+
+

अमेरिका जानुअघि टीआरसी विधेयक टुंग्याउन प्रचण्डको दौडधुप

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० भदौ १९ गते २१:२०

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटका लागि सिंहदरबार बोलाए । दिउँसो २ बजेतिर पुगेका नेकपा एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन सहयोग खोजे । ओलीले पनि असहयोग गर्ने चाहना नरहेको जवाफ फर्काए । नेताहरुका अनुसार ओलीले प्रचण्डलाई भनेका थिए, ‘हाम्रो कहिले पो असहयोग थियो र !’

सत्ता गठबन्धनका नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड आसन्न अमेरिका भ्रमण (यही २९ भदौ) अघि नै यो विधेयक संसदबाट पास होस् भन्ने चाहन्छन् । तर प्रचण्ड–ओलीबीच मंगलबार भएको एक घण्टा लामो छलफलपछि पनि विधेयक अघि बढ्नेमा सत्तारुढ दलका नेताहरु ढुक्क हुन सकेका छैनन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक ६ महिनादेखि प्रतिनिधिसभामा विचाराधीन छ । प्रधानमन्त्री प्रचण्डले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

सत्ता गठबन्धन विधेयक फास्ट ट्र्याकबाट पास गर्न चाहन्थ्यो । तर एमालेले संसदीय समितिमा दफाबार छलफल गर्नुपर्ने अडान राखेपछि विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा छ ।

समिति र संसद सबैमा सत्ता गठबन्धनको बहुमत छ । तर प्रमुख प्रतिपक्षी एमालेको सहमतिबेगर टीआरसी विधेयक अगाडि बढाउन सकिन्न भन्ने बुझेका प्रधानमन्त्री प्रचण्ड एमालेलाई नचिढ्याउन संसदीय समिति सभापतिहरुको भागवण्डामा लचिलो बने ।

११ वैशाखमा शीर्ष नेताहरुबीच संसदीय समितिका सभापतिहरुको भागवण्डा मात्र भएन, टीआरसी विधेयक वर्षे अधिवेशनबाट पास गर्ने सहमति पनि भयो । त्यसपछि ५ जेठमा कानुन समितिले टीआरसी विधेयकमा सहमति जुटाउन २१ दिन समय दिएर उपसमिति बनायो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार बसेको बैठक ।

अनि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादी केन्द्रका उपहासचिव वर्षमान पुनले पनि यो विधेयकमा सहमति जुटाउन छुट्टै छलफल थाले ।

पार्टी नेतृत्वसँग समन्वय गरेर तीन नेताले गरेको छलफलका आधारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा पनि तयार पारेको छ ।

जसमा द्वन्द्वकालीन मुद्दा हेर्न सर्वोच्च अदालतमा छुट्टै पूर्ण इजलास गठन गर्ने प्रस्ताव छ । जबकी सरकारले ल्याएको विधेयकमा विशेष अदालत गठनको प्रस्ताव गरिएको थियो । पूर्ण इजलास गठनमा सहमति भए अदालत गठनको प्रक्रिया र संक्रमणकालीन मुद्दामा पुनरावेदन हुने वा नहुने विवाद टुंगिने नेताहरुको विश्वास छ ।

विधेयकमा राखिएको प्रावधान मानवअधिकार उल्लंघन र गम्भीर मानवअधिकार उल्लंघनको परिभाषामा पनि दलहरुबीच विवाद थियो ।

समितिमा विचाराधीन विधेयकमा सशस्त्र द्वन्द्वको क्रममा निःशस्त्र व्यक्ति वा जनसमुदायविरुद्ध लक्षित वा योजनावद्ध रुपमा गरिएको हत्या, यौनजन्य हिंसा, शारीरिक वा मानसिक यातना, अपहरण तथा शरीर बन्धक बनाउने, गैर कानुनी थुना, कुटपिट अंगभंग, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा वा आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरीत गरिएका अमानवीय कार्यलाई मानवअधिकार उल्लंघनका घटना भनिएको छ ।

क्रुर यातना दिई वा निमर्मतापूर्वक ज्यान मारेको, जबर्जस्ती करणी, जबर्जस्ती व्यक्ति बेपत्ता र अमानवीय वा क्रुरतापूर्वक दिएको यातनालाई गम्भीर मानवअधिकार उल्लंघनमा राखिएको छ ।

कानुन मन्त्रालयले तयार पारेको सहमतिको मस्यौदामा यसमा पनि संशोधन गरिएको छ । मानवअधिकार उल्लंघनका घटना भनेर राखिएको ९ वटा सूची हटाइएको छ र मानव अधिकारको गम्भीर उल्लंघनबाहेक अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुन विपरीत गरिएका जुनसुकै कार्यलाई मानवअधिकार उल्लंघन भनिएको छ ।

गम्भीर मानवअधिकार उल्लंघनमा भने स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको (आर्बिटरी) हत्या, जबर्जस्ती करणी तथा गम्भीर यौनजन्य हिंसा, जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य र अमानवीय वा क्रुरतापूर्वक दिएको यातनालाई राखिएको छ ।

 

संसदमा विचाराधीन विधेयक कानुन मन्त्रालयले तयार पारेको ड्राफ्ट
 

मानव अधिकारको उल्लंघन भन्नाले सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा गरिएका देहायको कुनै कार्य सम्झनुपर्छ ।

·         हत्या

·         यौनजन्य हिंसा

·         शारीरिक वा मानसिक यातना

·         अपहरण तथा शारीर बन्धक बनाउने

·         गैर कानुनी थुनामा राख्ने

·         कुटपिट गर्ने, अंगभंग वा अपाङ्ग बनाउने

·         व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा,  तोडफोड वा आगजनी गर्ने

·         घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै  किसिमबाट विस्थापन गर्ने, वा

·         अन्तराष्टिय मानवअधिकार वा मानवीय कानुन विपरित गरिएका जुनसुकै अमानवीय कार्य

 

 

मानव अधिकारको उल्लंघन भन्नाले सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा सशस्त्र द्वन्द्वका पक्षबाट मानवअधिकारको गम्भीर उल्लंघन बाहेकका अन्तर्राष्टिय मानवअधिकार वा मानवीय कानुन विपरित गरिएका जुनसुकै कार्य सम्झनुपर्छ ।

 

 

मानव अधिकारको गम्भीर उल्लंघन भन्नाले सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा सशस्त्र द्वन्द्वका पक्षबाट गरिएको देहायको कुनै कार्य सम्झनुपर्छ ।

·         क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको

·         जबर्जस्ती करणी

·         जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य

·         अमानवीय वा क्रुरतापूर्वक दिएको यातना

 

 

मानव अधिकारको गम्भीर उल्लंघन भन्नाले सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा सशस्त्र द्वन्द्वका पक्षबाट गरिएको देहायको कुनै कार्य सम्झनुपर्छ ।

·         स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको (आर्बिट्रेरी) हत्या

·         जबर्जस्ती करणी तथा गम्भीर यौनजन्य हिंसा

·         जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य

·         अमानवीय वा क्रुरतापूर्वक दिएको यातना

 

 

दोस्रो तहका नेताहरुले तयार पारेको मस्यौदा ओली र प्रचण्डले अनुमोदन गरे टीआरसी विधेयक अघि बढ्ने नेताहरुको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग टेलिफोन सम्वाद गरेका थिए । त्यसक्रममा उनले टीआरसी विधेयक अगाडि बढाउन सहयोग खोजेका थिए । त्यसपछि सभामुख घिमिरले सोमबार कानुन समितिका सभापति विमला सुवेदीलाई बोलाएर टीआरसी विधेयक छिटो अगाडि बढाउन आग्रह गरे ।

सभापति सुवेदीले मंगलबार नै बैठक राखेर टीआरसी विधेयकमा सहमति खोज्ने जिम्मेवारी पाएको उपसमितिको म्याद ७ दिन थप्ने निर्णय गराएकी छन् । ‘नेताहरुसँगको सम्वाद र समितिको विश्वासको आधारमा समय थप गरिएको हो’, सुवेदीले भनिन्, ‘थपिएको समयभित्र सहमति जुट्छ ।’

फाइल तस्वीर

मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सबै दलले अपनत्व लिने गरी विधेयक अगाडि बढाउने चाहना रहेको बताएका थिए । ओलीले पनि समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको बताएका नेताहरु निकट स्रोतले बताएको छ । तर ‘थप सुधारका लागि सरकार तयार हुनुपर्ने’ अध्यक्ष ओलीको शर्त छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा केन्द्रित भएर पुनः छलफल गर्न सहमत भएका छन् । ‘सायद छिट्टै प्रमुख विपक्षी दलको नेता, प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको बीचमा छलफल हुन्छ’, एक नेता भन्छन्, ‘टीआरसीलाई एउटा टुंगोमा लैजाने प्रयास छ ।’

तर एमालेका कतिपय नेताहरु भने माओवादी नेतृत्व टीआरसी विधेयक टुंग्याउन चाहन्छ भन्नेमा संशय व्यक्त गर्छन् । उनीहरुको अनुसार ओली प्रधानमन्त्री भएको दुबै पटक करिव करिब सहमति जुटेको थियो, तर माओवादीकै कारण भत्कियो । अहिले पनि अमेरिका जानुअघि सहमतिका लागि प्रयत्न गरेको छु भन्ने देखाउन मात्र खोजेको त होइन भन्ने उनीहरुको आशंका छ ।

किनकी अहिले प्रमुख दलहरुबीच आपसी अविश्वास बढ्दो छ । द्वन्द्वपीडितहरुसँग छलफल गरेर उनीहरुको विश्वास जित्ने काम पनि भएको छैन । सर्वोच्च अदालतको फैसलाका साथै नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता अनुसार विधेयक बनाउनुपर्ने भन्दै एमालेका एक नेता भन्छन्, ‘सबभन्दा ठूलो पीडितहरुको विश्वास जित्नुपर्छ । यसका लागि धेरै काम गर्न बाँकी छ ।’

सत्तारुढ माओवादी नेताहरु भने सरकारले सुरुदेखि नै संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेको र त्यसअनुसार प्रयत्न भइरहेको बताउँछन् ।

उपमहासचिव वर्षमान पुनले पनि यो मुद्दा सबैको साझा विषय भएकाले संसदमा सामूहिक छलफल भइरहेको बताउँछन् । उनले अगाडि भने, ‘छलफल सकारात्मक रुपमा अगाडि बढेको छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?