+
+

दुई महिनादेखि उडानविहीन बन्यो रेसुङ्‍गा विमानस्थल 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:४८
फाइल तस्वीर

८ भदौ, गुल्मी । गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेको गुल्मी जिल्लाको रेसुङ्‍गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ । साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन । जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।

पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट रेसुङ्‍गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्‍गा विमानस्थलबाट उडान हुन सकेको छैन ।

रेसुङ्‍गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।

तर उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्‍गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताइन् । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ ।

रेसुङ्‍गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने बताइएको छ । मध्यान्हमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्छ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो । सुरुमा हप्ताको एक दिन उडान गरेको विमानस्थलबाट यात्रुको चापका कारण एक दिन थप गरेर दुइ दिन उडान गर्न थालिएको थियो ।

रेसुङ्‍गा विमानस्थल रेसुङ्‍गा नगरपालिकाको वडा नम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किमिलोमिटर कच्चीबाटो भएर विमानस्थल पुग्न सकिन्छ ।

गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ । वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकहरुलाई छ ।

व्यावसायिक उडान सुरु हुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा गरिएको थियो । विमानस्थलमा गत १५ वैशाखमा नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?