+
+

क्रान्तिको त्यो उद्वेग समाज परिवर्तनमा किन प्रयोग भएन ?

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० भदौ १७ गते १७:१४

यो देशको निर्माणमा हाम्रा रगत चल्यो

सोधी हेर माटोलाई हाम्रो श्रम चल्यो

वुद्धिविवेक श्रम सीप सबै सबै चल्यो

तर किन मान्छलाई पानी चलेन ?

उठौं जागौं मुक्तिकामी वीर योद्धा हो

छुवाछत अन्त्य गर्न ढिला भयो

रचयिता : डम्बर पहाडी एलाक

डाडावरि डाडापरि हाम्रा बाले भन्ने गर्छन

ए माइला ए साइँला, बस है अब झुकेर

मान्छे आफै अछुत होन, त त्यसै मर्ने छैन

जातपात निर्मूल नपारी

रचयिता : रणेन्द्र बराली

माथिका दुई गीतका स्थायी हालै सार्वजनिक भएको जनवादी गीतहरु त्यसमा पनि दलित मुक्तिका गीतहरुबाट लिइएको हो । दलित साहित्य तथा संस्कृति प्रतिष्ठान तथा नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको एउटा भव्य कार्यक्रममा बस्दै जाँदा म आफ्नो २०३६-०३७ सालको विद्यार्थी जीवनमा पुगे । जुनबेला हामीलाई केही अग्रज वामपन्थी नेताहरुले कम्युनिष्ट क्रान्तिको बारेमा बताउँथे ।

३६ सालको विद्यार्थी आन्दोलनका कारणले गर्दा आंशिक रुपमा प्रतिबन्ध फुकुवा भएका खासगरी तत्कालीन माले र मशाल समर्थित सांगीतिक तथा सांस्कृतिक समूह संकल्पको नेतृत्व रामेश र मञ्जुल तथा वेदना सांस्कृतिक समूहको नेतृत्व रायनहरुले गर्थे । उनीहरुले विभिन्न समारोहहरुमा गाउने जनवादी गीतहरुको सम्झना भयो । उनीहरुको सामान्य वाद्यवादन त्यसमा केवल गितार र मादलको तालमा सुन्दा पनि हामी अर्कै दुनियाँमा भएको अनुभूत एकातर्फ हुन्थ्यो भने समानतामा आधारित शोषित पीडितहरुको अधिकारमा आधारित राज्यव्यवस्था भएको स्वैर कल्पनामा डुब्थ्यौं ।

अहिले म आफ्नो जीवनको उत्तरार्द्धमा आइपुग्दा त्यहाँ प्रस्तुत भएका गीतहरु सुन्दा त्यही दुनियाँमा फर्केको महसुस भयो । तर म झल्याँस्स भएँ, ३५-३६ सालमै जनतालाई स्वैरकल्पनाको शासन र संसार देखाउने तथा गीत-संगीतमार्फत जनतालाई जुरुकजुरुक उचाल्ने राजनैतिक समूहहरुले न पटकपटक शासन सत्ता चलाएका छन् । तर वास्तविकता कहाँ छ ? एकछिन त रनभुल्लमा मात्रै होइन रन्थनिने अवस्थामा पनि पुगें ।

कार्यक्रमको मुख्य उद्देश्य दलित आन्दोलनका प्रणेता तथा वामपन्थी दलित नेता टीआर विश्वकर्माको स्मृति दिवस मनाउने र रणेन्द्र बराली, डम्बर पहाडी तथा सरोजदिलु विश्वकर्माबाट लिखित पाँचवटा किताबको विमोचन र दलित तथा जनवादी जागरणसम्बन्धी तयार पारिएका चारवटा गीति संग्रहको लोकार्पण गर्नु थियो । कार्यक्रमको मुख्य अतिथि थिइन् संस्कृत पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइली, जो क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रकी नेतृ हुन् ।

मलाई त्यो कार्यक्रममा एउटा अत्यन्तै खाइलाग्दो आफ्नो नाम आरोही बताउने एकजना भाइलाई भेट्दा अत्यन्त स्तब्ध भएँ । उनका सबै अंगहरु ठीक थियो तर दाहिने हातको हत्केला पूरै काटिएको थियो, मैले आफ्नो जिज्ञासा थाम्न नसकी सोधे- कसरी भयो ? उत्तर सिधा थियो, ‘जनयुद्धको लडाइँमा बमले उडायो ।’

पाँचवटा किताबमध्ये एउटा क्रान्तिकारी योद्धा लप्टन लालबहादुर परियारको जीवनी, मैले छोएको सिन्दूर कथा संग्रह, नेपाली दलित साहित्यको इतिहास, डम्बरे दमाईको वकपत्र कविता संग्रह तथा दलित संघर्ष गाथा गीत तथा कविता संग्रह । यस्तो कार्यक्रममा विमोचित पुस्तकहरुको बारेमा चर्चा गर्नु र गराउनु सामान्य कुरा हो तर त्यहाँ विप्लव नेतृत्वको नेकपा पक्षीय नेता तथा संविधानसभा सदस्य माइला लामाको प्रस्तुति र अभिव्यक्ति सुनेपछि यो आलेख तयार पार्न मन लाग्यो । हामीले नेपालका सबै प्रमुख राजनैतिक परिवर्तनको कुरा गर्दा दलितहरुको पनि त्यत्तिकै सहभागिता र योगदानको चर्चा गछौं, तर २००७ सालको क्रान्तिमा दलितहरुको प्रत्यक्ष तथा नेतृत्वदायी संलग्नता क-कसको थियो भन्दा खोज्नुपर्ने हुन्थ्यो, त्यस्तै खोज्नुपर्ने नाममा लप्टन लालबहादुर परियार रहेछन् ।

लालबहादुर पहिला भारतीय स्वतन्त्रताका लागि सशस्त्र फौज खडा गरेर अंग्रेजविरुद्ध लडेर स्वतन्त्रता दिने उद्देश्यले खडा गरिएको सुभाषचन्द्र वोसको आजाद हिन्द फौजमा भर्ती भएका रहेछन् । अंग्रेजविरुद्धको लडाइँमा फाँसीको सजायलगायत पाएर पटक-पटक ज्यान जोगाएर उनी सुवर्ण शमशेरले खडा गरेको नेपाली कांग्रेसको राणा विरोधी फौजमा भर्ती भई सशस्त्र क्रान्तिको प्रखर योद्धा भएका रहेछन् । उनको राणा विरोधी सशस्त्र योद्धाको कदर स्वरुप उनलाई लप्टन पदवी दिइनुका साथै पाल्पाको बडाहाकिम पनि बनाइएको रहेछ । तर तत्कालीन जातिवादी समाजले उनलाई स्वीकार मात्र नगरी अनेकौं अपमान गरेपछि त्यो पद नै त्यागेका रहेछन् ।

जीवनको अन्तिमकालमा उपेक्षित जीवन बिताई ३६ सालमा क्षयरोगका कारण उनले मृत्युवरण गरेका रहेछन् । भारतको स्वतन्त्रता आन्दोलनमा बीपी, मनमोहनहरु जेल परेको भनी उनीहरुलाई स्वतन्त्र भारतले उच्च सम्मान दिएको प्रसंग हामीले पढ्न र सुन्न पाउछौं तर यी लालबहादुर परियारलाई भारतको तर्फबाट सम्मान त परको कुरा सम्झनासम्म पनि नगरिएको सुन्दा यहाँ पनि दलित हुनुको पीडा खप्नुपर्ने देखिंदो रहेछ । उनलाई राज्यले सात बिगाहा जमिन दिने वाचा गरेको रहेछ त्यो पनि उनले पाएनछन् । अर्थात् क्रान्ति र राजनैतिक परिवर्तनमा पनि उपेक्षित । धन्न रणेन्द्र बरालीले यी प्रजातन्त्रका सेनानीलाई जीवित राख्ने काम उनको जीवनी लेखन मार्फत उनको मृत्युपछिको ४४ वर्षपछि गरेछन् । यस्ता वीर दलित योद्धा जसका कारण नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र आयो, उनलाई दलित आन्दोलनको तरफबाट कोटीकोटी प्रणाम ।

माइला लामा कता कता सुनेको नाम तर मिडियाले त्यति नपछ्याउने नाम भएको हुँदा धेरै अपरिचित, कार्यक्रममा उनलाई त्यहाँ लोकार्पण गरिएका चारवटा दलित जागरणका गीतको समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो । उनले ती गीतको विभिन्न कोणबाट जुन किसिमले समीक्षा गरे त्यो सुन्दा म अवाक भएँ, उनको विषयवस्तुको ज्ञान, त्यसमा देखिने बौद्धिकता तथा गहिरो संश्लेषण सुन्दा उनी आफ्नो क्षेत्रका अब्बल व्यक्ति रहेछन भन्ने लाग्यो । उनको गीतका शब्द, त्यसलाई सुहाउने संगीत तथा वाद्यवादन र त्यसलाई प्रस्तुत गर्ने गायकी यी तीनै कुराको उच्च संयोजन नभइकन कुनै पनि गीत कर्णप्रिय तथा लोकप्रिय नहुने तर्क उनको थियो ।

प्रस्तुत गरिएका गीतहरुको शब्द चयन, त्यसको भावार्थ तथा भरिएको संगीत र गायकले उच्चारण गरेका शब्द तथा स्वरहरुमा समेत उनको गहिरो टिप्पणी सुन्दा करिब १६ मिनेटका चारवटा गीतमा उनले आधा घण्टा समय खर्चिंदा दर्शकहरुलाई कहींकतै पट्यार लागेको देखिएन । पछि बुझ्दै जाँदा उनी माओवादी जनयुद्धकालका सांस्कृतिक फाँटका नेता, गायक सर्जक सबै रहेछन । कुनै भिडन्तमा पड्केको बमले उनले झण्डै आँखा गुमाएका रहेछन्, अहिले त्यत्तिको देख्ने पनि डा. सन्दुक रुइतले बनाइदिएका रहेछन् । कार्यक्रममा बोल्दै जाँदा उनले आफैंले लेखेको टिप्पणी पढ्न नसक्दा बरु पूरै देख्न नसक्ने भएको भए हुन्थ्यो, यो अलि अलि देख्ने धेरै नदेख्ने किन बनाइदिएको होला भनेर आफ्नो दिक्दारी पोख्थे । एकपटक सांसद भए पनि प्रचण्ड समूहले क्रान्तिलाई दिएको धोका दिएको भन्दै उनी विप्लव समूहमा लागेका रहेछन् ।

उनले जागरण गीतहरुको समीक्षा गर्ने सन्दर्भमा जनयुद्धकालीन जनसरकारहरुको बखान गरे । उनले दलितमाथि अहिलेको जस्तो अन्तरजातीय विवाह गर्दा घर जलाउने, मान्छे मार्ने, गैरदलितको बस्तीभन्दा माथि घर बनाउँदा भत्काइदिने कार्य जनयुद्धकालमा भएको भए तुरुन्तै जनसरकारले कारवाही गर्नेथ्यो भनेर सुनाए । उनले यसो भनिरहँदा मैले झल्याँस्स सम्झिएँ, अहिले उनकै सर्वोच्च कमाण्डरले नेतृत्व गरेको सरकार छ, जुम्लामा दलितको घर जलाइँदा, बझाङमा दलितको घर भत्काइँदा, अन्तरजातीय विवाह गरी अपहरणको मुद्दामा फसाइएका दलितलाई म्याग्दीमा जेल हाल्दा क्रान्तिकारी पार्टीकै तर्फबाट गृहमन्त्री भएका नारायणकाजीलाई आफ्नो प्रहरी प्रशासनलाई दलितको छिटो न्यायको निम्ति आदेश दिन केले रोकेको थियो ?

यस्ता क्रान्ति र परिवर्तन तथा शोषित पीडितको न्यायका कुरा गरेर नथाक्ने नेताहरुको शासन देशमा हुँदा क्रान्तिकारी भनिने नेताहरु नै कोही नक्कली भुटानी शरणार्थी काण्ड, कोही सुन तस्करी काण्डमा किन मुछिएका छन् ?

क्रान्तिका बेला दलितलाई धेरै युद्धमोर्चामा होमिन लगाएका नेताले नवराज विकहरु त्यति वीभत्स तरिकाले मारिंदा पनि भेरीमा आफैं हेलिएका हुन् भनेर संसदमा किन अभिव्यक्ति दिएका होलान् ? क्रान्तिको बेलामा जनतालाई जुरुकजुरुक उचालेर एक हजार १९७ दलित समुदायका व्यक्तिलाई समेत बलिदानीका लागि उक्साएको यसकै लागि हो ? विप्लव समूहले आफूलाई अझै पनि क्रान्तिकारी भएको दाबी गर्छ तर नवराज विक र उनका साथीहरु रुकुममा मारिंदा उनको पक्षमा काम गर्न केले रोकेको थियो ? हालसालै घटित माथि उल्लेखित घटनामा विरोध गर्न आफ्ना कार्यकर्ताहरुलाई खटाउन केले रोकेको थियो ?

मलाई त्यो कार्यक्रममा एउटा अत्यन्तै खाइलाग्दो आफ्नो नाम आरोही बताउने एकजना भाइलाई भेट्दा अत्यन्त स्तब्ध भएँ । उनका सबै अंगहरु ठीक थियो तर दाहिने हातको हत्केला पूरै काटिएको थियो, मैले आफ्नो जिज्ञासा थाम्न नसकी सोधे- कसरी भयो ? उत्तर सिधा थियो, ‘जनयुद्धको लडाइँमा बमले उडायो ।’ अहिले पनि अपुरो क्रान्ति पूरा गर्न विप्लव समूहमा सक्रिय छु । तर त्यो भाइलाई थाहा छ कि छैन, उनका नेता विप्लव अहिले आफ्नो राजनैतिक संकट टार्न र अस्तित्व जोगाउन तिनै क्रान्तिलाई धोका दिएको आरोप लागेका प्रचण्डको शरणमा छन् ।

मैले आफूलाई भाग्यमानी ठान्छु, विद्यार्थीकालमा गीत-संगीत मार्फत तत्कालीन युवाहरुलाई शोषित, पीडितको न्यायको पक्षमा हुने क्रान्तिको स्वैरकल्पना जसले गराए तिनैको शासनमा छु । तर उनीहरुको त्यो स्वैरकल्पनाको शासन त केवल मिथ्या रहेछ । हामीलाई त केवल सत्तारोहण गर्ने भर्‍याङ बनाएका रहेछन्, हाम्रो लागि शोषण, उत्पीडनबाट मुक्ति केवल हात्तीको देखाउने दाँत मात्रै रहेछ ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?