+

आङ किन खस्छ ?

२०८० भदौ  ११ गते १६:३३ २०८० भदौ ११ गते १६:३३
आङ किन खस्छ ?

आङ खस्नुका पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म व्यथा लाग्नु तथा प्रशव गाह्रो हुनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवधिमा गाह्रो काम गर्नु, भारी बोक्नु आदि आङ खस्नुका प्रमुख कारण हुन् ।

कुपोषण, कब्जियत, धूमपानको सेवन, दमखोकी, डेलिभरीलगत्तै यौनसम्पर्क, मोटोपनजस्ता समस्याले पनि आङ खस्नमा मद्दत गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । मैले शल्यक्रिया गरेका आङ खसेका वृद्धाहरूसँग सोधपुछ गर्दा अधिकांशले तीनभन्दा बढी सन्तान पाएको, घरमा नै प्रशव गराएको र जन्मान्तर ३ वर्षभन्दा कम रहेको पाएको छु ।

महिलाहरूको एउटा महत्त्वपूर्ण प्रजनन पाठेघर । भित्र खाली अनि बाहिरबाट हेर्दा नास्पाति अङ्ग हो, आकारमा रहेको मासुको डल्लोजस्तो देखिने पाठेघर, तल्लो पेटमा पिसाब थैली र मलाशयको बीचतिर रहेको हुन्छ । निषेचित अण्डा (फर्टिलाइज्ड ओभम) पाठेघरमा आएर विकसित हुने र भ्रुण हुँदै बच्चा भएर जन्मिने हुन्छ । पाठेघर नभएको महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाट नै भएको हुन्छ ।

हरेक महिना हुने महिनावारीमा पाठेघरको भित्री तह टुक्रिएर नै रक्तश्राव हुने हुन्छ । पाठेघरले केही हर्मनको उत्पादन गर्ने तथा प्रजनन हर्मोनहरूको सन्तुलनमा पनि यसले मद्दत गर्ने गरेको हुन्छ । स्त्री प्रजनन प्रणालीको महत्त्वपूर्ण अङ्ग पाठेघर तल्लो पेट (पेल्भिक क्याभिटी) मा रहेको हुन्छ । यसलाई मार्श शी तथा लिगामेन्टहरूले अड्याएर राखेको हुन्छ ।

विभिन्न कारणले यो आफ्नो स्थान अर्थात् तल्लो पेटबाट योनिमार्गबाट बाहिर निस्किएको अवस्थालाई आङ खसेको भनिन्छ । आङ अर्थात् पाठेघर तल योनिमार्गमा आएपछि शारीरिक समस्याहरू सुरु हुन्छ । लामो समयसम्म तल झरेमा पाठेघरमा घाउ (डिकुबिट्स अल्सर) हुनसक्छ । आङ खसेपछि ढाड दुख्ने, पिसाबको सङ्क्रमण पटक पटक हुने, पिसाब गर्न समस्या हुने तथा हिँड्डुल गर्न गाह्रो हुने, सङ्क्रमण हुने समस्या आउने हुन्छ । तल झरेकै कारण पाठेघरमा घाउ हुने, र गत जाने र दैनिक जीवन निकै कष्टकर बनेको हुन्छ ।

तर वृद्धावस्थामा आएको यो पीडा सुनाउनु कसरी ? वृद्ध महिलाहरू धेरै लाज मान्ने अनि धेरै सहेर बस्न खोज्ने भएकाले आङ खसेका आमाहरू आफ्ना समस्या लुकाउने गर्छन् । कतै कतै आफ्ना समस्या राखे पनि आर्थिक वा अन्य कारणले परिवारका सदस्यहरूले वास्ता नगरेको तथा परीक्षण नगराई दिने गरेको पनि भेटिन्छन् ।

आङ खस्ने समस्या नेपालमा मात्र नभई संसारभर नै छ । करिब २ देखि २० प्रतिशत महिलाहरू आङ खस्ने समस्याबाट पीडित रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपालमा अझै पनि १० लाख महिलाहरूमा यो समस्या हुनसक्ने अनुमान गरिए पनि यथार्थ तथ्याङ्क भने छैन ।

हालै गण्डकी मेडिकल कलेज, कलेज अफ नर्सिङ्ग साइन्सका मुना सिलवालको टिमले जुलाई ७, २०१६ देखि अगस्त ७, २०१७ सम्ममा गरेको अध्ययनले १३ प्रतिशत महिलामा आङ खस्ने समस्या रहेको देखाएको छ, जब कि यो इटालीमा ५.५, अमेरिकामा ११.४ अनि क्यालिफोर्नियामा १९ प्रतिशत मात्र रहेको छ ।

आङ खस्ने सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्ने छैन तर अलिकति पनि आङ खसेको छ भने औषधी खाएर पुरानो ठाउँमा पाठेघर फर्किदैन । पाठेघर थोरै तल आएको छ भने केही अभ्यास गर्नुपर्ने हुन्छ, जसले गर्दा पाठेघरलाई आफ्नो स्थानमा रहन मद्दत गर्ने माशंपेशी बलियो हुन्छ । त्यसैले पाठेघर थप तल झर्नबाट रोकिन्छ । यसो गर्दा पाठेघर तल आएकाले गर्दा हुने गरेको ढाडको दुखाइ तथा पटक पटक हुने पिसाबको सङ्क्रमणमा कमी आउने हुन्छ ।

तर पाठेघर योनिमार्ग बाहिर आएको अवस्थामा रिङ (चुरा) लगाउने वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । चुरा वा रिङ्ग पेस्सरी लगाउँदा पाठेघरभित्र अडिने हुन्छ तर यो ३–३ महिनामा फेर्नुपर्ने हुन्छ । त्यसैले दीर्घकालीन र भरपर्दो उपाय भनेको शल्यक्रिया नै हो । यो शल्यक्रिया पेट चिरेर गरिँदैन । यसरी आङ खसेको अवस्थामा गरिने शल्यक्रिया योनिमार्गबाट नै गरिने हुन्छ र पुनः योनिमार्ग बनाउन सकिने भएकाले यौनजीवनमा धेरै असर गर्दैनन् ।

हुन त आङ खस्नबाट पूर्णस्पमा रोकिन्छ भन्ने छैन त केही सजग भएर सावधानी अपनाए सम्भावना घट्ने हुन्छ आङ खस्ने मुख्य कारक गर्भ र यसका जटिलता नै रहने भएकाले यसलाई व्यवस्थित गर्नु नै प्रमुख उपाय हुनसक्छ । त्यसैले २० वर्ष नपुगी विवाह नगर्ने र विवाह गरिहाले पनि सन्तानको चाहना २० वर्ष नपुगी गर्दै नगर्नु राम्रो विकल्प हुनसक्छ ।

त्यस्तै, गर्भावस्थामा स्वास्थ्यको राम्रो ध्यान पुयाउने, नियमित परीक्षण गर्ने, गाह्रो काम नगर्ने र भारी नबोक्ने, प्रशव पीडा सुरू हुनेबित्तिकै स्वास्थ्य संस्था जानुपर्छ । घरमा प्रशव गराउनु वा लामो समय व्यथा लगाएर बस्नुले कालान्तरमा आङ खस्ने समस्यालाई निम्त्याउने सम्भावना बढी रहन्छ ।

प्रशवपछिको ४२ दिन अत्यन्त महत्त्वपूर्ण समय हो । यस समयमा पटुका बाँध्ने, गाो काम नगर्ने र भारी नबोक्ने, यौनसम्पर्क नगर्ने तथा खानपान र सरसफाईमा राम्रो ध्यान पुरÞ्याउनु पर्छ ।

धूमपानको सेवन नगर्ने तथा उच्च रक्तचाप, कब्जियत, दीर्घखोकी, दम आदि रोगको समयमा उपचार गर्नाले आङ खस्ने समस्या आउन नदिन पनि मद्दत गर्ने हुन्छ । मोटोपन नियन्त्रण गर्ने तथा नियमित व्यायाम गर्नाले अन्य दीर्घरोगहरूबाट बचाउनुसँगै आङ खस्नबाट पनि जोगाउने भएकाले यसतर्फ पनि ध्यान पुयाउनु राम्रो हुन्छ ।

पाठेघर फालिसकेपछि स्वास्थ्यमा समस्या आउँछन् कि ? भनेर धेरै महिलाले चिन्ता लिएको पाइन्छ । कति आमालाई त पाठेघर फालेपछि क्यान्सर नै हुन्छ भन्ने डर रहेको पनि पाइन्छ तर वास्तविकता त्यस्तो छैन । कम उमेरमा नै आङ खसेकाले शल्यक्रिया गरी पाठेघर फाल्नु परेको अवस्थामा शल्यक्रिया भएको केही वर्षपछि पुनः भल्ट प्रोलाप्स अर्थात् योनिमार्ग नै खस्ने सम्भावना हुन्छ ।

हुन त यो सम्भावना सबैमा रहन्छ तर आङ खसेको शल्यक्रिया गर्दा राम्ररी ध्यान पुयाएर गरेको अवस्थामा भल्ट प्रोलाप्स हुने सम्भावना कम हुन्छ । यसबाहेक भजाइनल हिस्टेरेक्टोमी (भिएच) ले महिलामा कुनै नराम्रो असर समान्यतः देखिने गरेको छैन । यसले कुनै किसिमको क्यान्सर पनि गर्दैन ।

डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’बाट । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. साहको यो पुस्तक साहित्यपोष्टले भर्खरै बजारमा ल्याएको छ ।

डा. बालकृष्ण साह
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय