+
+

पर्यटन दिवसमा अतिथिलाई बिरुवा उपहार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १८:४०

१० असोज, पोखरा  । ४४औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले हिमालय फोटो प्रदर्शनी, वृक्षरोपण लगायत कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल सहित अतिथि सहभागी थिए ।

कार्यक्रम पश्चात अतिथिलाई बिदाइ गर्न संग्रहालयले उपहारमा गमलासहित बिरुवा सुम्पियो । भित्री कोठामा पनि सजाउन मिल्ने ‘क्लस ड्रेसिना’ नामक बिरुवा उपहार पाउँदा अतिथि मख्ख देखिन्थे ।

‘यो त गजबै हो नि अब यसलाई रुममा लगेर कस्तो राम्रो देखिन्छ होला है ?’ सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक धनबहादुर बानियाँ बिरुवा उपहार पाएपछि खुसी हुँदै भने, ‘यो उपाय मलाई गजब लाग्यो ।’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्यावरण संरक्षण सचतेनाका लागि विरुवा उपहार दिइएको बताइन् । ‘हेर्दा एउटा बिरुवा त हो भन्ने लाग्न सक्छ । तर, यसको सन्देश ठूलो हुन्छ भन्ने लाग्यो’ उनले भनिन्, ‘हरियाली हराउँदै जाँदा पर्यटनमा पनि असर पुग्दै गएको छ । त्यसकै सचेतनाका लागि विरुवा बाँडेका हौं ।’

४४औं विश्व पर्यटन दिवसको मुख्य नारा नै ‘हरियो पर्यटन’सँग सम्बन्धित भएकाले आफूहरुले पाहुनाहरुलाई विरुवा नै उपहार दिएको बताइन् ।

‘प्लास्टिकजन्य चिज उपभोग कम गर्ने भन्छौं । तर, हरेक ठाउँमा त्यसलाई नै प्रयोग गरिरहेका हुन्छौं,’ उनले भनिन्, ‘कसरी रचनात्मक तरिकाले कम गर्न सक्छौं भन्ने पनि बुझ्नुपर्‍यो नि !’

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् ।

‘संसारका अन्य देशले पनि म्युजियम बनाएका छन् । तर, कुनै एउटा स्पेसिफिक चिजमात्रै देखाउन राखेका छन्,’ उनले भने, ‘हाम्रो जस्तो सबैथोक एकै ठाउँमा हेर्न पाइँदैन रहेछ ।’

शेर्पाले नेपालको पर्वतीय संग्रहालय पर्वतारोहणसम्बन्धी बनाइएको संग्रहालयमध्ये एक नम्बरमै आउने भए पनि अब नमुनाकै रुपमा अगाडि लैजान आफूहरु लागिपरेको बताए । ‘एक नम्बर त हामी थियौं नै, अब नमुनाकै रुपमा यो संग्रहालयलाई अगाडि बढाउने हाम्रो योजना छ,’ उनले भने ।

संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको जानकारी दिइन् । दैनिक सरदर साढे ३ सयदेखि ३ हजार जनासम्मले संग्रहालय अवलोकन गर्न आउने संग्रहालय प्रमुख निर्मला न्यौपानेका अनुसार संग्रहालयमा आउने अधिकांश विद्यार्थी हुन्छन् । ‘त्यसमा पनि मध्यपहाडी र तराई भेगमा बढी विद्यार्थी हिमाल चिन्ने उद्देश्यले आउँछन्,’ उनले भनिन् ।

 हिमाली जनजीवन चिनाउने फोटो प्रदर्शनी

सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । उनी जहाँजहाँ पुगिन्, त्यहींका दृश्य आफ्नो क्यामेरामा कैद गर्थिन् ।

डा इरिकाले खिचेका फोटो म्यनिक, बर्लिन, मिलानो, न्युयोर्कलगायत देशमा प्रदर्शन भइसकेको छ । सन् २०१० मा उनको निधन भयो । तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए ।

विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाए । बोली, भाषा र लवज फरक थियो तर, रहनसहन र जीवनशैली उस्तैउस्तै पाए ।

लामो समय लगाएर आमा छोरीले फरकफरक हिमाली क्षेत्रका जनजीवन एकआपसमा तुलना गरेर कैद गरेका तस्वीर मंगलबारदेखि अन्तर्राष्ट्रिय पवतीय संग्रहालयमा हेर्न पाइने भएको छ ।

पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो ।

‘यहाँ राखिएका तस्वीर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्वीर पनि हेर्न पाउनेछन् ।’

साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्वीरसमेत सुरुआत गरिएको छ । उक्त तस्वीरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?