरो विचार, मेरो बुद्धि, मेरो बाटो मैले सुधार्छु भने एक-दुई-तीन जना गर्दै अरुले पनि सुधार्दै जान्छ । अरुलाई गाली मात्रै गर्नुभन्दा आफैंतिर पनि फर्किएर हेर्नुपर्छ होला जस्तो लाग्छ । यसो भए समाज अझ बढी आत्मीय हुन्छ । कुनबेला जिन्दगी टुंगिन्छ थाहा हुँदैन, त्यसैले असल काम मात्रै गरौं । यसका लागि राज्यले पनि आफ्नो ठाउँबाट जिम्मेवारी निभाउनुपर्छ ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?