+
+

‘स्कुलमा नाटक किन आवश्यक ?’

विकास रोकामगर विकास रोकामगर
२०८० असोज ५ गते १५:५४

५ असोज, पोखरा । ‘स्कुल तहबाटै नाट्य विधालाई समावेश गरेर प्रत्यक्ष सामेल गराउँदा विद्यार्थीमा कस्तो फरक पर्ला ?’ लेखक दीपक पराजुली प्रश्न गर्छन् ।

जवाफमा शिक्षक रितमान गुरुङ आफ्नो अनुभव सुनाउँछन्, ‘कला तथा साहित्यको विधा मध्ये नाटक एउटा अंश हो । बच्चाको विकासमा चाहिने धेरै ज्ञान नाटकले दिनसक्छ । पछि गएर कलाकार होला नहोला तर जीवनको कला उसले सिक्छ ।’

विद्यालयमा नाटकलाई सिकाइ माध्यमका रुपमा अगाडि बढाउँदा विद्यार्थीले सहजै बुझ्ने र उनीहरुको स्मरणशक्ति पनि बढेको आफूले अनुभव गरेको शिक्षक गुरुङले सुनाउँछन् ।

‘नाट्यशैलीबाटै विद्यार्थीलाई सिकाउँदा उनीहरुले सम्झने शक्ति बढेको पाइयो,’ उनी भन्छन्, ‘नाटकलाई अतिरिक्त क्रियाकलापमा राख्नुभन्दा सबै कक्षा नै नाट्यशैलीबाट पढाउँदा प्रभावकारी बन्ने देखिन्छ ।’

पोखरा नाटकघरमा जारी पाँचौं पोखरा नाटक महोत्सवका अवसरमा गरिएको ‘नाटकलाई विद्यालयमा कसरी प्रयोग गर्ने ?’ विषयक बहस कार्यक्रममा सहजकर्ता दीपक पराजुली र शिक्षक रितमान गुरुङबीच भएको वार्तालाप हो, यो । बहसमा रितमानसँगै लेखक टंक चौलागाईं पनि सहभागी थिए ।

विद्यार्थीले प्रत्यक्ष सहभागितामा प्रयोगात्मक तरिकाले गर्दै, खेल्दै सिक्दा चाँडै सिक्ने र लामो समयसम्म याद गरिरहने अन्तरक्रियामा सहभागी वक्ताद्वयको मत थियो ।  नाटकले विद्यार्थीलाई विद्यालयतर्फमात्रै नभएर शिक्षण सिकाइमा पनि आकषिर्त गर्ने विश्वास उनीहरुको थियो ।

बच्चाको वृत्तिविकासका लागि गरिने नाटकले बच्चामा आत्मविश्वासमेत बढ्ने दाबी गुरुङको थियो ।

‘नाटकमा प्रत्यक्ष संलग्न हुँदा उनीहरु विभिन्न प्रासेसमा प्रत्यक्ष संलग्न हुन्छन् नै, उनीहरु बोल्न सक्छन्, आत्मविश्वास पनि बढेको पाइयो,’ गुरुङले भने, ‘उनीहरुको चेतनास्तर बढाउन पनि नाटकले सहयोग गर्छ ।’

लामो समयदेखि रंग क्षेत्रमा क्रियाशील टंक चौलागाईंले पछिल्लो समय विद्यालयहरुले नाटकको महत्व बुझेर कक्षा नै सञ्चालन गर्न थालेकोमा खुसी व्यक्त गरे ।

पहिले-पहिले नाटकलाई विशेष दिवस वा वार्षिकोत्सवमा मात्रै देखाइँदै आइएकोमा अहिले रंगकर्मी नै राखेर नाटक सिकाउन सुरु भइसकेको बताए ।

‘विद्यार्थीको सिर्जनात्मक क्षमता बाहिर ल्याउन नाटकले सघाउँछ । त्यसका लागि वास्तविक कलाबारे ज्ञान सिकाउन ‘थिएटर टिचर’ राख्नु नै उपयुक्त हुन्छ,’ चौलागाईंले भने, ‘थिएटर कलाकार टिचरको रुपमा रहँदा अभिनय कला र नाटकको प्रयोगलाई सूक्ष्म तरिकाले बुझेर त्यसलाई प्रस्तुत गर्न विद्यार्थीलाई सहज हुन्छ ।’

चौलागाईंले पछिल्लो समय रंगकर्मसँगै विद्यालय तहबाटै नाट्य संस्कृति विकास हुँदै गएको सुनाए । हाल नेपालमा १ सय ५० भन्दा रंगकर्मीहरु रंग शिक्षककै रुपमा विभिन्न विद्यालयसँग जोडिएर काम गरिरहेको जानकारी दिए ।

‘रंगकर्मीलाई विद्यालयमा राख्दा कला देखिन्छ । सीमित साधन र स्रोतमा पनि काम गर्न सकिन्छ । इच्छा गरेपछि पूरा हुन्छ,’ चौलागाईंले भने, ‘स्कुलले विद्यार्थीको लागि राम्रो प्लेटफर्म सिर्जनासमेत गरिदन्छ ।’

भदौ २७ गतेदेखि सुरु भएको नाटक महोत्सव असोज १२ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर पोखराका १४ र काठमाडौंको एउटा आमन्त्रित नाटक गरी १५ वटा मञ्चन हुने महोत्सवका संयोजक परिवर्तनले जानकारी दिए ।

महोत्सवअवधिमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाँच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुनामदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँजस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान मञ्चन हुनेछन् ।

पोखरा थियटरले २०७६ मा पहिलोपटक पोखरास्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि लगातार ३ संस्कणसम्म गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरी पाँचौं संस्करणमा पुनः पोखरा महानगरस्तरीय नाटक महोत्सव आयोजना गरेको हो ।

थियटरले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव गरिसकेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?