+
+

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्ता

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज ५ गते २०:४२

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सरकारमा भए पनि जनताले कांग्रेस सत्तामा रहेको आभास गर्न नसकेको गुनासो गरेका छन् ।

आम नागरिकका समस्या चुलिएको, अर्थतन्त्र जर्जर रहेको, बैंकको ऋणले व्यवसायी संकटमा पुगेको, यूवाहरु विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे ।

संघमा अर्थमन्त्री कांग्रेसकै भए पनि जनताले राहतको महशुस गर्न नपाएको केन्द्रीय सदस्यहरुले टिप्पणी गरे । केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अर्थतन्त्र सहज अवस्थामा नभएको बताए । उनले चाडवाडको नजिक आर्थिक राहत वितरणको प्याकेज ल्याउनुपर्नेसुझाव सरकारलाई दिए ।

कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री रहेकाले जनताले राहतको अपेक्षा गर्नु स्वभाविक भएको उनले बैठकमा बताए । ‘आँगनमा चाडपर्व आएको छ । हाम्रो अर्थमन्त्री हुनुहुन्छ । सरकारले उतिबेला उचित नीति अबलम्बन गर्नुपर्दछ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘दशैं अगाडि नै आर्थिक प्याकेज कार्यक्रम सरकारले ल्याओस् ।’

अहिलेको आर्थिक संकटमा गभर्नर महाप्रसाद अधिकारी असहयोग गरेको उनको आरोप थियो । पूर्व सरकारलाई असहयोग गरेका गभर्नरले अहिले पनि सहयोग नगरेको उनले बताए ।

केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले वर्तमान अर्थतन्त्रलाई ‘बिरामी आन्तरिक अर्थतन्त्र’ को संज्ञा दिए । रेमिट्यान्सले अर्थतन्त्रको बाह्य पक्ष राम्रो भएपनि आन्तरिक रुपमा आर्थिक गतिविधि निराशाजनक रहेको उनले बताए ।

‘बैंकमा ५ खर्ब थन्किएको छ । सरकार र राष्ट्र बैकले नीतिगत बिकल्प दिएको छैन,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले भने, ‘ठूला ऋणीको लागि मात्र छलफल हुने तल्लो गरिखाने वर्गको मुद्दामा आवश्यक बहस र पहल भएन ।’
६०–७० प्रतिशत रोजगारी प्रदान गर्ने साना तथा मझौला उद्योग व्यवसाय संकटग्रस्त रहेको उनले सुनाए ।

जनताले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरिरहेको केन्द्रीय सदस्य डिला संग्रौला बताउँछिन् । कोभिड १९ पछि थिलथिलो भएको अर्थतन्त्र माथि उठ्न नसकेको संग्रौलाको निचोड छ । ‘हाम्रै पार्टीका अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले अझ बढी संकटलाई पार लगाउने दायित्व कांग्रेसको छ,’ संग्रौलाले बैठकमा भनिन्, ‘त्यसका लागि पार्टीले सरकारले गर्नुपर्छ, मन्त्रीहरुले के काम गर्नुपर्छ त्यसको प्रष्ट खाका बनाउन जरुरी भइसकेको छ ।’

अर्का केन्द्रीय सदस्य गुरु बरालले बैंकको ऋणले नागरिकलाई दूरावस्थामा पुर्‍याएको बताए । व्यवसायबाट पलायन हुने तथा आत्महत्याको बाटो रोजिएको भन्दै अर्थतन्त्र उकास्नलाई ठोस पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।

बरालले तत्काल राहत प्याकेज ल्याएर निराशा रहेको वर्गलाई आशा सञ्चार गराउन आग्रह गरे ।

संस्थाहरुप्रति नागरिकको आस्था खस्किँदै गएकोप्रति सिन केन्द्रीय समिति बैठक चिन्ता व्यक्त भएको छ । हरेक नागरिकले स्वदेश प्रति विश्वास नभएर छोरा छोरीलाई १२ कक्षा सकिएपछि विदेश पठाउने सपना देखेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी बताउँछन् । ‘नेपाल आज शवले छोराछोरी कुर्ने देशमा रुपान्तरित हुँदै गरेको छ,’ सभापतिलाई प्रश्न गर्दै उनले भने, ‘पछिल्लो ३० वर्ष पटकपटक अवसर पाएका नेतृत्व तहका अग्रजहरुलाई देश त हामीले बनाएको रहेछौं नि भन्ने लाग्दैन ?’

देउवाको प्रशंसा

बैठकमा सभापतिको प्रशंसा गरेका केन्द्रीय सदस्य रणबहादुर रावलले देउवा टावरिङ पर्सानालिटी भएको बताए । ‘टावरिङ पर्सनालिटी’ देउवाले वर्तमान आर्थिक संकटलाई सुधार्नुपर्ने आशा उनले राखे । ‘टावरिङ पर्सानालिटी हाम्रो सभापति हुँदाहुँदै पनि यो अवस्थामा छौं,’ नागरिकप्रतिको वितृष्णा सुनाउँदै उनले भने ।

केन्द्रीय सदस्य जीपजिरिङ लामाको बुझाइमा वर्तमान आर्थिक संकट निर्माण व्यवसायीले भुक्तान नपाएको कारण हो ।

निर्माण व्यवसायीले भुक्तानी नपाउँदा व्यवसाय चौपट रहेको उनले सुनाए । निर्माण व्यवसायीसमेत रहेका लामाले कांग्रेस बैठकमा भने, ‘अर्बौ खर्बौ रुपैयाँ निर्माण व्यवसायीले पाएका छैनन् ।’

निर्माण व्यवसायी ७५ प्रतिशत कांग्रेस नजिकका भएकाले पार्टी हितका लागि पनि ध्यान दिन नेतृत्वसँग आग्रह गरे ।

युवा विदेशिने क्रम बढ्नु र गएकाहरु कतिपय फर्कने अपेक्षा समेत राख्न नसकिने परिस्थिति बनेकोे नेताहरुको चिन्ता छ । केन्द्रीय सदस्य नानु बाँस्तोलाले पार्टीका कार्यक्रममा युवाहरु भेट्नै नसकिने अवस्था रहेको सुुनाइन् ।

‘व्यवसायी घरबार विहीन हुने अवस्था आएको छ । युवाहरु पलायन भएको मात्रै भन्छौं । पार्टीले गरेका कार्यक्रम युवा भेटिँदैनन्,’ बाँस्तोलाले भनिन् ।

विदेश गएका भनेर रोइकराई गरेर मात्रै नहुने तर उनीहरुलाई देशसँग जोड्ने कार्य कांग्रेसले गर्नुपर्ने मत केन्द्रीय सदस्य मानबहादुर नेपाली राख्छन् ।

चाडपर्वको समयमा कालाबजारी बढ्ने चिन्ता नेताहरुको थियो । कालाबजारी रोक्न सरकारको सक्रियता बढ्नुपर्ने मत उनीहरुले राखे ।

‘चाडपर्वहरु नजिक आइरहेको छ । महँगी र कालोबजारीबाट सर्वसाधारणलाई जागाउन आवश्यक कदम सरकारले चालोस्,’ केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘अहिलेको अवस्था जर्जर अवस्था छ । सरकार निरिह छ । जनतालाई सरकार भएको प्रत्याभूति दिनुपर्‍यो ।’

केन्द्रीय सदस्य गोपाल दहितको बुझाइमा अहिलेको आर्थिक अवस्था कमजोर हुनुमा लघु सहकारी संस्था लगायतका वित्तीय क्षेत्रमा आएको संकट कारक हो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?