+

हृदयघात भइसकेपछि तत्काल के गर्ने, के नगर्ने ?

२०८० भदौ  २८ गते १३:५१ २०८० भदौ २८ गते १३:५१
हृदयघात भइसकेपछि तत्काल के गर्ने, के नगर्ने ?

काठमाडौं । हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ । यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ । त्यसैले विज्ञहरूले हृदयघातका सानातिना लक्षणलाई पनि बेवास्ता नगर्न सल्लाह दिन्छन् ।

तत्काल चिकित्सकीय सहयोग पाएमा मुटुलाई क्षति पुग्नबाट जोगाउन सकिन्छ, जसले बिरामीको ज्यान जोगाउन सकिन्छ । त्यसैले हृदयघातको कुनै संकेत पाउन सकिन्छ कि सकिंदैन ? हृदयघात भइहाले के गर्ने लगायतको विषयमा वीर अस्पतालमा मुटुरोग विशेषज्ञ डा. विनायक गौतमसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

हृदयघात नै भएको भनेर कुनै संकेत पाउन सकिन्छ ?

हृदयघात हुँदा देखिने सबैभन्दा सामान्य लक्षण छाती दुखाइ हो । छातीको बीच भागबाट दुखाइ सुरु भएर दुखाइ सर्दै हातमा र घाँटीमा पनि दुख्न सक्छ । दुखाइसँगै पसिना आउने, रिंगटा लाग्ने जस्ता संकेत पनि देखियो भने हृदयघातको संकेत हुन सक्छ ।

हृदयघातको सामान्य लक्षण छाती दुख्ने भए पनि वृद्ध अवस्था, मधुमेहको समस्या भएका व्यक्तिहरुमा छाती दुख्ने लक्षण नदेखिन पनि सक्छ । यस्तो व्यक्तिलाई सास फेर्न गाह्रो हुने, पसिना आउने, अचानक बेहोस हुने जस्ता लक्षण देखिन सक्छ ।

कस्ता व्यक्तिलाई हृदयघातको जोखिम बढ हुन्छ ?

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।

हृदयघात हुनसाथ के गर्ने ? 

कसैलाई हृदयघात भए सम्भव भएसम्म छिटो बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स आउनुभन्दा अघि बिरामीलाई सजिलो समतल स्थानमा राख्नुपर्छ, जहाँ आराम महसुस गर्न सकोस् ।

हृदयघात भएर कसैको मुटुको धड्कन बन्द भएको छ, बेसोस भएर स्वासप्रवासमा समस्या भएको छ भने शरीरको अन्य अंगमा रगतको आपूर्तिका लागि बिरामीलाई सीपीआर ‘कार्डियोपल्मनरी रिसस्सिटेसन’दिनुपर्छ ।

बिरामीको छातीमा थिचेर मुखले सास दिनुलाई सीपीआर भनिन्छ । यसले शरीर र मस्तिष्कलाई अक्सिजन प्रदान गर्न सहायता गर्छ । यस्तो स्थितिमा प्रशिक्षण लिए पनि, नलिए पनि छातीमा थिच्दै सीपीआरको प्रक्रिया सुरु गरेर प्राथमिक उपचार गर्न सकिन्छ ।

के गर्नु हुँदैन ?

छातीको दुखाइ वा पेटको माथिल्लो भागको दुखाइमा कतिपयले ग्यास्ट्रिकको औषधि खाएर, पेन किलर खाएर लक्षणलाई हेलचेक्र्याइँ गरेर बस्छन् त्यो एकदमै गलत हो । हृदयघातको लक्षणलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।

हृदयघातको लक्षण देखिए अस्पताल जान ढिलाइ गर्नु हुँदैन, छिटो अस्पताल जानुपर्छ । हृदयघात भएको बिरामी तथा बिरामीको आफन्त आत्तिनु हुँदैन । बिरामी आत्तिए भने मुटुको धड्कन बढेर मुटुमा अक्सिजन झन् बढी चाहिन सक्छ ।

कति अवधिमा अस्पताल पुर्‍याउनुपर्छ ?

कुनै पनि व्यक्तिलाई हृदयघात भए कति अवधिभित्रमा अस्पताल पुर्‍याउनुपर्छ भन्ने प्रश्न धेरैको हुन्छ । तर हृदयघात भएको खण्डमा यति उतिभन्दा पनि जति सक्दो छिटो अस्पताल पुर्‍याउनुपर्छ । छिटोभन्दा छिटो अस्पताल पुर्‍याइयो भने उपचार गर्न सहज हुन्छ ।

हृदयघात भनेको मुटुका नसा धमनीहरु बल्क हुने हो । जसले गर्दा मांसपेशीहरुमा रक्तसञ्चार हुँदैन । त्यसैले अस्पताल पुग्न जति ढिलो भयो मांसपेशीहरु मर्छ । त्यसैले छिटोभन्दा छिटो अस्पताल पुर्‍याउनुपर्छ ।

अस्पताल सबैतिर सहज छैन, त्यस्तो अवस्थामा के गर्ने ?

ग्रामीण क्षेत्रतिर स्वास्थ्यचौकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयघातको लक्षण लिएर आउनु भएको बिरामीहरूलाई ‘अस्पिरिन’ भन्ने चक्की दिन सकिन्छ । बाँकी उपचारका निम्ति ठूला अस्पतालमा रिफर गर्न सकिन्छ । यो औषधिले केही अवधिसम्म रक्तसञ्चालन गराउन मद्दत गर्छ र बिरामी ठूला अस्पताल नपुगुञ्जेलसम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ ।

डा. विनायक गौतम स्वास्थ्य हृदयघात
डा. विनायक गौतम
लेखक
डा. विनायक गौतम
कन्सल्टेन्ट कार्डिेयोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८२५० अध्ययन : एमबीबीएस,  इन्टरनल मेडिसिनमा एमडी, कार्डिेयोलोजीमा डीएम हाल काठमाडौंको वीर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय