+
+

विमानस्थलको सुरक्षा जाँच पार गरेर हङकङ पुग्यो चरेश

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते २०:१४

२० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ ।

कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो ।

कार्गोमार्फत त्यसबारे सूचना प्राप्त भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताए । उनले भने, ‘कति परिणाम हो भन्ने यकिन भइसकेको छैन, तर चरेश गएको भन्ने सूचना पाएपछि छानबिन सुरु भएको छ ।’

विमानस्थलमा लागूऔषध नियन्त्रण ब्यरोको टोली समेत जाँचमा खटिन्छ । तर, जाँच पार गरेर चरेश बाहिरिएपछि छानबिनका लागि ब्यूरोले प्रहरी नायब उपरीक्षक (डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

प्रहरीबाट तर्फबाट भएको हुनसक्ने कमजोरीबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ । यद्यपि, समितिले गाँजा पठाउने व्यक्तिबारे समेत अनुसन्धान गर्ने स्रोतले बताएको छ ।

प्रहरीका अनुसार, गाँजासहितको किताबको पार्सल विराट कार्गोले पठाएको थियो । २६ साउनमा गाँजासहितको पार्सल विमानस्थलबाट बाहिरिएको प्रहरीले जनाएको छ । ब्यूरोका एसपी चक्रराज जोशीले छानबिनबाट यममा के भएको हो भन्ने देखिने बताउँछन् ।

‘यसमा कसैको नियत हो या लापरबाही वा अरु केही भन्ने पनि छानबिनबाट नै खुल्छ’, उनले अनलाइनखबरसँग भने । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको ६० किलो सुनबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?