+
+

‘खेती किसान केही छैन, सारङ्गीको भर’

रासस रासस
२०८० भदौ २३ गते १९:५०

कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुख्र्यौली पेसामै फर्किए । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै छन् ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्छन् । ‘गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन’, उनले भने । सारङ्गी रेट्नु, गीत गाउनु उनको रहर मात्रै होइन, बाध्यता हो ।

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्थे । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई/चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र रु २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उनले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्छन् । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उनको गुनासो छ ।

‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्‍यो, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौं’, विष्णुले भने, ‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी २३ हजारमा बिक्री गर्छन् । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उनको दुखेसो छ ।

सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्धर्वको गुनासो छ । ‘बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्’, भद्रबहादुरले भने, ‘हामी बाचुञ्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।’

उनले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरु केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्रबहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उनको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नुभएको तर विष्णुलाई भने साथ दिँदै आएका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले अहिलेसम्म गन्धर्व समुदाय लक्षित कार्यक्रम र योजना नभएको भए पनि आगामी दिनमा योजना र कार्यक्रम ल्याइने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?