+
+

‘सानो भूगोलको पनि इतिहास हुन्छ भन्ने स्थापित गर्न विर्तामोड पुस्तक लेखेँ’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १०:४०

२० भदौ, काठमाडौं । झापाका पत्रकार तीर्थ सिग्देलले आफ्नो छैठौं कृति ‘विर्तामोड उद्भव र विकास’ ल्याएका छन् । झापाको एउटा स्थानीय तहको ६ दशकको आर्थिक, सामाजिक, शैक्षिक र व्यापारिक पाटोलाई केलाउँदै उनले पुस्तक तयार पारेका हुन् ।

पूर्वको व्यापारिक केन्द्रका रुपमा उदाउँदै गरेको शहर विर्तामोड कथा लेख्ने सुर कस्दा उनलाई धेरैले प्रश्न गर्थे, ‘एउटा सानो भूगोलको पनि इतिहास हुन्छ र ?’ यही प्रश्नमा लेखक सिग्देलले अनलाइनखबरसँग भने, ‘जसरी हरेक मानिसको जीवनका आफ्नै कथा हुन्छन्, त्यसैगरी हरेक भूगोलको पनि आफ्नै कथा हुन्छ ।’

टाढाबाट हेर्दा सानो ठाउँ वा भूगोल जस्तो देखिए पनि स्थानीय व्यक्तिले खोतल्दा त्यहाँ इतिहासका थुप्रै रोचक विषयहरु फेला पर्ने सिग्देल बताउँछन् । त्यसैले उनी भन्छन्, ‘सानो भूगोलको पनि इतिहास हुन्छ भन्ने स्थापित गर्ने प्रयास यो पुस्तकमार्फत गरेको हुँ ।’

प्रस्तुत छ, पुस्तकको सन्दर्भमा पत्रकार तीर्थ सिग्देलसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

इतिहास लेखनका लागि किन एउटा सानो भूगोल नै रोज्नुभयो ? दायरामा अलि फराकिलो पार्नु भएको भए हुन्थेन ?

हरेक व्यक्तिका आ–आफ्नो इतिहास र कथा भएजस्तै हरेक भूगोलको पनि आफ्नो इतिहास हुन्छ भन्ने मेरो मान्यता छ । हुन त परबाट हेर्दा सानो ठाउँको, सानो भूगोलको पनि इतिहास हुन्छ र ! भनेर प्रश्न गर्ने गरिन्छ ।

जतिबेला मैले म यो पुस्तक लेख्छु, म आफू बसेको ठाउँको इतिहास संसारलाई सुनाउन चाहन्छु भनेर सार्वजनिक गरेर पुस्तक लेख्न बसेको थिएँ, त्यतिबेला पनि मान्छेहरुले मलाई ‘यो भूगोलको इतिहास हुनसक्छ र !’ भन्दै प्रश्न गरेका थिए । जिल्ला, प्रदेश वा कुनै परिस्थिति र कालखण्डको इतिहास लेख्नु पर्छ भनेर धेरैले प्रश्न गरेका थिए ।

तर, मैले त्यो कुरालाई सहज रुपमा लिँदै हरेक व्यक्तिको अलग कथा भए जस्तै, हरेक भूगोलको पनि फरकफरक इतिहास हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न यो प्रयत्न गरेँ ।

कुन समयमा बिर्तामोडको इतिहास खोतल्छु भन्ने लाग्यो ?

हालै प्रकाशित ‘विर्तामोड उद्भव र विकास’ पुस्तक अघि मेरा ५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । यो मेरो छैठौं कृति हो । साहित्य क्षेत्रमा खास गरी कथा, निम्बन्ध या यात्रा संस्करण लेखिरहँदा मलाई एकप्रकारले आफ्नो ठाउँ भूगोलको बारेमा पनि इतिहास लेखौं भन्ने हुटहुटी लाग्थ्यो ।

आफ्नो ठाउँको इतिहासलाई पनि संग्रहित गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । झण्डै ३ वर्षयता चाहिँ म एकदम त्यही काममा जुटिरहेको थिएँ । त्यसलाई एकप्रकारले यही ३ वर्षको सेरोफेरोमा संग्रहित गर्दै गएर पछिल्लो एक वर्षको अवधिमा मैले यसलाई अन्तिम रुप दिएको हुँ ।

माथिबाट हेर्दा तलको इतिहास अलि फरक देखिन्छ । तर, तलबाट हेर्दा, ग्राउण्ड तहबाट हेर्दा भूगोलको इतिहाससँग हेर्ने हो भने धेरै तलका मान्छेहरुको कथा, हिजोको संघर्ष गरिरहेका मान्छेहरुका इतिहास र भुइँमान्छेहरुको कथा चाहिँ यसमा समेट्न सकिने रहेछ भन्ने लागेर मैले यो प्रयास गरेको थिएँ ।

यसमा म कति सफल भएँ, या के भएँ ? त्यो आम पाठकहरुले मूल्यांकन गर्ने कुरा हो ।

अध्ययन गर्दा विर्तामोडको इतिहास कति पुरानो पाउनुभयो ? कसरी विकास हुँदै आएको देख्नुहुन्छ ?

नेपालको पूर्वदेखि पश्चिमसम्मको कतिपय तराईहरु हिजो कालखण्डमा जंगलै जंगल थिए । त्यतिबेला मान्छेहरु धेरैजसो पहाडमा मात्र बस्थे । तराईमा धेरै जंगल भएकाले औलो, विफर जस्ता रोगहरुको प्रकोप थियो ।

राणा शासनको अन्त्यतिर आइपुग्दा एकप्रकारले जंगललाई बिक्री गर्ने सम्झौता इस्ट इण्डिया कम्पनीसँग भयो । त्यतिबेला भारतका कतिपय ठाउँमा रेल सेवा विस्तार भइरहेका कारण उनीहरुलाई नेपालको सालको काठ चाहियो । नेपालको सालको काठ उनीहरुलाई एकदमै उपयुक्त लागेको थियो । त्यहीकारण राणाहरुको बीचमा सम्झौता भएर धेरैजसो तराईका जंगल मासिएको देखिन्छ ।

जंगल फँडानीसँगै त्यतिबेलाको सरकारले बसाबासको स्थान्तरण गर्ने नीति ल्यायो । पहाडका मान्छेले तराईमा आएर जति जंगल फाँड्न सक्छ, त्यति क्षेत्र चाहिँ उसकै हुने नीति लिएका कारणले धेरै मान्छेहरु तराईमा फर्किएर आए । कतिपय बाहिरका मान्छेहरु पनि फर्किएर आए । त्यसक्रममा तराई बसोबासको प्रवृत्ति बढेको देखिन्छ ।

हरेक नगर वा शहर वा भूगोलका आफ्ना आफ्ना शक्तिहरु छन् । त्यो शक्तिको पहिचान स्थानीय सरकारले पनि गर्न सकेनन् । मैले नगरको शक्ति खोतल्ने प्रयास गरेको हुँ । नगरको शक्ति यो हो र त्यसमा केन्द्रित भएर हामी अघि बढ्न सक्यौं भने समृद्धि सम्भव छ भन्ने पनि चिनाउन खोजेको छु ।

विर्तामोडको हकमा पनि त्यही हो । मैले विर्तामोडको उद्भवको कुरा गर्दा झण्डै २०१९/२० सालदेखिका कथाहरु समेटेको छु । त्योभन्दा अघि एकप्रकारले औलो र विफरको प्रकोप भएको कथा पनि छ । तर, खासगरी महेन्द्र राजमार्गको रेखांकन जसरी २०१९ सालमा भयो, त्यसपछि तराईमा थप मान्छेहरु आउने क्रम बढेको देखिन्छ । त्यसका लागि त्यो कथालाई मैले दुई वटा पाटोमा एउटा उद्भव र अर्को विकासको चरणमा हेरेको छु ।

नेपालका कतिपय पुराना शहरहरु होलान्, तिनीहरुको इतिहास १०० वर्षको पनि होला । तर, विर्तामोड, काँकडभिट्टा, सुरुङ्गा, दमक या नेपालका राजमार्गले भेटेका कतिपय शहरहरु छन्, तिनको इतिहास त्यति लामो छैन । झण्डै हाराहारी आधा शताब्दीका होलान् । विर्तामोडको पनि इतिहास त्यही ५०/६० वर्षको देखिन्छ ।

प्रारम्भिक अवस्थालाई हेर्ने हो भने २०१९/२० सालतिर जतिबेला महेन्द्र राजमार्गको रेखांकन भयो, त्यसलाई आधार मान्ने हो भने जम्मा ६० वर्ष पुग्छ । त्यो १९/२० सालदेखि ०४६ को आन्दोलन, पछिको राजनीतिक परिवर्तन लगायतलाई मान्ने हो भने ०५० देखि अघिको चरणलाई उद्भव जस्तो र त्यसभन्दा पछाडिको समयलाई विकासको चरणमा मानेर पुस्तक तयार भएको छ । विशेष गरी नेपालका तराईका शहरहरु यही कालखण्डमा विकसित भएका पनि देखिन्छन् ।

विर्तामोड त्यही पछिल्लो समयमा उद्भव भएको र विकसित हुँदै गएको पूर्वको स्थापित शहर जस्तो देखिन्छ । खासगरी इहटरी, विर्तामोड र आसपासका शहरहरु अत्यन्तै शहरीकरणको उन्नत चरणमा पुगेको जस्तो देखिन्छ । मैले विकासको चरण अन्तरगत खासगरी उद्योग, व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा शहर स्थापित भएकाले ती कुन–कुन स्वरुपमा कसरी विकसित भए भन्ने पनि मैले यो पुस्तकमा समेट्ने प्रयास गरेको छु ।

विर्तामोडको शक्ति के हो ?

मुलतः मैले यो किताबमा विकासको चरणमा छलफल गर्दा तीन वटा कुरालाई मात्र प्राथमिकता दिएको छु । उद्योग व्यापार, शिक्षा र स्वास्थ्यको हिसाबले प्राथमिकता दिएको छु । शिक्षाको हिसाबले हेर्ने हो भने झण्डै डेढ दर्जन कलेजहरु, ५ दर्जनजति स्कुलहरु छन् । सरकारी स्कुलहरु चाहिँ २० वटा जति छन् । स्वास्थ्यको कुरा गर्ने हो भने प्रस्तावित मेडिकल कलेजदेखि झण्डै डेढ दर्जनजति स्वास्थ्य अस्पतालहरु छन् ।

मेची आँखा अस्पतालदेखि अरु चार–पाँच वटा आँखा अस्पतालहरु छन् । मेची आँखा अस्पतालमा त भारतदेखिका मान्छेहरु उपचारका लागि आउँछन् । त्यसकारण सबै कुरालाई हेर्ने हो भने शिक्षा, स्वास्थ्य र व्यापारको हिसाबले त्यो तीन शक्ति हो । जस्तै, पोखरालाई हेर्दा हामी पर्यटनको शहर भन्छौं । दार्जिलिङलाई हामी पर्यटनको शहर मान्छौं ।

साँच्चै भन्दा हरेक नगर वा शहर वा भूगोलका आफ्ना आफ्ना शक्तिहरु छन् । हाम्रो नगरको शक्ति के हो ? त्यो शक्तिको पहिचान स्थानीय सरकारले पनि गर्न सकेनन् । मैले नगरको शक्ति खोतल्ने प्रयास गरेको हुँ । नगरको शक्ति यो हो र त्यसमा केन्द्रित भएर हामी अघि बढ्न सक्यौं भने समृद्धि सम्भव छ भन्ने पनि चिनाउन खोजेको छु ।

हरेक ठाउँको इतिहास भएजस्तै नामको पनि इतिहास हुन्छ, विर्तामोडको नाम चाहिँ कसरी रहेको पाउनुभयो ?

हरेक ठाउँको इतिहास झल्काउने हो भने त्यसको प्रस्थान बिन्दुबाट सुरु गर्नुपर्ने हुन्छ । राणा प्रधानमन्त्री चन्द्रशमशेर र उनका भाइ, आफन्त र श्रीमतीको नाममा विर्तामोड भएको ठाउँ विर्ताबजारमा विरताका रुपमा जग्गा जमिन त्यहाँ रहेछ । त्यो जग्गा जमिनको संरक्षण गर्नका लागि १९९३ सालमा भूपालमानसिंह कार्की त्यहाँ गएको भेटिन्छ । उनले आफ्नो पुस्तक मेरो जीवन यात्रामा यो कुरा उल्लेख गरेका छन् । मैले उनको भनाइलाई मेरो पुस्तकमा पनि उल्लेख गरेको छु ।

त्यो ठाउँको विकासको सन्दर्भमा उनले गरेका कतिपय कामहरु र बनाएका योजनाहरुको बारेमा पनि मैले चर्चा गरेको छु । र, देशैभर सयौं विगाहा राणाहरुको नाममा विरता लिने दिने चलन थियो । त्योबेलामा मैले सुरुमा भनेजस्तो जसरी पहिले जंगल फँडानी भएपछि काठ बिक्री गर्नका लागि भुपालमानसिंह कार्कीलाई काठ, माल अड्डाको प्रमुख बनाएर त्यहाँ पठाएको इतिहास भेटिन्छ । र, राणाहरुको विरता भएका कारणले नजिकै एउटा बजार बस्न गयो ।

त्यो के बजार होभन्दा विर्ताबजार भनेर नाम रहन भयो । पछि सदरमुकाम भद्रपुरसँग सडक जोडियो । महेन्द्र राजमार्गको पनि रेखांकन भएपछि भद्रपुर र विर्ताबजारतिर जोडिने बाटोको मोड के हो भन्दा विर्ताबजारबाट हाईवेतिर मोडिने विर्तामोड हो भनिएका कारणले गर्दा विर्तामोड भएको हो ।

धरान, विराटनगरदेखि गाडी बस आउने–जाने, मानिसहरुको आवतजावत सुरु भएपछि त्यो गाडीहरु कहाँ रोकिने भन्दा विर्ताबजार जाने ठाउँमा रोकिने भयो । र, त्यतिबेलाको मोडलाई विर्तामोड भनिँदै गयो । पछि यसको नाम विर्तामोड रहन गयो ।

अहिले विर्तामोड सबै जातजातीको संयुक्त बसोबास स्थल जस्तो देखिन्छ । राजमार्ग बनेपछि धरैजसो मान्छेहरु पूर्वी पहाडबाट आए । अहिले ७७ जिल्लाबाटै मान्छेको आउजाउ हुने भएकाले विर्तामोड एउटा व्यापारको थलो पनि भएको छ ।

पहिले मुलतः विर्तामोडमा राजवंशी, धिमाल, सन्थाल र चौधरी त्यहाँ बसेको देखिन्छ । पहिले राजवंशी, पछि धिमाल, सन्थाल र चौधरीहरु चाहिँ पछि मोरङ लगायतका क्षेत्रबाट आएको देखिन्छ । अहिले पनि विर्तामोड क्षेत्रमा यो जातिका १०० वर्षअघि बनेका घरहरुका अवशेषहरु छन् । त्यसकारण उनीहरु जातिगत हिसाबले हेर्दा तीन जातिको उद्भव चरणदेखि नै भएको देखिन्छ ।

अहिले चाहिँ सबै जातजातिको साझा बसोबास स्थल जस्तो भएको छ, विर्तामोड ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?