+
+

सिंहदरबारभित्र बेवारिसे छ ऐतिहासिक ‘ऐना भवन’

प्रबलीकरण पर्खिंदैछ संसदीय इतिहास बोकेको ग्यालरी बैठक

भवनका परम्परागत झ्याल, बुट्टा र मूर्तिहरु टुटफुट भएका छन् भने रंगरोगन खुइलिएर भवनले आफ्नो अस्तित्व नै गुमाउन लागेको जस्तो देखिन्छ । प्रयोगहीन बनेको भवनलाई पुराना र काम नलाग्ने सरसामान थुपार्ने ठाउँका रुपमा दुरुपयोग गरिएको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ २० गते २३:५९

२० भदौ, काठमाडौं । नेपालको संसदीय इतिहासको साक्षीका रुपमा रहेको ग्यालरी बैठक भवन सिंहदरबारको आडमै रहेर पनि जीर्ण अवस्थामा छ । २०७२ को महाभूकम्पले क्षति पुर्‍याएपछि यो भवन अहिलेसम्म संसद र सरकारको बेवास्तामा छ ।

सरकारले चासो नदिंदा पुरानो संसद भवनका रुपमा समेत रहेको यो भवनका विभिन्न भागहरु खण्डहर बनिसकेका छन् । भूकम्पपछि छानो चुहिएर प्लाष्टिकले छोपिएको भवनका विभिन्न भागमा घाँस उम्रिएको देखिन्छ ।

विभिन्न ठाउँमा चर्किएका गारोबाट पानी भित्र पसिरहेको देखिन्छ । भवनका परम्परागत झ्याल, बुट्टा र मूर्तिहरु टुटफुट भएका छन् भने रंगरोगन खुइलिएर भवनले आफ्नो अस्तित्व नै गुमाउन लागेको जस्तो देखिन्छ ।

प्रयोगहीन बनेको भवनलाई पुराना र काम नलाग्ने सरसामान थुपार्ने ठाउँका रुपमा दुरुपयोग गरिएको छ । भवन भित्र र परिसरमा थुपारिएको फोहोर र कवाडी सरसामानले समेत यो पुरातात्विक भवनमाथि सरकारले गरेको ‘अन्याय’ प्रष्ट हुन्छ ।

पछिल्लो पटक ९ चैत २०७९ मा राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ग्यालरी बैठक भवनलाई कला, संस्कृति सहित इतिहास बोकेका सम्पदा भन्दै संरक्षण गर्न दिएको थियो ।

संसदको निर्माणाधीन नयाँ भवनले पुरानो भवनको प्रतिनिधित्व गर्न नसक्ने भन्दै संसदीय समतिले पुरानो भवन नभत्काउन भनेको थियो । त्यसैअनुसार तयारी गरे पनि कहिलेदेखि भवन प्रबलीकरणको काम सुरु हुन्छ भन्ने तय भइसकेको छैन ।

सिंहदरबारस्थित ग्यालरी बैठक अर्थात् पुरानो संसद भवन प्रबलकीरण गर्न सरकारी योजना तयार छ । भूकम्पले क्षतिग्रस्त भएको ग्यालरी बैठकलाई प्रबलीकरण (रेट्रोफिट) गरेर पुनर्निर्माण गर्न ठेक्का आह्वान गर्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

२०७२ को भूकम्पपछि केही स्वार्थ समूहले ठूलो ठेक्काका लागि दरबारहरु भत्काउने लहर चलाउँदा ऐतिहासिक तथा पुरातात्विक महत्वको यो भवन पनि भत्काउने योजना बनिसकेको थियो । सरकारले त्यसैअनुसार ‘रिपोर्टिङ’ गरेपछि २९ पुस २०७६मा संसदको विकास तथा प्रविधि समितिले भत्काएरै पुनर्निर्माण गर्ने निर्देशन समेत दिएको थियो ।

तर, माटो तथा चुना सुर्कीकै प्रयोग गरेर बनेको सिंहदरबार रेट्रोफिट गर्ने तय गरेपछि यो भवनमा पनि त्यस्तो प्रविधि प्रयोग गर्न सकिनेबारे छलफल भएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रेट्रोफिट गर्न सकिने भनेपछि भवन जोगिएको थियो । तर, बजेट अभावले भूकम्पको ८ वर्षसम्म पनि काम अघि बढेको छैन ।

चालु आर्थिक वर्षदेखि ग्यालरी बैठक भवनको प्रबलीकरण सुरु हुने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठको दाबी छ । ‘भवनको प्रबलीकरण सबै स्पेसिफिकेसनहरु तयार गरी गरिसकेका छौं’ उनले भने, ‘केही समयभित्रै टेन्डरमा जान्छौं ।’

थिएटरदेखि संसद भवनसम्म

राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६५मा सिंहदरबारसँगै निजी ‘थिएटर’का रुपमा ग्यालरी बैठकको निर्माण गराएका थिए । तत्कालीन समयमा सिंहदरबारको पछाडितर्फ बनाइएको ग्यालरी बैठकलाई भित्ताहरुमा ‘ऐना’हरु लगाएर विशेष तरिकाले सजाइएको थियो । यसैकारण यसलाई ‘ऐना भवन’का रुपमा समेत चिनिन्थ्यो ।

राणाहरुले विदेशी पाहुनालाई आफ्नो वैभव र विलासी शैली देखाउने गरी यो भवन बनाएका थिए । विदेशी पाहुनालाई रात्रिभोज दिन र अन्य समयमा नाचगान हेर्न र भोजभतेर गराउन यो भवनको प्रयोग हुन्थ्यो ।

‘दि राणाज् अफ नेपाल’ पुस्तकका अनुसार यो भवनको भुइँमा समेत वन्यजन्तुका छालाहरु विछ्याइएका थिए । राणा कालको अन्तिम समयमा पद्मशम्शेरले यो भवनमा भारदारी सभा बसाल्थे । वि.सं. २००४ मा यही सभाबाट ‘नेपाल सरकार वैधानिक कानुन’ घोषणा भएको मानिन्छ ।

२००७ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि यही भवनमा सल्लाहकार सभा बस्थ्यो । त्यसपछि भने ग्यालरी बैठक नेपालको संसदीय इतिहासको साक्षीका रुपमा रह्यो ।

२०१५ सालको आमचुनावपछि १६ असार २०१६मा ‘ऐना भवन’मै पहिलो संसद बैठक बसेको इतिहासमा उल्लेख छ । यो भवनलाई त्यतिबेलै ‘महासभा’का रुपमा चिनाइएको थियो ।

पञ्चायती व्यवस्थामा पनि यही भवनमा राष्ट्रिय पञ्चायतका अधिवेशनहरु बसेका थिए । १ वैशाख २०२० मा राष्ट्रिय पञ्चायत बैठकको पहिलो अधिवेशन बसेको थियो ।

२०४८ सालको आम चुनावपछि पनि यही भवनमा नै फेरि संसद बैठक बस्न थाल्यो । २०६३ मा अन्तरिम संसद गठन भएर १५ वैशाख २०६३ मा पहिलो बैठक यसमै बसेको थियो  ।

२०६४ को संविधानसभा चुनावपछि ६०१ जना सभासद निर्वाचित भएसँगै यो भवनमा बैठक बस्न ठाउँ अभाव हुने भएपछि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद भवन सारिएको थियो । अहिले सिंहदरबारभित्रै नयाँ संघीय संसद भवन बनिरहेको छ ।

सरकारको योजना : ‘स्टेट सभाहल’

यही बेला पुरानो संसद भवनलाई पनि पुनर्निर्माण गर्ने सुरसारमा सरकार छ । २७ मंसिर, २०७९ मा नै शहरी विकास तथा भवन निर्माण विभागले संसद सचिवालयलाई पत्र लेखेर आफ्ना सामान हटाउन अनुरोध गरेको थियो । प्रबलीकरणका लागि यो भवन खाली गर्न विभागले अनुरोध गरेको थियो ।

विशिष्ट वास्तुकलाको नमूनाका रुपमा समेत रहेको यो भवन संसदीय संग्रहालयका रुपमा विकास गर्नुपर्ने संसद सचिवालयका अधिकारीहरु बताउँछन् । तर सरकार भने यसलाई स्टेट गेस्ट हाउस, स्टेट ब्यांक्वेट वा सेमिनार हलका रुपमा विकास गर्ने सोचमा छ ।

शहरी विकास मन्त्री सीता गुरुङ ऐतिहासिक, राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको यो भवनलाई पुरानै शैलीमा प्रबलीकरण गरिने बताउँछिन् । चालु आर्थिक वर्षमा नै यो आयोजनाका लागि बजेट विनियोजन भइसकेको मन्त्री गुरुङले जानकारी दिइन् ।

यो भवनलाई विशिष्ट विदेशी पाहुनासँगको भेटवार्ता, राजकीय भोज र अन्य अतिविशिष्ट सरकारी कार्यक्रमहरु गर्ने गरी ग्यालरी बैठक पुनर्निर्माण गर्न लागिएको मन्त्री गुरुङको भनाइ छ । ‘अहिले विदेशी पाहुनासँग हुने महत्वपूर्ण भेटवार्ताहरु होटलमा गर्नुपर्ने बाध्यता छ’ उनले अनलाइनखबरसँग भनिन्,‘ग्यालरी बैठकको पुनर्निर्माणपछि सिंहदरबारभित्रै यो सम्भव हुन्छ ।’

   

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?